डा. राजु अधिकारीद्वारा लिखित पुस्तक ‘बनाैँ संस्कारी’को विमोचन गरिएको छ। नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेले शनिबार चैतन्य संस्कार शिक्षालय, मध्यबानेश्वरको प्रकाशन तथा आयोजनामा पुस्तक विमोचन गरेका हुन् ।
विद्यालयका संस्थापक निर्देशक शेषराज दाहालको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव रेश्मीराज पाण्डे, योगमाया आयुर्वेदिक विश्वविद्यालयका संस्थापक अभियन्ता भविन्द्र अधिकारी, प्याब्सन जिल्ला कार्यसमितिका कोषाध्यक्ष आर.बी. अधिकारीलगायतको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो।
विद्यालयका संस्थापक डा. भागवत आचार्यले सञ्चालन गरेकाे कार्यक्रममा पुस्तकको समालोचना गर्दै भविन्द्र अधिकारीले संस्कार प्रत्येक व्यक्ति, समाज र राष्ट्रको आवश्यकता रहेको उल्लेख गर्दै विमोचित पुस्तकले त्यसलाई सम्बोधन गरेको धारणा राखे।
लेखक डा. अधिकारीले लेखकीय मन्तव्य राख्दै आफ्नो पुस्तक भोलिका कर्णधार बालबालिका र उनीहरूको अभिभावकका लागि उपहार रहेको बताए।