मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २२ बिहीबार
  • Thursday, 08 December, 2022
साउदीमा मारिएका छोरा विवेक दाहालको फोटो देखाउँदै आमा गंगादेवी।
२०७९ कार्तिक २८ सोमबार १८:३४:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

‘ब्लडमनी’ तिर्दा पनि छोराको मुख हेर्न पाइनँ, केका लागि भोट दिने?

Read Time : > 2 मिनेट
२०७९ कार्तिक २८ सोमबार १८:३४:००

यतिवेला देशमा चुनावी महासंग्राम छ। गाउँ सहरभरि नेताहरू मत मागिरहेका छन्। जनता नेताका एजेन्डा हेरिहेका छन्। चुनावले कात्तिकको चिसोलाई गर्मागर्मी बनाइदिएको छ। तर, त्यही चुनावी सरगर्मीले ७३ वर्षीया गंगादेवी दाहाललाई छोएको छैन।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहा कालीखोलाकी ७३ वर्षीया दाहाल भन्छिन्, ‘जुन नेतालाई भोट दिए पनि के पाइँदाे रहेछ र ? आपतविपतमा साथ नपाइँदो रहेछ।’

दाहालले आक्रोश पोख्दै भनिन्, ‘हत्या अभियोगमा विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेको ४० वर्षको (विवेक दाहाल) छोरा बचाउन सकिनँ। राष्ट्रपति, परराष्ट्रमन्त्रीसम्मलाई छोरो बचाइदिन अनुरोध गर्दा पनि कसैले सुनेनन्। के को भोट दिनु?’

हत्या अभियोगमा उनका छोरालाई साउदी अरबस्थित जुबेल जेलमा गएको कात्तिक ६ गते मृत्युदण्ड दिएको थियो। छोरालाई मृत्युदण्ड दिएपछि आमालाई पनि चुनावमा नेताको मुख नै हेर्न मन छैन। आँखाभरि आँसु बनाउँदै भनिन्, ‘नेतालाई चुनावको वेला भोट चाहिने तर जनतालाई विपत् आइलाग्दा कसैको साथ नपाइने। किन, केका लागि भोट दिनु?’

उनका चार छोरा छन्। मृत्युदण्ड पाउने विवेक कान्छा छोरा हुन्। छोराको फोटो देखाउँदै आमाले भनिन्, ‘मेरो श्रीमान् (विवेका बुवा) को पनि छोरो भेट्ने आशामै तीन वर्षअघि मृत्यु भयो। कान्छो छोरो थियो। घर फर्काउन सकेनौँ। कोही नेताहरूले सहयोग गरेनन्।’

दाहालको घर भएको क्षेत्र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको निर्वाचन क्षेत्र पर्दछ। उनले भनिन्, ‘परराष्ट्र मन्त्रालयले नै आममाफीको लागि ब्लडमनी तिर्न भन्यो। हामीले तिर्याैँ। तर, मन्त्री खड्काले भेट दिएर अलि पहल गरिदिएको भए छोरो बाँच्ने थियो। उहाँले गरिदिनुभएन।’ 

उनका बाँकी रहेका तीन छोरा पनि छुट्टिएर अलग्गै बसिसकेका छन्। कान्छो छोरो आउने आशामा बसेकी दाहाल भन्छिन्, ‘ब्लडमनी तिर्दा पनि छोरोको मृत्युको प्रमाणपत्र पाइएकाे छैन। मृत्युदण्ड दिएको खबर मात्र आएको छ। शव पाउने त कुरै छाडौँ।’ 

मृतक दाहालका जेठा दाजु टेकबहादुर दाहालले बुवा पनि भाइसँग भेट्ने आशामै स्वर्गवास भएको बताए। उनले भने, ‘हामीले भाइलाई जीवितै नेपाल ल्याउने ठूलो कोसिस गर्‍याैँ। १० लाखभन्दा बढी ब्लडमनी बुझायौँ । तर, पनि ल्याउन सकेनौँ।’

उनका अनुसार मृतक विवेक जीवितै नेपाल ल्याउन झन्डै १५ लाख बढी परिवारले खर्च गरेको थियो। उनले भने, ‘परराष्ट्रमन्त्री हाम्रै जिल्ला- क्षेत्रको भए पनि विवेकलाई जीवितै ल्याउन सकेनौँ। खबरको भरमा काजकिरिया गर्नुपर्‍यो। मृत्युको प्रमाणपत्र कसरी पाउनु?’

दाहाललाई मृत्युदण्ड दिनुअघि परिवारलाई साउदीबाट जानकारी आएको उनले बताए। उनले भने, ‘शव भने नेपाल नपठाएर उतै गाडेको भन्ने खबर छ।’ 

विवेक वैदेशिक रोजगारीको सिलसिलामा सन् २००६ मा साउदी अरब पुगेका थिए। मृतक विवेकलाई सन् २००७ मा आफ्नै साथी राजेन्द्र विष्टको हत्या र सुडानी नागरिकमाथि हत्या प्रयासको आरोप लागेको थियो।

अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। तल्लो अदालतको आदेशलाई क्रिमिनल कोर्ट हुँदै सर्वोच्च अदालतबाट पनि सदर भएको थियो। दाजु टेकबहादुरले भने, ‘जेलमा हुँदा भाइसँगको टेलिफोन कुराकानीमा भाइले हत्या नगरेको बताएका थिए।

पानी बोक्ने ट्यांकरचालक मृतक विवेक दाहाल जुबेलस्थित भेडाचरण गोठको लागि पानी लिएर जाँदै गर्दा केही व्यक्ति र साथी विष्टबीच झगडा भइरहेको थियो रे’ दाजु दाहालले भने, ‘त्यो देखेपछि छुट्याउन गएको थियो भाइ। झगडा छुट्याउँदै गर्दा अरू भागेपछि विवेकमाथि उल्टै कुटपिटको आरोप लाग्यो।’ 

उक्त घटनामा विष्टको मृत्यु भएपछि हत्या आरोपमा फसाएको दाजु टेकबहादुरको भनाइ छ। विवेक निर्दोष रहेको परिवारको भनाइ छ। झगडामा सामेल अरू सबै भागेपछि दोष विवेकमाथि थोपरिएको र मालिकले समेत सहयोग नगरेपछि हत्याको आरोप लागेको परिवारले बतायो।  

मृतक परिवारलाई दाहाल परिवारले ब्लडमनीबापत झन्डै १० लाख रुपैयाँ दिएको थियो। सन् २०११ मा नेपाली दूतावासले जुबेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो।

तर, सुडानी नागरिक उपचारपछि घर फर्किएकाले सम्पर्कविहीन भएपछि विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट माफी नभएकाले मृत्युदण्ड दिएको दाहाल परिवारको भनाइ छ।