पर्वहरूले राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्छन् : प्रदेश प्रमुख शर्मा

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उँधौली पर्व पनि हाम्रा पर्वहरूमध्ये एउटा महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै हाम्रा विविध पर्वहरूले नै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गरेका बताएका छन् । बिहीबार किराँत समुदायको प्रमुख पर्व उँधौलीको अवसरमा शुभकामना सन्देश दिँदै प्रमुख शर्माले यस्तो बताएका हुन् । 

प्रमुख शर्माले आफ्नो सन्देशमा नेपालीहरूको परम्परा, वेशभूषा, चालचलन एवं चाडपर्व र संस्कृतिमा विविधता रहेको उल्लेख गर्दै यही विविधताभित्रको दरिलो एकता र सामाजिक सहिष्णुताले विश्वसामु नेपालीको पहिचान बनेको बताएका छन् । उनले यस्ता चाडपर्वप्रति गर्वबोध गर्न सक्नुपर्ने उल्लेख गर्दै सबै देशभित्रका सम्पूर्ण समुदाय र सम्प्रदायका मानिसहरू समष्टिमा बन्धु–बान्धव नै भएको उल्लेख गरेका छन् ।

प्रमुख शर्माको शुभकामना सन्देशमा ‘हाम्रा सबै भाषा तथा चाडपर्वहरू राष्ट्रिय हुन् । यस सन्दर्भमा हाम्रो देशका किराँत समुदायहरूले मनाउने उँधौली पर्व पनि हाम्रा पर्वहरूमध्येको एउटा महान् चाड हो’ भनिएकाे छ । प्रमुख शर्माले यस पर्वले नेपालीबीच आपसी मेलमिलाप, सदभाव र सहिष्णुता अभिवृद्धि  गर्दै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
 

सुझावित समाचार