निष्पक्ष र तटस्थ भूमिका खेल्छु : सभामुख घिमिरे

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण

नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठीक ढंगबाट गर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

सभामुख घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भूमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताए। उनले विगतबाट शिक्षा लिँदै संसद्लाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए। 

उनले भने, ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु। प्रतिनिधिसभाको प्रतिनिधित्व ठीक ढंगले गर्नेछु । विगतका सभामुखहरूको कामबाट शिक्षा लिँदै संसद्लाई चुस्त बनाउन लाग्नेछु।’

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारूढ दलका साझा उम्मेदवार घिमिरे एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्। यस्तै, कांग्रेसका तर्फबाट उम्मेदवार दिएकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरिन्। 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका 
 

सुझावित समाचार