अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण

नेकपा एमालेनिकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवेशनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन्। 

सात वर्षपछि महाधिवेशन हुन लागेको हो। यसअघि ०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा माओवादी केन्द्रसँग पार्टी एकता भएपछि हुन सकेको थिएन। 

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुन महाधिवेशन हुँदै छ। 

नेकपा एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गर्ने अनेरास्ववियुकी अध्यक्ष बरालले जानकारी दिइन्। आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन्। 

महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुँदै छन् । नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव समिक बडाल छन्।   

महाधिवेशनमा नयाँ पुस्तामा देखिरहेको बहुदलीय राजनीतिप्रतिको अस्वाभाविक धारणा र विद्यार्थी आन्दोलनको औचित्यमाथि उठिरहेको प्रश्नमाथि छलफल र समीक्षा गरिने महासचिव समिक बडालकाे भनाइ छ। 

सुझावित समाचार