रुबी खानलगायतलाई भेटे गृहमन्त्रीले

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण
रुबी खानलगायतलाई भेटे गृहमन्त्रीले

निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि माइतीघरमा धर्नारत महिला अधिकारकर्मी । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहेकी महिला अधिकारकर्मी रुबी खानसहितका प्रतिनिधिलाई भेट गरी धर्नालगायत आन्दोलनका कार्यक्रम स्थगित गरी अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । 

भेटका क्रममा गृहमन्त्री लामिछानेले सरकार समक्ष राखेका मागका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेकाले धर्ना अन्त्य गरी छलफलमा आउन आग्रह गरेका थिए । माइतीघरमा पुगेर गरिएको उक्त भेटघाटमा गृहमन्त्री लामिछानेसहित गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । महिलाले नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै दुई साताभन्दा बढी समयदेखि माइतीघरमा धर्ना दिँदै आएका छन् ।

उनीहरूले यसअघि पनि पटकपटक आन्दोलन र धर्ना गरेका थिए । ‘गृहमन्त्रीज्यूबाट चिसोमा नबसिदिनुहोस्, माग सम्बोधन गर्न तयार छौँ, कुनै त्रुटि छ भने भन्नुहोस् शंका लागेको छ भने पनि जानकारी दिनुहोस् हामी फेरि हेर्छौँ, अनुसन्धान गर्छौँ,’ भेटघाटमा सहभागी गृहप्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘कमजोरी भए त्यो पनि भन्नुहोस्, गल्ती गर्नेलाई कारबाही गर्न तयार छौँ भन्ने कुराहरू भयो ।’

उक्त भेटमा आन्दोलनरत रुबी खानलगायत प्रतिनिधिले उक्त घटनाको सन्दर्भमा न्यायिक जाँचबुझ आयोग गठन गरे मात्रै आन्दोलन स्थगित गर्ने बताएका थिए । (रासस)

सुझावित समाचार