साढे १० केजी गाँजासहित सिराहाबाट तीनजना पक्राउ

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

सिराहाको मिर्चैयाबाट प्रहरीले साढे १० किलोग्राम लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आइतबार साँझ मिर्चैया नगरपालिका– ६ कटारीचोकमा गाँजा बिक्री वितरणको लागि लैजाँदै गरेको गोप्य सूचनाको आधारमा दुईवटा मोटरसाइकल चढेका शंकास्पद तीन युवकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा सो परिमाणमा गाँजा बरामद भएको हो।

पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका– ६ का ४६ वर्षीय कुशेश्वर यादव, धनगढीमाई नगरपालिका– १४ का ३६ वर्षीय गौरव शाही र २४ वर्षीय काले भन्ने भुपेन्द्रबहादुर ठकुरी रहेका सिराहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। प्रहरीले पक्राउ परेकाहरू चढेको अनटेस्ट पल्सर र बागमती प्रदेश ०२–०२६ प ०१९७ नम्बरको गरी दुई थान मोटरसाइकलसमेत बरामद गरेको छ।

पक्राउ परेका तीनजनाविरुद्ध लागुऔषध मुद्दामा सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद लिई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रनाउ पाण्डेले बताए।

सुझावित समाचार