औषधि ओभरडोजको असर कम गर्न ‘नार्कन’ प्रयोगलाई सहज बनाइँदै

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

विनाप्रेस्क्रिप्सन बजारमा खुला बिक्री गर्न दिन औषधिविज्ञहरूको सिफारिस

औषधिको ओभरडोजबाट हुने असर कम गर्न एन्टी–ओपियोइड औषधि सहजै खरिद गर्न सकिने व्यवस्था लागू गराउन प्रयास सुरु भएको छ । औषधिविज्ञहरूको संयुक्त संघीय प्यानलले बुधबार युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनलाई नालोक्सोन (औषधिको ओभरडोजबाट हुने असर कम गर्ने औषधि) बजारमा खुला रूपमा बेच्न सुरक्षित रहेको सिफारिस गरेको छ । 

नालोक्सोन (नार्कन) औषधि प्रेस्क्रिप्सनविना उपलब्ध गराउने विषयमा गरिएको एकदिने विस्तृत छलफलपछि बजारमा खुला रूपमा बेच्न सिफारिस गरिएको हो । अहिलेसम्म विनाप्रेस्क्रिप्सन एन्टी–ओपियोइड औषधि बजारमा किन्न नपाउने मापदण्ड छ । अब त्यसलाई परिवर्तन गर्न लागिएको हो । पछिल्लो समय औषधिको अत्यधिक प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक बन्दै गएकाले नार्कनलाई बजारमा खुला उपलब्ध गराउन सिफारिस गरिएको विज्ञहरूले बताइएका छन् ।

ओपिओइड ओभरडोज एन्टिडोट अर्थात् अत्यधिक औषधिले शरीरमा पार्ने असर कम गर्न नार्कन प्रयोगमा ल्याइने गरिन्छ । बुधबार मेडिसिन विज्ञहरूसँगको छलफलपश्चात् एफडिएले नार्कनलाई बजारमा सहज उपलब्ध गराउन र औषधिमा सबैले बुझ्ने गरी सरल निर्देशन राख्न सुझाव दिएको छ । नन–पे्रस्क्रिप्सन औषधि सल्लाहकार समिति, एनेस्थेटिक र एनाल्जेसिक औषधि उत्पादन सल्लाहकार समितिले निर्देशनहरूलाई सबैलाई बुझ्न सजिलो हुने गरी औषधिमा निर्देशक दिन सुझाव दिइएको हो । 

नार्कनलाई विनाप्रेस्क्रिप्सन बजारमा उपलब्ध गराउन चिकित्सक र सम्बन्धित विज्ञहरूको मागपछि एफडिएले अर्को केही सातामा अन्तिम निर्णय गर्ने जनाएको छ । चिकित्सकको प्रेस्क्रिप्सन लिएर फार्मेसी अथवा मेडिकलबाट नार्कन प्रयोगमा ल्याउन मिल्ने भए पनि खुला उपलब्ध भएमा धेरैलाई मृत्युको जोखिमबाट बचाउन सकिने विज्ञहरूले बताएका छन् । ओभरडोज–रिभर्सल इन्जेक्सनका रूपमा स्वीकृत गरिएका नार्कनलाई शिशुहरूका लागि पनि सुरक्षित र प्रभावकारी मानिएको छ । 

यसरी प्रयोग गर्न सकिन्छ
नार्कन दुईवटा प्याकेटमा चार मिलिग्राम डोजको हुन्छ, यदि ओभरडोज गर्ने व्यक्तिमा पहिलो प्याकेट प्रयोग गरिसकेपछि पनि कुनै असर नदेखिएमा अर्को प्याकेट प्रयोगमा ल्याउनुपर्ने हुन्छ । आपत्कालीन अवस्थामा ओपिओइड ओभरडोजका लागि नार्कनको दुईटै डोज जुनसुकै उमेर समूहमा प्रयोगमा ल्याउन मिल्ने बताइएको छ । 

विज्ञहरूका अनुसार यो औषधिले औषधिको ओभर डोजबाट मस्तिष्क परेको ओपिएट्सको प्रभावलाई रोक्न र सास फेर्न सहज बनाउँछ । यसको प्रयोगबाट लगभग ९० मिनेटको अन्तरालमा व्यक्ति सामान्य अवस्थामा फर्किन सक्छ, तर ओपिओइडहरू लामो समयसम्म प्रणालीमा रहन सक्ने बताइन्छ । यो औषधि प्रयोग गरिएको झन्डै दुई घन्टासम्म अन्य व्यक्तिको निगरानीमा रहनुपर्नेसमेत चिकित्सकले बताएका छन् । 

एफडिए कमिटीका डा. स्कट ह्याडल्यान्डले भनका छन्, ‘यो औषधि सुरक्षाका लागि घरमा राखिएको कुनै सामानजस्तै हो, जसलाई सकेसम्म प्रयोगमा ल्याउनु नपरे हुन्थ्यो भनेर आशा गरिन्छ । तर, अधिकांशले घरमा अनिवार्य राख्ने गर्छन् । अर्थात् आपत्कालमा प्रयोगमा ल्याउनका लागि नार्कनको सहज पहुँच हुनु जरुरी देखिएको छ ।

See More On

सुझावित समाचार