आज पनि हाम्रो समाजमा महिनावारीप्रतिको दृष्टिकोण फेरिन सकेको छैन । एउटा पुस्ता महिनावारी पापै हो भनेर ठोकुवा गरिरहेको छ भने अर्काे पुस्ता विरोधाभासमा अल्झिरहेको छ ।
हामीले महिनावारी पाप होइन, हरेक बालिका/किशोरीमा हुने नियमित प्रक्रिया हो भनेर समाजका अघिल्लो पुस्तालाई बुझाउन सकेनौँ वा उनीहरूले हाम्रो कुरालाई बुझ्न चाहेनन् ? यसको विषयमा गहन खोजीकार्यको आवश्यकता छ ।
महिनावारी नियमित प्रक्रिया हो भनेर सभा–सम्मेलन र गोष्ठीहरूमा चर्काे भाषण दिने अपवादबाहेकका महिला हरेक वर्षको ऋषिपञ्चमीमा दतिवन टोकेर पाप पखालिरहेका हुन्छन् । बाहिर केही होइन भन्ने अनि भित्र ऋषिपञ्चमीमा नुहाउने प्रवृत्तिका कारण उनीहरू विरोधाभासमै अल्झिरहेकै छन् भन्ने बुझिन्छ ।
हामीले बोलेका कुरालाई व्यवहारमा उतार्न सकेनौँ भने बोल्नुको कुनै अर्थ हुँदैन । बोलीभन्दा व्यवहार सिकाइको उत्कृष्ट नमुना हो । दूरदराजमा नगई काठमाडौंमै हेर्ने हो भने छोरी पहिलोपटक महिनावारी हुँदा कोठाभित्र लुकाउने प्रचलन छ । घरमा छोरामान्छे मुख्यतः बा, हजुरबा, काका, ठूलाबा, दाइभाइलाई छुन त परको कुरा हेर्नसमेत हुँदैन भनेर महिनावारी भएकी किशोरीलाई थुनेर राख्ने प्रचलन छ । तर, त्यसको विरोधस्वरूप शनिबार एउटा बेग्लै दृश्य देखियो । पत्रकारद्वय प्रकाश सिलवाल र यशोदा अधिकारीले छोरी प्रयत्ना सिलवालको पहिलो महिनावारी उत्सवको रूपमा मनाए ।
महिनावारी हुँदा अरूको घर, गोठ र एकान्तभन्दा मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी भनेर सन्देश दिनको लागि प्रकाश र यशोदाले छोरीको महिनावारीलाई केक काटेर, टीका र माला लगाइदिए । त्यसमा अभियन्ता तथा लेखिका राधा पौडेल, अभियन्ता लक्ष्मी न्यौपाने, लक्ष्मी बस्नेत, सामना पहाड, नेपालका प्याड म्यान ज्ञान महर्जनलगायतले साथ दिए ।
नेपालमा केही समयदेखि यस्ताखाले उत्सव देखा पर्दै गहिरहेका छन् । यसलाई निरन्तरता दिन अबको पुस्ताले मनैदेखि लाग्नु जरुरी छ । लाज र संकोचलाई फ्याँकेर परिपक्वतालाई अँगाल्न सक्नु नै महिला स्वास्थ्यलाई बलियो र मजबुत बनाउनु हो ।