सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबेदारले दौडधुप तीव्र पारेका छन्। प्रदेश प्रमुखले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेसँगै माओवादी केन्द्र र एमालेबाट मुख्यमन्त्रीका दाबेदारले आ–आफ्नो पार्टीमा लबिङ बढाएका हुन्।
माओवादीबाट मुख्यमन्त्रीका दाबेदार स्थायी समिति सदस्य खगराज भट्ट र एमालेबाट पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल मुख्यमन्त्रीको लबिङका लागि काठमाडौं पुगेका छन्। दुवैजनाले आ–आफ्नो पार्टी नेतृत्वलाई भेटेर गठबन्धनमा भागबन्डा हुँदा सुदूरपश्चिममा नेतृत्व नछाड्न आग्रह गरेका बताइएको छ।
माओवादी प्रदेश इन्चार्ज एवं संसदीय दलका नेतासमेत रहेका भट्ट, प्रदेश अध्यक्ष हरि चौधरीसहितको टोलीले बिहीबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ। अध्यक्षलाई भेटेर गठबन्धनमा भागबन्डाका क्रममा सुदूरपश्चिम प्रदेशको नेतृत्व नछाड्न आग्रह गरिएको टोलीमा सहभागी एक नेताले बताए। भट्टलाई चुनावअघिदेखि नै मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिँदै आएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादीले पाउने गरी गठबन्धनमा सहमति गर्न अध्यक्षलाई आग्रह गरिएको प्रदेश अध्यक्ष चौधरीले बताए। ‘हामीले अध्यक्षलाई भेटेर सुदूरपश्चिममा हाम्रो पार्टीको नेतृत्वको सरकार हुनुपर्याे भनेर आग्रह गर्याैँ,’ चौधरीले भने, ‘अध्यक्षले गठबन्धनमा छलफलको क्रममै छ, सहमति भइसकेको छैन भन्नुभएको छ।’ गठबन्धनमा प्रदेशको सबैभन्दा ठूलो दल भएकाले मुख्यमन्त्रीको दाबी स्वाभाविक भएको माओवादीको तर्क छ।
मुख्यमन्त्रीका आकांक्षी एमाले संसदीय दलका नेता रावलले पनि आफ्नो पार्टीको शीर्ष तहमा लविबिपी शर्मा ओलीसमक्ष सुदूरपश्चिमको नेतृत्व नछाड्न आग्रह गरेको बताइएको छ। सुदूरपश्चिममा माओवादीले पाँच वर्ष सरकार चलाइसकेकाले अब एमालेले पाउनुपर्ने रावलको तर्क छ।
केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेश सरकारको नेतृत्वमा दाबी गरिरहेको छ। मुख्यमन्त्रीका लागि जोडबल गर्न उक्त पार्टीको संसदीय दलका नेता रामेश्वर चौधरी पनि काठमाडौं पुगेका छन्। प्रदेश प्रमुख देवराज जोशीले गत बुधबार सूचना जारी गर्दै यही २७ पुस बेलुकी ५ बजेभित्र बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि मुख्यमन्त्रीका दाबेदारले दौडधुप तीव्र पारेका हुन् । प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।
माओवादी, एमालेसँगै नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि सरकार गठनका लागि यहाँ सत्ता पक्षभित्रै रस्साकस्सी छ। ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ जनाको समर्थन आवश्यक पर्छ। एमाले र माओवादी तथा केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक र राप्रपासहित गठबन्धनको २९ मत छ।
१९ सिटसहित सबैभन्दा ठूलो दल कांग्रेस अप्रत्याशित घटनाक्रमबाहेक प्रतिपक्षमा बस्नेमा ढुक्क देखिन्छ। यद्यपि, कांग्रेस नेताहरूले नागरिक उन्मुक्ति र एकीकृत समाजवादीसँग मिलेर सरकार गठन गर्ने कसरत गरिरहेका छन्। उन्मुक्ति, कांग्रेस र समाजवादी वा स्वतन्त्र सांसद मिल्दा पनि बहुमत पुग्छ। प्रदेश सभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार र राप्रपाका एक सदस्य छन्। समाजवादीका एक नेताले स्वतन्त्र हैसियतमा चुनाव जितेका छन्।