शक्ति बाँडफाँटको हिस्सेदार बन्ने प्रयासमा कांग्रेस

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

केन्द्रमा सभामुखमा सहमति जुटाउन अन्य दलसँग संवाद गर्ने निर्णय

प्रमुख प्रतिपक्षी दलको दाबी गरिरहेको कांग्रेसले केन्द्रमा सरकारलाई विश्वासको मत दिएसँगै शक्ति बाँडफाँटको हिस्सेदार बन्ने प्रयास थालेको छ । यसको प्रयासस्वरूप कांगेसले सभामुखमा सहमति जुटाउने निर्णय गरेको छ ।

सरकारलाई समर्थनपछि बदलिएको परिस्थितिमा कांग्र्रेसले सत्तासाझेदार दलबाटै आफ्नो पक्षमा सहमति जुटाउन प्रयास थाल्ने भएको हो । यसको जिम्मा बिहीबार बसेको पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवालाई दिएको छ । देउवानिवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्तासाझेदार दल र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको हो । 

सहमहामन्त्री जीवन परियारले केन्द्रमा सभामुख र उपसभामुखका लागि संसद्मा रहेका दलहरूसँग छलफल गरेर सहमतिका लागि अधिकतम प्रयास गर्ने, नभएको अवस्थामा के गर्ने भन्ने टुंगो लगाउने निर्णय गरेको जानकारी दिए । प्रदेशमा उम्मेदवारी दिने या सहमति गर्ने भन्ने विषयमा भने प्रदेश तहबाटै छलफलबाट टुंगो लगाइने उनको भनाइ छ ।

‘पदाधिकारी बैठकले यसको जिम्मा सभापतिज्यूलाई दिने निर्णय लिएको छ । तत्कालै दलहरूसँग छलफल हुन्छ र सहमतिको अधिकतम प्रयास हुन्छ । सैद्धान्तिक रूपमा के गर्ने भन्ने टुंगो लगाएपछि एउटा निर्णयमा पुग्छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘प्रदेशमा छलफल भइरहेका छन् । केन्द्रबाटै हस्तक्षेप गर्ने भन्ने छैन ।’

तर, प्रदेश १ मा कांग्रेसले उम्मेदवारी नदिएपछि बिहीबार माओवादी केन्द्रका सांसद बाबुराम गौतम सभामुखमा निर्विरोध भएका छन् । कांग्रेसकै कारण गौतम दोस्रो कार्यकालका लागि सभामुखमा निर्विरोध चयन हुने अवस्था बनेको हो । 

प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपाबीच सहकार्य छ । कांग्रेसबाट उम्मेदवारी परेन । प्रदेशमा उपसभामुखको निर्वाचन हुन बाँकी छ । कांग्रेसले नयाँ सत्तासमीकरण तयार हुँदा एमालेले सभामुख लिने सहमति भएको चर्चा चले पनि सरकारलाई समर्थन गरेको पछिल्लो परिस्थितिमा कांगेसले सभामुख पाउने सम्भावना देखेको छ ।

कांग्रेसका अर्का सहमहामन्त्री महेन्द्र यादव ठूलो पार्टी भएकाले पनि आफ्नो पार्टीले सभामुखमा सहमतिका लागि दलहरूसँग छलफल गर्ने बताउँछन् । सहमति भएको अवस्थामा उपसभामुख लिन तयार हुन सक्ने कांग्रेसको संकेत छ । ‘संसद्को ठूलो दल र प्रमुख प्रतिपक्षका रूपमा रहेको कांग्रेसको दाबी सभामुखमा स्वाभाविक रूपमा रहन्छ । हामी सहमतिका लागि प्रयास गर्नेछौँ । ओली र प्रचण्डजीले पनि मिलेर जाने नै भन्नुभएको छ । दुईमध्ये एकमा सहमति बनेको अवस्थामा मेरो गोरुको बाह्रै टक्का भन्ने पनि त हुँदैन,’ उनले भने । 

आगामी ५ माघमा सभामुखको निर्वाचन हुँदै छ । सहमति नबनेको अवस्थामा भने दुवै पदमा उम्मेदवार बनाउने कांग्रेसको तयारी छ । कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ प्रधानमन्त्रीलाई विश्वासको मत दिएको अवस्थामा प्रधानमन्त्री प्रचण्डबाट यसमा पहल हुने अपेक्षा रहेको बताउँछन् । ‘कांग्रेसको नाममा सहमति पनि हुन सक्छ । यसमा प्रचण्डले सहमति पनि गराउन सक्नुहुन्छ । सहमति नबनेको अवस्थामा कांग्रेसले नोमिनेसन गर्छ । सरकारबाहिर रहेका जनमोर्चा र नेमकिपासँग पनि छलफल हुन्छ । कांग्रेसले सभामुख पाउने अवस्थामा एकसेएक साथीहरू हुनुहुन्छ । पूर्वसभामुख भएका मित्र पनि हुनुहुन्छ । नयाँ फिगर पनि जान सक्छ,’ उनले भने ।

हिस्सेदारी खोजेका छैनौँ : प्रवक्ता महत
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने आफ्नो पार्टीले कतै पनि हिस्सेदारी नखोजेको दाबी गरे । सबै दलहरूसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ । प्रदेशको विषयमा प्रदेश तहबाटै आवश्यकताका आधारमा के गर्ने टुंगो लाग्ने महतले बताए । ‘केही पनि हिस्सेदारीको कुरा छैन । संसद् सत्ता र प्रतिपक्षको साझा थलो हो । सभामुख एकै दलको हुनुहुँदैन भन्ने पनि छ । सत्तापक्ष र प्रतिपक्षमा रहेका सबैसँग अन्तरक्रिया गर्छौँ र सबैको सोच बुझेर अगाडि बढ्छौँ । कांग्रेसको नाममा समर्थन नभएको अवस्थामा के हुन्छ, त्यसै वेला टुंगो लगाउँछौँ । प्रदेशमा त्यहीँबाट साथीहरूले सरसल्लाह गरेर निर्णय लिनुहुनेछ । प्रदेश १ मा के आधारमा साथीहरूले निर्विरोध हुन दिनुभयो, जानकारी भएन,’ उनले भने ।

राजनीतिक विश्लेषक भास्कर गौतम कांग्रेसले सरकारलाई समर्थन गरेर भागबन्डाको राजनीतिबाट बाहिर हुन नखोजेको बताउँछन् । सभामुखका लागि कांग्रेसले सत्तासाझेदार दलसँग राखेको अपेक्षा र सहकार्यका लागि गर्न लागेको छलफललाई शक्ति बाँडफाँटको हिस्सेदारी बन्ने प्रयासका रूपमा देखिने उनको भनाइ छ । 

‘सत्तापक्ष वा प्रतिपक्ष भने पनि भागबन्डाको राजनीतिबाट बाहिर नभएको देखिन्छ । संविधान निर्माणसँगै सहमतिका नाममा सुरु भएको लोकतान्त्रिक अभ्यास पछिल्लो समय सत्ता भागबन्डाका लागि राजनीतिका रूपमा देखिएको छ । हिजो केपी ओली नेतृत्वको सरकार रहँदा पनि कांग्रेसले भागबन्डा लिएर समर्थन नै गरेको थियो । अहिले पनि त्यही तरिकाले अगाडि बढेको छ । यो त देउवा नेतृत्वको कांग्रेसको आधारभूत चरित्र नै देखियो,’ उनले भने । 

बिहीबारै कांग्रेको संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका थिए । विराटनगरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले व्यक्त गरेको अभिव्यक्तिले पनि कांग्रेस आगामी दिनमा शक्ति बाँडफाँटको हिस्सेदार बन्ने प्रयासमा रहेको देखिन्छ । 
 

सुझावित समाचार