राप्रपालाई सरकारमा जान हतारो छैन : राजेन्द्र लिङ्देन

सोमबार, ४ पुष, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारमा जान हतारो नभएको बताएका छन्। सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन्।

आफूहरूले सरकारमा नजाने कसम पनि नखाएको भन्दै लिङ्देनले आगामी दिनमा आफ्ना मान्यताहरू स्थापित हुने गरी निर्णय लिने बताए। मन्त्री खानकै लागि आफूहरू कसैको घर नधाउने स्पष्ट पार्दै उनले सरकारमा जानुपरे वा समर्थन गर्नुपरे कारणसहित गर्ने उल्लेख गरे।

‘हामी सोची, विचारी निर्णय गर्छौँ। अहिले न हामीलाई सरकारमा जान हतारो छ, न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौँ। के गर्दा हाम्रा मान्यताहरू स्थापित हुन सक्छन्, के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ, त्यो सोचेर, विचार गरेर हामी निर्णय गर्छौँ,’ उनले भने।

अध्यक्ष लिङ्देनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त मत परिणामबाट आफू सन्तुष्ट नभएको बताए। जनताले राप्रपा सुध्रिएको हो कि होइन भन्ने परीक्षण गर्न यसपटक यति मत दिएका उनको भनाइ छ।

सुझावित समाचार