समाचार प्रभाव : बिचल्लीमा परेका बादी समुदायलाई सहयोग

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

माघको जाडोमा कर्णाली नदी किनारमा झुपडी बनाएर कष्टकर रात काट्न बाध्य १७ घर बादी समुदायलाई भिजी फाउन्डेसनले सहयोग गरेको छ।

गत पुस ४ गते नयाँ पत्रिका दैनिकमा बादी समुदायको बिचल्लीसम्बन्धी समाचार प्रकाशन भएपश्चात् काठमाडौंको थापाथलीमा रहेको भिजी फाउन्डेसनले बादी समुदायलाई सहयोग गरेको हो। फाउन्डेसनका राहुल श्रेष्ठले पीडित परिवारसँग सम्पर्क जोडिदिन नयाँ पत्रिकाकर्मी विष्णु शर्मासँग फोन संवाद गरेका थिए।

शर्माले बस्तीका अगुवा धीरेन बादीसँग समन्वय गराएपश्चात् फाउन्डेसनले बादी समुदायलाई चिसोबाट जोगिन विभिन्न सामग्रीहरू सहयोग गरेको हो। काठमाडौं पुगेका धीरेन बादीलाई बस्तीका समुदायका लागि फाउन्डेसनले २५ थान कम्बल, २५ थान खास्टो, ५० थान ज्याकेट, १५० किलो चामल, ५० किलो दाल तथा ५० थान गिलास र प्लेट हस्तान्तरण गरेको छ।

दैलेखको आठबिस नगरपालिका– १ को कर्णाली राजमार्गमा पर्ने रामघाट बजारनजिक १७ घर बादी समुदाय चिसोमा कष्टकर रूपमा बसिरहेका छन्। नगरपालिकाले गत वर्ष जनता आवासअन्तर्गत बादी समुदायका लागि घर निर्माण गरिदिए पनि गत असोजमा अविरल वर्षाका कारण बस्तीमा पहिरो खसेपछि उनीहरू विस्थापित भएका हुन्।

सुझावित समाचार