लुम्बिनी सरकारलाई पूर्णता : राजीनामा दिएकी केसीलाई कानुन मन्त्रालय

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण
लुम्बिनी सरकारलाई पूर्णता : राजीनामा दिएकी केसीलाई कानुन मन्त्रालय

मुख्यमन्त्री लीला गिरी

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीले शनिबार राति मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थप सात मन्त्री थप गरेका हुन् ।

प्रदेशमा रहेका १० वटा मन्त्रालयमध्ये मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमाले, तीन मन्त्रालय माओवादीले र एक–एक मन्त्रालय जनमत र राप्रपाले पाएका छन् । नवनियुक्त मन्त्रीहरूको आइतबार दिउँसो १ बजे शपथग्रहण हुनेछ । गत २७ पुसमा प्रदेश सभाका १० मध्ये सात दलका ५६ र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीले ५ माघमा विश्वासको मत लिएका थिए ।

यसअघि मुख्यमन्त्री गिरीसहित एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्ण केसी मन्त्री थिए । तर, उनीहरूको पनि मन्त्रालय बाँडफाँट भएको थिएन । जिम्मेवारी नपाएको भन्दै मन्त्री केसीले शनिबार मुख्यमन्त्री कार्यालयमा राजीनामासमेत बुझाएकी थिइन् । उनको राजीनामा स्वीकृत भएको छैन । उनलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । आचार्यलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

शनिबार सातजना नयाँ मन्त्री नियुक्त गरिएको हो । माओवादीका संसदीय दलका नेता जोखबहादुर महरालाई आर्थिक मामिला मन्त्रालय र इन्द्रजित चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय दिइएको छ । 

एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालय, दुर्गाप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय तथा तुलसीराम शर्मालाई जिम्मा दिइएको छ । राप्रपाका जानकीप्रसाद यादवलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

सुझावित समाचार