मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी एडिलेड
२०७९ कार्तिक २५ शुक्रबार ०७:२४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप फाइनलमा पाकिस्तान–इंग्ल्यान्ड आमनेसामने :सेमिफाइनलमा भारत दश विकेटले पराजित

Read Time : > 2 मिनेट
एजेन्सी, एडिलेड
२०७९ कार्तिक २५ शुक्रबार ०७:२४:००

आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारत इंग्ल्यान्डसँग दश विकेटले पराजित भएको छ । इंग्ल्यान्डले अब उपाधिका लागि पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डमाथि सात विकेटको जित निकालेको थियो । इंग्ल्यान्ड र पाकिस्तान आइसिसी टी–२० विश्वकपको पूर्वविजेता हुन् । यी दुई टोलीमध्ये एकले उपाधि चुम्दा वेस्ट इन्डिजको कीर्तिमान बराबरी गर्नेछ । वेस्ट इन्डिजले विश्वकप दुईपटक जितेको छ । इंग्ल्यान्ड र पाकिस्तान समान तीनपटक फाइनलमा पुगेका छन् । सन् २००९ को विजेता पाकिस्तान सन् २००७ को फाइनलमा भारतसँग पाँच रनले पराजित भएको थियो । 

इंग्ल्यान्डको सानदार दश विकेटको जित
पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल खडा गरेको थियो । अन्तिम दुईको स्थान पक्का गर्न इंग्ल्यान्डले १६ ओभरमा विकेट नगुमाएर एक सय ७० रन जोड्यो । इंग्ल्यान्डले लक्ष्य पछ्याउँदा १०.६२ रनरेटमा ब्याटिङ गरेको थियो । इंग्ल्यान्डका दुवै ओपनरले उत्कृष्ट ब्याटिङ गर्दा भारतीय बलर निरीह देखिए । ओपनर जोस बटलरले ४९ बलमा ८० रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा नौ चौका र तीन छक्का प्रहार गरेका थिए । खेलकै म्यान अफ दी म्याच एलेक्स हालेसले ४७ बलमा ८६ रन बटुले । एलेक्सले सात छक्का र चार चौका प्रहार गरेका थिए । भारतका मोहमद सामी र रविचन्द्रन आश्विन महँगा बलर बने । सामीले तीन ओभरमा ३९ रन र आश्विनले दुई ओभरमा २७ रन खर्चे । प्रतियोगितामै उत्कृष्ट फर्ममा रहेका अर्शदीप सिंहले दुई ओभरमा १५ रन खर्चेका थिए । 

जोर्डानले नियन्त्रणमा राखे भारतलाई
पहिलो ब्याटिङ गरेको भारतले इंग्लिस बलर क्रिस जोर्डानको बलिङ सामना गर्न सकेनन् । यद्यपि, जोर्डानले ४३ रन खर्चे पनि भारतका महत्वपूर्ण तीन विकेट लिन सफल भए । जोर्डानले भारतका कप्तान रोहित शर्मा (२७), विराट कोहली (५०) र हार्दिक पाण्ड्या (६३) को विकेट लिँदै इंग्ल्यान्डको पक्षमा खेल ल्याएका हुन् । इनिङ्सको अन्तिम बलमा जोर्डानले पाण्ड्यालाई हिट विकेट गरेका थिए । उनले रोहित र विराटलाई क्याचआउट गराए । इंग्लिस बलरमा वेन स्टोक्सले दुई ओभरमा १८ रन खर्चे । क्रिस वाकर्सले २४ रन खर्चेर एक विकेट हात पारे । आदिल रसिदले २० रनमा एक खेलाडी आउट पारे । 

भारतको कमजोर सुरुवात
भारतले इनिङ्सको १.४ ओभरमा ओपनर लोकश राहुललाई गुमाएको थियो । सुरुवातमै दबाबमा परेको भारत त्यसपछि माथि उठ्न सकेन । भारतले आवश्यक परेको अवस्थामा विकेट गुमाउँदा रनरेट पनि राम्रो बनाउन सकेन । रोहित र विराटले दोस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । रोहितले २८ बलमा चार चौका प्रहार गरेका थिए । त्यसपछि विराटले पाण्ड्यासँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गर्दै भारतलाई ७५–३ बाट १३६–४ को स्थितिमा राखे । विराट इनिङ्सको १७.६ ओभरमा आउट भए । उनले ४० बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । प्रतियोगितामा विराटले तेस्रो अर्धशतक बनाएका हुन् । पाण्ड्याले आक्रामक रूपमा ब्याटिङ गर्दै ४४ बलमा ६३ रनको योगदान दिए । उनले पाँच छक्का र चार चौका प्रहार गरेका थिए । 

टी–२० मा विराटले रचे कीर्तिमान
भारत सेमिफाइनलबाट बाहिरिए पनि पूर्वकप्तान विराटले अन्तर्राष्ट्रिय टी–२० खेलमा कीर्तिमान बनाएका छन् । उनी अन्तर्राष्ट्रिय टी–२० खेलमा चार हजार रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । इंग्ल्यान्डविरुद्ध ४२ रन पूरा गरेपछि विराटले चार हजार रनको तथ्यांक पूरा गरेका हुन् । विराटले एक सय १५ अन्तर्राष्ट्रिय खेलमा चार हजार आठ रन जोडेका छन् । रोहितले एक सय ४८ खेलमा तीन हजार आठ सय ६३ रन बनाए ।

 विराटले टी–२० विश्वकपको सेमिफाइनलमा अहिलेसम्म अर्धशतकीय इनिङ्स खेलेका छन् । सन् २०१४ मा दक्षिण अफ्रिकाविरुद्ध उनले ४४ बलमा ७२ रन जोडे । यसैगरी, सन् २०१६ मा वेस्ट इन्डिजविरुद्ध उनले ४७ बलमा ८९ रन बनाए । यसैगरी, अन्तर्राष्ट्रिय टी–२० खेलमा इंग्ल्यान्डविरुद्ध सर्वाधिक व्यक्तिगत रन बनाउने विराट पहिलो खेलाडी बने । उनले इंग्ल्यान्डविरुद्धको २० खेलमा ६ सय ३९ रन बटुले । दोस्रो स्थानमा अस्ट्रेलियाका आरोन फिन्च छन् । उनले १६ खेलमा ६ सय १९ रन प्रहार गरेका छन् । चालू विश्वकपमा उत्कृष्ट फर्ममा देखिएका विराटले टी–२० विश्वकपमा धेरै चौका प्रहार गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उभिए ।