मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २० आइतबार ०८:५५:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : गान्धी र सन्न्यासी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २० आइतबार ०८:५५:००

एकपटक महात्मा गान्धीको आश्रममा एक प्रसिद्ध सन्न्यासी आए । आश्रमको वातावरण तथा गान्धीको कार्यक्रम र उनका विचारबाट प्रभावित भएर सन्न्यासी आश्रममै बस्न तयार भए । उनलाई आश्रममा पाहुनाका रूपमा बस्ने प्रबन्ध मिलाइयो । रहँदाबस्दा एक दिन ती सन्न्यासीले गान्धीलाई भेटेर भने– बापु, म पनि तपाईंको आश्रममै बसेर बाँकी जीवन मानिसहरूको सेवामा बिताउन चाहन्छु ।

गान्धीले भने यो मेरा लागि सौभाग्यको कुरा हो । तपाईंको प्रस्ताव सुनेर मलाई निकै खुसी लाग्यो । तर, यसका लागि तपाईंले आफ्नो यो गेरुवस्त्र त्याग्नुपर्छ । गान्धीको कुरा सुनेर सन्न्यासीलाई झनक्क रिस उठ्यो । तैपनि, उनले आफ्नो रिसमाथि नियन्त्रण गर्दै भने– बापु, म एक सन्न्यासी हुँ । मेरा लागि गेरुवस्त्र त्याग गर्नु कसरी सम्भव छ ? 

गान्धीले भने– तपाईं सन्यास नछाड्नुहोस्, दिनदिनै यसमा प्रगति गर्दै जानुहोस् । मैले त तपाईंलाई गेरुवस्त्र मात्र त्याग्न भनेको हुँ । किनकि, त्यसलाई नछाडीकन मानिसको सेवा गर्नु सम्भव छैन । गान्धीले उनलाई थप सम्झाउँदै भने– स्वामीजी, यो गेरुवस्त्र देखेपछि हाम्रा देशवासी सोही वस्त्रवालाको पूजा गर्न थाल्छन्, उसबाट सेवा स्विकार्न तयार हुँदैनन् ।

जुन वस्तु हाम्रो सेवाकार्यमा बाधा बन्छ, त्यसलाई त्याग्नु नै उचित हुन्छ । फेरि सन्यास त मानसिक स्थिति हो । पोसाक छाड्दैमा सन्यास सकिने त होइन नि ! तपाईंले यो गेरुवस्त्र लगाउन्जेल कसले तपाईंलाई सेवाको अवसर दिन्छ, भन्नुस् त ! गान्धीको भनाइ सुनेपछि सन्न्यासीले तत्कालै गेरुवस्त्र त्याग गरिदिए ।