१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
तानिया भट्टाचार्य
२o८१ जेठ १४ सोमबार o९:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण

अस्तित्वको संकटमा बलिउड 

Read Time : > 2 मिनेट
तानिया भट्टाचार्य
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o९:१४:oo

देश/विदेश

दर्शकलाई हलमा आकर्षित गर्न र लगानी जोगाउनैका लागि बलिउड सिनेमाका निर्माता र हलमालिकले टिकट मूल्यमा भारी कटौती गर्नुपरेको छ

बलिउडले केही दशकयताको सबैभन्दा चुनौतीपूर्ण वर्ष पार गरेको छ । कमजोर एवं अवास्तविक कथानक र सिनेमा स्टारले कुनै गल्ती गर्न सक्दैनन् भन्ने विचारका कारण पुरुष–नेतृत्वमा पुरानै सूत्रको प्रयोग गर्दा हिन्दी सिनेमा उद्योग अस्तित्वको संकटनजिक पुगेको छ ।

अक्षय कुमार, आमिर खान, रणवीर कपुरजस्ता चल्तीका केही ‘मेगा स्टार’ अभिनीत अधिकांश ठूला बजेटका सिनेमाले हावा खाएका छन् । चर्को प्रचार–प्रसार र विज्ञापनका बाबजुद पनि खानको ‘लालसिंह चढ्ढा’ (हलिउड सिनेमा ‘फरेस्ट गम्प’को रिमेक), कपुरको ‘शमशेरा’ र कुमारको ‘बच्चन पाण्डे’ असफल भएका छन् । 
रणवीर कपुरको अर्को सिनेमा ‘ब्रह्मास्त्र’ चर्चित हलिउड सिनेमा ‘द दा भिन्ची कोड’ र ‘मार्भल युनिभर्स’ जस्तै चर्चित हुनेछ भनेर प्रचार गरिएको थियो । यसले सप्ताहान्तमा विध्वंसकारी घाटा व्यहोर्‍यो, जसले भारतका इनोक्स र पिभिआरजस्ता शीर्ष सिनेमा हलको बजार मूल्यमै गिरावट ल्याइदियो । दर्शकलाई हलमा आकर्षित गर्न र लगानी जोगाउनैका लागि निर्माता र हल मालिकले टिकट मूल्यमा भारी कटौती गर्नुपरेको छ । त्यसो भए हिन्दी सिनेमाको व्यापार कता गइरहेको छ ?

महामारीपछि पनि सिनेमाको व्यापार घटेको छैन । यो वर्ष दक्षिण भारतीय सिनेमा उद्योगको अविश्वसनीय प्रदर्शनले व्यापार घटेको छैन भन्ने देखाउँछ । २०२२ मा भारतमा उत्कृष्ट प्रदर्शन गर्ने सिनेमामा बहुचर्चित तेलगु सिनेमा ‘आरआरआर’ र एक्सन ड्रामा ‘पुष्पाः द राइज’ हुन् । विश्वव्यापी रुपमा १६ करोड डलरभन्दा बढी कमाइ गरेको आरआरआर भारतीय सिने इतिहासकै तेस्रो–सर्वाधिक कमाइ गर्ने सिनेमा बन्न सफल भएको छ । त्यसैगरी कन्नड ब्लकबस्टर केजिएफ–२ पनि भारतमा सर्वाधिक कमाइ गर्ने सिनेमामध्ये एक हो । 

हालैका दिनमा प्रतिभाशाली निर्देशक मणिरत्नमले निर्देशन गरेको प्रसिद्ध तमिल लोककथामा आधारित सिनेमा ‘पोन्नियन सेल्भन : आई’ सबैभन्दा धेरै कमाउने तमिल सिनेमा बनेको छ । यो सिनेमा सबैभन्दा धेरै कमाउने भारतीय सिनेमामा १६औँ स्थानमा छ । एक्सन थ्रिलर ‘कन्तारा’ कन्नड सिनेमा उद्योगको तेस्रो सबैभन्दा धेरै कमाउने सिनेमा बनेको छ ।  

के भारतीय सिनेमाबाट विशेषतः प्रधानमन्त्री नरेन्द्र मोदीको दक्षिणपन्थी सरकारका समर्थक वा सिनेमामा सरकारको आलोचना गरेका कारण दर्शक टाढिँदै हुन् ? होइन, किनभने सरकारले खुलेरै समर्थन गरेका र कुनै बहिष्कार अभियान नव्यहोरेका अक्षय कुमारका सिनेमा पनि असफल भएका छन् । बलिउडको विद्यमान समस्याको कारण निकै सरल छ, अर्थात् सिनेमामा कथानक छ वा छैन भन्ने प्रश्नमै उत्तर भेटिन्छ । भारत एक सिनेमाप्रेमी राष्ट्र हो । विशेषतः बलिउडले भारतको लोकप्रिय संस्कृतिलाई धेरै प्रभाव पार्छ । चाहे प्रतिबन्धको माग होस् वा सार्वजनिक स्वास्थ्यको चासो, सिनेमाले कथानक बोकेको छ भने दर्शकलाई हल प्रवेश गर्न कसैले रोक्न सक्दैन । इन्टरनेट प्लेटफर्ममै सिनेमा प्रदर्शन हुने प्रविधि ओटिटी आउनुअघि बलिउडका अधिकांश सिनेमा फर्मुला कथानक र कथित स्टार अभिनेतामा निर्भर थियो । र, हरेक सिनेमा हलमै हेरिन्थ्यो । 

भारतीय टेलिभिजन सिरियलले पश्चिमा सिरियलले झैँ दर्शकलाई कहिल्यै आकर्षित गर्न सकेनन् । अहिले भारतीय दर्शक एचबिओजस्ता विदेशी च्यानलले बनाएका ‘हाउस अफ ड्र्यागन’जस्ता सिरियल हेर्न लालायित छन् । यस्तो अवस्थामा अवास्तविक र शून्य महŒव भएको सिनेमा हेर्न दर्शक किन हलसम्म गइरहोस् । वास्तवमा मूलधारका बलिउड सिनेमालाई ओटिटीले राम्रै सबक सिकाएको छ ।   

सिनेमा निर्माताले ओटिटी सेवाका कारण प्रतिभाशाली तर कम चिनिएका कलाकार छनोट गर्ने विकल्प पाएका छन् । सिनेमा उद्योगको लोकतान्त्रिकीकरणले खराब कथानकलाई धक्का पुर्‍याएको छ । दर्शक भारतीय मात्र नभई अन्तर्राष्ट्रिय भएकाले प्रतिस्पर्धा बढेको र सिनेमाको गुणस्तरमा निकै वृद्धि भएको अवस्थामा बलिउडका फर्मुला सिनेमा किनारा लागिरहेका छन् । 

युवा लेखक, निर्देशक, सिनेमाटोग्राफर, निर्माता र अभिनेता जहाँ महिला र न्यून प्रतिनिधित्व भएका समुदायका सदस्य छन्, तिनले आफ्नो प्रतिभा प्रदर्शन गर्न पहिलेको नियमन हुने बलिउडमा झैँ संघर्ष गर्नुपर्दैन । उदाहरण, बलिउड उद्योगमा आफ्नो मान्छे नहुँदा पनि मैले चर्चित बलिउड कलाकारसँग भेट्ने, कुराकानी गर्ने र काम गर्ने अवसर पाएकी छु, पाँच वर्षअगाडि यो सोच्न पनि सकिन्नथ्यो । अन्य धेरै लेखक, सिनेमाटोग्राफर, निर्देशक र निर्माताले पनि ओटिटी सेवा नहुँदो हो त काम पाउन गाह्रो हुन्थ्यो भन्ने अनुभव गरेका छन् । 

मुख्य चाहिने कुरो निपुणतासाथ आममानिसलाई छुने कथा हो । दक्षिण भारतका लेखक र निर्देशकले यो बुझेका छन्, अर्थात् तिनले आममानिसका समस्यालाई सम्बोधन गर्दै मानिससँग जोडिने क्षमताको विकास गरेका छन् । आरआरआर र पोन्नियन सेल्भनजस्ता ठूला सिनेमा वास्तविक ऐतिहासिक घटनामा आधारित छन्, जसलाई बलिउड सिनेमाले सामान्यतया बेवास्ता गर्दै आएको छ । त्यसैगरी कन्ताराले अधिकांश भारतीयले थाहा नपाएको कर्णाटकका केही तटीय समुदायमा रहेको प्राकृतिक धार्मिक अभ्यासलाई प्रदर्शन गरेको छ । दक्षिण भारतीय सिनेमा बलिउडलाई आत्मनिरीक्षण गर्ने बिन्दु बन्न सक्छन् । श्रीमान्को भन्दा श्रीमतीको सफलताले निम्त्याउने घरेलु कलह भएको कथा प्रस्तुत गर्ने जुगजुग जियो, हास्य सिनेमा भुलभुलैया–२, माफिया महिलाको वास्तविक जीवन बोक्ने गंगुबाई कठियावाडीलगायत केही सिनेमा आत्मनिरीक्षण गर्दै नयाँ प्रयोगसाथ सफल पनि भएका छन् । थाइल्यान्डमा त गंगुबाईले अप्रत्याशित सफलता हासिल गर्‍यो । बलिउडले दर्शकका कुरा सुन्नुपर्छ र अस्तित्व जोगाउन साविकको तौरतरिकामा परिवर्तन ल्याउनैपर्छ । यसका लागि विविधतायुक्त भारतका विविधतायुक्त कथा खोज्न सक्नुपर्छ । 

(भट्टाचार्य पत्रकार, पटकथा लेखक र सिनेमाका विषयवस्तु परामर्शदाता हुन्)  अल जजिराबाट

ad
ad