बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुली गरेको भन्दै उद्योगी, व्यवसायी आन्दोलित भएका छन् । बुधबार लालबन्दी नगरपालिकाका स्थानीय उद्योगी व्यापारीहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
उद्योग वाणिज्य संघ लालबन्दीको अगुवाइमा व्यापारीहरूले ‘कारोबारका आधारमा कर्जा दिने प्रावधान संशोधन गर, चालू रहेको ओभरड्राफ्ट लोन यथावत् राख, जिन्सी निर्यात बढाऊ, नगद निर्यात बन्द गर, बैंक ब्याज सिंगल डिजिट कायम गर, एलसीको शतप्रतिशत मार्जिन खारेज गर’लगायतको नारा लेखिएको प्लेकार्डका साथ र्याली निकालेका थिए । मुख्य बजार क्षेत्रबाट निस्किएको ¥याली जनवादी चोक, डुमडुमे पुल हुँदै ट्राफिक बिटअघि पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र बलम्पाकी, होटेल व्यवसायी संघका अध्यक्ष हिराकाजी योन्जन, उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याणकुमार जोशीलगायतले सम्बोधन गरेका थिए । उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बलम्पाकीले अहिलेको अवस्थामा चुप लागेर बसे रोडमा पुग्ने अवस्था आउने बताए ।
व्यापारीका पिरमर्का नबुझी बैंकहरूले १० प्रतिशतमा आफूले लिएको ऋण १८ प्रतिशतसम्म ब्याज लिएर ६० प्रतिशतसम्म नाफा आर्जन गर्दै कालोबजारी गरेको उनको आरोप थियो । कतिपय ऋण लिएका व्यवसायी बैंकले दिएको तनावका कारण हतोत्साहित भएका र कतिपयले आत्महत्यासमेत गरेको उनको दाबी थियो ।
मूल्यवृद्धिका कारण व्यवसाय चल्न नसकेको अवस्थामा बैंकले ब्याजदर बढाउनु दुःखको कुरो भएको उनीहरूको तर्क छ ।
ऋण लिँदा भएको सम्झौताविपरीत ब्याजदर बढाउँदै लैजाने बैंक तथा वित्तीय संस्थाहरूको जालझेलले व्यापारी भाग्ने, पलायन हुने र डिप्रेसनमा जाने सम्भावना बढेको व्यवसायीको गुनासो थियो । बैंकहरूले ऋणीलाई ब्याज निर्धारण गर्दा तोकेको प्रिमियम दरमा परिवर्तन गर्न नपाउने नीति भए पनि बैंकले मनपरी गर्दै आएको व्यवसायीको आरोप छ ।