जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्ष ०७८/७९ को पुस महिनासम्ममा १२ लाख ९४ हजार चार सय ५९ वटा वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गरेका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा आठ लाख ५० हजार ६ सय ९० वटा मात्रै पोलिसी जारी भएका थिए ।
चालू आवको दोस्रो त्रैमास अवधिसम्ममा वैदेशिक रोजगारी बिमामार्फत कम्पनीहरूले एक अर्ब ७१ करोड १९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरे । पुस महिनामा मात्रै कम्पनीले ६१ हजार ६ सय ५२ पोलिसी जारी गरेका छन् । जसबापत कम्पनीहरूले २७ करोड २४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरे । यस्तै, १३ वटा जीवन बिमा कम्पनीले मात्रै वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गर्छन् ।
समीक्षा अवधिसम्ममा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा यस्तो खालको सक्रिय बिमा पोलिसीको संख्या एक लाख ५५ हजार पाँच सय २५ छ । नेपाल लाइफ इन्स्योरेन्स ४७ हजार ६ सय २८ वटा सक्रिय पोलिसी छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसनमा एक लाख ८७ हजार पाँच सय ५० पोलिसी सक्रिय छन् । तर, कम्पनीले अहिले भने यस्तो पोलिसी जारी गर्न बन्द गरेको छ ।
त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्समा सातवटा, आइएमई लाइफ इन्स्योरेन्समा २१ हजार एक सय तीन, ज्योति लाइफमा ६८ हजार तीन सय ५६, सन नेपाल लाइफ इन्स्योरेन्समा तीन हजार तीन सय ३९, रिलायन्स लाइफ इन्स्योरेनसमा १४ हजार २६, रिलायबल लाइफ इन्स्योरेन्समा चार हजार आठ सय ९५, सिटिजन्स लाइफ इन्स्योरेन्समा ३२ हजार नौ सय ९०, सानिमा लाइफमा ६ लाख ८१ हजार सात सय ८३, प्रभु लाइफमा ७४ हजार दुई सय ७६ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा दुई हजार नौ सय ८१ वटा पोलिसी सक्रिय छन् ।
स्रोतः नेपाल बिमा प्राधिकरण