सरकारले प्रहरीको भावनामाथि घृणित चलखेल गर्‍यो : पूर्वएआइजी भण्डारी

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

सातजना प्रहरीको निर्मम हत्या भएको टीकापुर हत्याघटनामा अदालतबाट दोषी ठहर भएकालाई आममाफी दिने प्रक्रिया सुरु गरेपछि बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारीले आपत्ति जनाएका छन् । सरकारले प्रहरीको भावनामाथि घृणित खेल खेलेको उनीहरूको टिप्पणी छ ।

पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी प्रहरीको संवेदनासँग जोडिएको यो विषयमा सरकारले एकदमै गलत निर्णय गरेको बताउँछन् । सत्ता प्राप्तिका लागि प्रहरीको भावना र संवेदनामाथि सरकारबाट घृणित चलखेल भएको उनको भनाइ छ । ‘यो प्रहरी संगठनको संवदेना र भावनासँग जोडिएको विषय हो । टीकापुरमा प्रहरी कर्मचारीलाई अत्यन्तै क्रूर तरिकाले हत्या भएको थियो । भाला रोपेर हत्या भएको छ,’ उनी भन्छन्, ‘सत्ता स्वार्थका लागि सरकारको अंगमा रहेका प्रहरी कर्मचारीकै न्यायिक संरक्षण सरकारले गर्दैन भने त्यो सरकारले जनतालाई कसरी न्याय देला ? यो विषयमा प्रहरी संगठनबाट आपत्ति जनाउनुपर्छ, मौन स्वीकृत दिनुहुँदैन ।’ अध्यादेश कार्यान्वयन भए प्रहरीको मनोबल खस्कने उनी बताउँछन् ।

न्यायिक र राजनीतिक दृष्टिकोणले पनि अध्यादेश गलत भएको उनको टिप्पणी छ । भण्डारी भन्छन्, ‘अदालतको न्यायिक पुनरावलोनमा गएको मुद्दा अध्यादेश ल्याएर त के कानुन नै बनाएर पनि फिर्ता गर्न मिल्दैन । यो विषयमा अदालतले यसअघि नै बोलिसकेको छ ।’ यसअघिका सरकारले यसैगरी  मुद्दा फिर्ता गर्न खोज्दा अदालतले रोकेको थियो ।

टीकापुर नरसंहारको मुद्दामा अदालतले मौकाको कागज  र तथ्य प्रमाणले पुष्टि हुन आएकाले रेशम चौधरी नै योजनाकार भएको भनेर किटान गरेकाले यो राजनीतिक प्रकृतिको मुद्दा नभएको  उनको भनाइ छ । अर्कोतर्फ कामचलाउ सरकारले अध्यादेशमार्फत राज्य चलाउन खोज्नु प्राकृतिक न्यायको सिद्धान्त र संवैधानिक मर्म र भावनाविपरीत भएकाे भण्डारी बताउँछन् । बहालवाला प्रहरी अधिकारीले पनि प्रहरीको निर्मत हत्याको घटनामा आममाफी दिन नहुने भन्दै प्रहरी नेतृत्वलाई यस विषयमा आपत्ति जनाउन आग्रह गरेका छन् ।

 

सुझावित समाचार