नागरिकता र सरकारी कागजात किर्ते गरी नागरिकता बनाइदिन आमा बनेकी माइजू र भारतीय मूलका उनका भान्जा पुर्पक्षका लागि जेल चलान भएका छन् । सप्तरी जिल्ला अदालतले शुक्रबार डाक्नेश्वरी नगरपालिका– ३ की फुलियादेवी मुखिया र भारत बिहार राज्यको मधुबनी जिल्लास्थित फुलपरासनिवासी धीरज मुखियालाई कारागार चलान गरेको हो ।
केही वर्षदेखि मामाघरमा बस्दै आएका धीरजलाई नागरिकता बनाइदिन गत ८ पुसमा फुलियादेवीले वडा कार्यालयको सिफारिस र सर्जमिनसहित इलाका प्रशासन कार्यालय बोदेबरसाइन पुगेकी थिइन् । नागरिकता प्रक्रियाअघि बढ्नै लाग्दा शंका लागेर सोधपुछ गरेपछि दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
इलाका प्रशासन कार्यालय बोदेबरसाइनका प्रमुख दिनेशकुमार राउतले सिफारिस बोकेर नागरिकता लिन आएका उनीहरूलाई सोधपुछ गर्दा शंकास्पद पाएपछि नियन्त्रणमा लिइएको बताए । ‘शंका लागेर सोधपुछ गरिरहेका थियौँ, सोही क्रममा उनीहरू नक्कली आमा–छोरा भएको हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट पनि टेलिफोन आयो । शंकास्पद नै देखिएपछि प्रहरी बोलाएर उहाँहरूलाई पठायौँ,’ उनले भने ।
वडा कार्यालयको तथ्यांकअनुसार व्यक्तिगत घटना दर्ता सम्बन्धित वडामा टोली आएका वेला २१ भदौ ०५९ जन्ममिति राखेर १३ चैत ०७७ मा भारतीय मूलका धीरजलाई जन्मदर्ता दिइएको छ, तर यसअघिका वडाध्यक्षले नागरिकता सिफारिस गर्न नमान्दा उनको नागरिकता बन्न नसकेको स्थानीयले बताए ।
गत ८ पुसमा पक्राउ परेका माइजू–भान्जालाई अदालतमा उपस्थित गराएपछि नागरिकतासम्बन्धी कसुर र सरकारी किर्तेको मुद्दामा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।अनुसन्धानकै क्रममा पक्राउ परेका दुवै शुक्रबार पुर्पक्षका लागि कारागार पठाइएको छ भने वडाध्यक्षसहितलाई पक्राउ गर्न आदेश जारी भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।