फिल्मी शैलीमा शुक्रबार गोंगबु क्षेत्रका व्यापारी लुटिन पुगे । उनीहरूले यसको भेउ दुई दिनपछि मात्रै पाए । रातारात धनी बन्ने महत्वाकांक्षाले ग्रस्त थिए, कञ्चनपुर बेतकोट नपा–१० का २५ वर्षीय डेबिड धामी । ‘अडिटर’समेत रहेका उनी राजस्व छल गर्ने तौरतरिकाबारे राम्रो जानकारसमेत थियो ।
सिनेमाका सौखिन उनले पटक–पटक अक्षयकुमार अभिनीत ‘स्पेसल २६’ हेरेका थिए । यही क्रममा उनलाई आन्तरिक राजस्व कार्यालयको अनुसन्धान अधिकृत बनेर व्यापारी लुट्ने योजना फुर्यो । यसका लागि उनलाई टिमको आवश्यकता थियो । जसका लागि उनले सातजनाको टिम बनाए ।
अधिकृतजस्तै देखिन सबैलाई तालिम दिए । ‘अडिट’ सम्बन्धित ‘आइडिया’ सिकाए । सबैका निम्ति सरकारी पोसाक सिलाए । दुरुस्तै देखिने परिचयपत्रसमेत छापे । आन्तरिक राजस्व कार्यालय लेखिएको ‘फिता’मा परिचयपत्र झुन्ड्याए । टिमका सबैलाई छातीमा भिर्न लगाए । ‘लेटर हेड’ र ‘स्ट्याम्प’ लिएर छापा हान्न भन्दै शुक्रबार साँझ चार बजे गोंगबुस्थित होटेल, रेस्टुरेन्ट, गेस्टहाउस र पसल–पसल पुगे ।
हेर्दा ठ्याक्कै सरकारी कर्मचारीकै ठाँट र शैली देखेपछि गोंगबुका व्यापारी डराए । उनीहरूले भनेबमोजिम भए–नभएका सबै बिल तथा हिसाब खाता बुझाए । उनीहरूले होसियारीपूर्वक हिसाब–किताब अध्ययन गरे । र, सबैमा केही न केही खोट औँल्याउँदै रकम असुल्न थाले । कानुनी झन्झटबाट उम्किन व्यापारीले पनि भनेबमोजिम रकम दिन थाले ।
गतिविधिमा शंका लागेपछि गोगंबुकै एक व्यापारीले अन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरे । तर, कार्यालयबाट कोही नखटिएको सूचनापछि उनी झस्किए । उनले त्यसपछि प्रहरीलाई खबर गरे । प्रहरी तुरुन्तै घटनास्थल पुग्यो । प्रहरीले सबैलाई भटाभट पक्राउ गर्यो । अनुसन्धानपछि पो खुल्यो, उनीहरू सबै ठग रहेछन् । प्रहरीले घटनामा संलग्न धामीसहित बिनबहादुर बिक, सिर्जना भट्टराई, सागरजंग लुहार, प्रमिशा तामाङ, दुधकला बिक, अञ्जना तामाङ र राजीव विष्टलाई पक्राउ गरेको छ ।
पाँच लाख आठ हजार बरामद
उनीहरूबाट प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको स्ट्याम्प, अनुगमन अधिकृत लेखिएको स्ट्याम्प, हस्ताक्षर भएको स्ट्याम्प, आन्तरिक राजस्व कार्यालयको लेटरप्याड तथा ठेली, आन्तिक राजस्व कार्यालयको परिचयपत्रलगायतका कागजात बरामद गरेका छ । उनीहरूले यसक्रममा पाँच लाख आठ हजार ६ सय ४० रुपैयाँ संकलन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । उनले भने, ‘फिल्मी शैलीमा व्यापारी लुटिएको जस्तो देखिन्छ । यसको ‘मास्टरमाइन्ड’ डेबिड धामी हो । धामीले नै टिम जम्मा गरेको जस्तो देखिन्छ । उनीहरूले आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको नक्कली अफिसर बनेर व्यापारीसँग रकम असुलेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । थप तथ्य खुल्दै जाला ।’