मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २७ आइतबार
  • Wednesday, 18 December, 2024
मुना कुँवर काठमाडाैं
२o७९ कार्तिक २७ आइतबार o८:४१:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एकल भुक्तानी र मनी ब्याक पोलिसीबाट पछि हट्दै बिमा कम्पनी 

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २७ आइतबार o८:४१:oo

एकल बिमाशुल्क भुक्तानी र मनी ब्याक बिमा पोलिसी बिक्री योजनाबाट जीवन बिमा कम्पनीहरू ब्याक भएका छन् । यी पोलिसीको व्यापारले कम्पनीहरूको क्यास फ्लोमा नकारात्मक प्रभाव पारेको भन्दै कम्पनीहरू पछि हटेका हुन् । 

एकल बिमाशुल्क भुक्तानी र मनी ब्याक बिमा पोलिसी खरिद गर्दा बिमितले तत्काल बिमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । फलस्वरूप कम्पनीको कारोबार परिमाण ठूलो देखिन्छ । तर, पोलिसीअनुसार कम्पनीले बिमितलाई  छिटो रकम भुक्तानी गर्नुपर्ने, बिमितले पोलिसी कर्जा लिने र एजेन्टलाई कमिसन दिनुपर्नेलगायतका कारणले कम्पनीसँग थोरै मात्रै रकम रहन्छ । सो रकम लगानी गरेर कम्पनीले बिमा अवधिमा दायित्वबराबरको प्रतिफल प्राप्त गर्न नसकेको बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बताए । ‘कम्पनीहरू व्यवसाय गर्न बसेका हुन् । बिमितलाई बिमाबापत सुरक्षा र प्रतिफल दिनुका साथै कम्पनी आफैँले पनि नाफा आम्दानी गर्नुपर्ने हुन्छ,’ उनले भने ।  

एकल बिमाशुल्क भुक्तानी र मनी ब्याक पोलिसीमा कम्पनीहरू ब्याक भएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पनि स्वीकार गरे । बिमा समितिले निरन्तर निगरानी राख्न थाले पनि कम्पनीहरू यस्ता पोलिसी बिक्री–वितरणमा ब्याक भएको उनले बताए ।

एकल बिमाशुल्क भुक्तानी र मनी ब्याक बिमा पोलिसीमा आक्रामक रूपमा लागेका बिमा कम्पनी आन्तरिक रूपमा धराशायी भएको बिमा समितिले जनाएको छ । समितिका अनुसार केही समयअघि प्राइम लाइफ इन्स्योरेन्सले एकल बिमाशुल्क र मनी ब्याक बिमा पोलिसीमा आक्रामक भएको थियो । तर, यही पोलिसीकै कारण कम्पनी आर्थिक संकटबाट गुज्रनुपर्‍यो ।

त्यस्तै, एक अवधिमा एसियन लाइफ इन्स्योरेन्सले पनि यी पोलिसी निकै बिक्री गर्‍यो । तर, पछि सो कम्पनीमा पनि आर्थिक संकट पर्‍यो । पछिल्लोपटक नयाँ कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आक्रामक रूपमा एकल बिमाशुल्क भुक्तानी पोलिसी बिक्री गर्‍यो । फलस्वरूप कम्पनी आन्तरिक रूपमा संकटमा पर्‍यो । नेपालमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल कम्पनीले एकल बिमाशुल्क भुक्तानी र मनी ब्याक जीवन बिमा पोलिसी बिक्री गरेको थियो । तर, यो कम्पनीले निश्चित पोर्टफोलियोमा मात्रै पोलिसी बिक्री गरेको थियो । 

अहिले तुलनात्मक रूपमा कम्पनीहरू संयमित भएको समितिका निर्देशक सुवेदीले बताए । ‘बिमा समितिले यी पोलिसीको पोर्टफोलियो तोक्ने योजना पनि बनाएको थियो । तर, अहिले कम्पनीहरू आफैँ संयमित भएका छन्,’ उनले भने ।  

प्रतिस्पर्धाकै लागि कम्पनीहरूले बिक्री गरेको एकल बिमाशुल्क भुक्तानी र मनी ब्याक बिमा पोलिसी आफ्नै लागि हानिकारक भएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराई स्विकार्छन् । ‘यसअघि कम्पनीले जसरी बिक्री जारी गरे, त्यो साँच्चै नै हानिकारक थियो,’ उनले भने ।  

यसकारण जोखिम 
एकल भुक्तानी बिमा योजना जारी गर्दा बिमितले एकै पटक बिमांक रकम कम्पनीलाई भुक्तानी गर्छ । जस्तै, एक करोडको १५ वर्षे एकल भुक्तानी बिमा योजना बिक्री गर्दा कम्पनीले साधारणतया विभिन्न छुट तथा कमिसन कटाएर करिब ६५ लाख रुपैयाँ बिमाशुल्क लिन्छ । एकल भुक्तानी पोलिसी लिने अधिकांशले बिमितले पोलिसी कर्जा लिने गरेका छन् । पोलिसी खरिद गरेको ३१ दिनपछाडि कर्जा लिन सकिन्छ । यदि बिमितले कर्जा लिन चाह्यो भने ६५ लाख बिमाशुल्कको ४५ लाख रुपैयाँसम्म कर्जा पाउँछ । कम्पनीले न्यूनतम अभिकर्ता कमिसनबापत कम्तीमा पनि ६ प्रतिशत रकम खर्च गर्छ । यसरी कम्पनीले ५० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरी सक्छ । बाँकी रहेको न्यून रकम लगानी गरेर कम्पनीले बिमितलाई प्रतिफलसमेत दिनुपर्ने दायित्व रहन्छ । 

त्यस्तै, मनी ब्याक जीवन बिमा पोलिसीमा कम्पनीले बिमितलाई बिमा अवधिभित्रमा तीनपटकसम्म रकम भुक्तानी गर्छ । अधिकांश कम्पनीले प्रत्येक चार–चार वर्षमा रकम भुक्तानी गर्छन् । सो अवधिमा कम्पनीले बिमा रकमको निश्चित प्रतिशत रकम भुक्तानी गर्दै जान्छन् । जस्तै, अधिकांश मनी ब्याक बिमा पोलिसी १२ वर्ष अवधिको हुन्छ । यदि कुनै बिमितले एक लाख रुपैयाँको १२ वर्ष अवधिका लागि मनी ब्याक बिमा पोलिसी खरिद गर्छ भने बिमितले पहिलो चार वर्षमा बिमा रकमको ३० प्रतिशत अर्थात् ३० हजार रुपैयाँ फिर्ता गर्छ ।

अर्को चार वर्षमा फेरि अर्को ३० प्रतिशत रकम भुक्तानी गर्छ । अर्थात्, कम्पनीले आठ वर्षमा ६० हजार रुपैयाँ भुक्तानी गरिसकेको हुन्छ । बाँकी रहेको ४० प्रतिशत रकम बिमा अवधि सकिएपछि बोनससहित एकमुष्ट रकम प्रदान गर्छ । पटक–पटक रकम भुक्तानी गर्ने हुँदा बिमितका लागि यो पोलिसी लाभदायी छ । तर, छोटो अवधिमा नै बिमितलाई बिमा भुक्तानी गर्नुपर्ने र एजेन्टलाई पनि कमिसन भुक्तानी गर्नुपर्दा कम्पनीसँग क्यास नै नरहने अवस्था रहन्छ । यसले गर्दा अन्ततः कम्पनीको क्यास फ्लोमा हिट गर्ने समितिको भनाइ छ ।