प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकाे तेस्रो दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुने गरी ऐनहरु तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको बताए ।
‘वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिम ऐनहरु तर्जुमा गरी स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकहरुको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिवद्ध छ । त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य र पहलकदमी भईरहेको विषय म यहाँहरु सबैलाई अवगत गराउन चाहन्छु,’ उनले भने ।
प्रधानमन्त्रीले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीहरुको दूरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीहरुलाई सचेत गराए । उनले जनगुनासो नआउने गरी सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउन पनि सरकारी अस्पतालहरुले जोड दिनुपर्ने स्पष्ट पारे ।