१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८१ जेठ १ मंगलबार १९:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बलदेव-बलराम : पूर्वसहकर्मी आमनेसामने, काे कति बलियाे ?

Read Time : > 2 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:३७:oo

प्रतिनिधिसभाअन्तर्गत कपिलवस्तु–१ मा सत्तागठबन्धनका साझा उम्मेदवार चक्रपाणि खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच रोचक भिडन्त हुने देखिन्छ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वमन्त्रीसमेत रहेका चक्रपाणि खनाल (बलदेव) र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य बलराम अधिकारीबीच कडा भिडन्त हुने देखिएको  हो। 

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम निर्वाचनमा होमिएका हुन्। कपिलवस्तु–१ मा दुवैतर्फका यी उम्मेदवार जिल्लामा पाका एवं हक्की नेताका रूपमा समेत परिचित  देखिएका छन्। 

मंसिर ४ को आमनिर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर बलदेव र बलराम अघिल्लो निर्वाचनका साझेदार सहकर्मीका रूपमा थिए। 

०७४ सालमा एमालेकै समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका बलदेवले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए। उक्त निर्वाचनमा कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए। ०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका बलदेव र उपाध्याय अहिले वाम–लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा सत्ता साझेदारका रूपमा छन्।

काे कति बलियाे ?

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा ३० वडाध्यक्षहरूको मतलाई आधार मान्दा कांग्रेस नै अघि छ। कांग्रेसका वडाध्यक्षहरूले २८ हजार २७१ मत ल्याउँदा एमालेका वडाध्यक्षले २६ हजार ८२३ मत पाएका थिए। 

त्यस्तै, जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० छ।

हाल कायम रहेको वाम–लोकतान्त्रिक गठबन्धनअन्तर्गत कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जित सुनिश्चित देखिन्छ। कपिलवस्तु–१ मा कुल मतदाता एक लाख ४१ हजार १३ छन्। स्थानीय तहको निर्वाचनको मतसंख्यालाई आधार मान्दा पनि क्षेत्र नम्बर १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बलदेव जितको नजिक देखिन्छन्।

०७० मा पहिलोपटक कपिलवस्तु–१ मा एमालेको झन्डा गाडेका अधिकारीलाई यसपटक सत्तागठबन्धन चुनौती देखिन्छ। ०७४ को चुनावी मैदान उत्रने तीव्र इच्छा राखेका अधिकारीले अहिलेका प्रतिस्पर्धी बलदेवलाई सहयोग गरेका थिए। पछिल्लो समयमा एमालेसमेत विभाजित रहेको अवस्थाले बलरामलाई चुनौती थपिएको छ।

जित्नेमा दुवै विश्वस्त 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रमुख राजनीतिक सल्लाहकारसमेत भइसकेका बलदेव २०७४ मा कपिलवस्तु १ बाट निर्वाचित भई कृषिमन्त्री भएका थिए। उनको कार्यकाल छोटो भए पनि मुख्य गरी जमिन र कृषि क्षेत्रमा नीति निर्माणमा काम गरेका थिए। 

उनले व्यावसायिक, कृषि, उद्योग र सुकुमबासीका लागि योजना निर्माण गरे भने मालपोतमा व्यापक भ्रष्टाचार हुने देखिएकाले अनलाइन प्रणालीमा ल्याउने कामसमेत गरेका थिए।

जमिनको चक्लाबन्दीको विषय र ‘कृषिमा युवा’ भन्ने कार्यक्रम प्रभावकारी बन्यो। तत्कालीन अवस्थामा भारतीय खसी–बोका आयातमा कडाइ गर्ने र धुलो दूध आयातमा कटौती गरी स्वदेशी उत्पादनलाई बढावा दिने कार्य बलदेवको कार्यकालमा भएका मुख्य काम हुन्। तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीले लागू गर्न नदिएपछि बलदेवले पदबाट राजीनामा दिए।

कृषिजन्य वस्तु आयातमा खसी–बोका प्रतिबन्ध, सातवटै प्रदेश र कपिलवस्तु गरी आठओटा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने योजना मन्त्रिपरिषद्मा सुनाएपछि तत्कालीन प्रधानमन्त्री ओलीले त्यसको विरोध गर्दै काम अगाडि बढाउन नदिएको उनले सार्वजनिक रूपमा बताउने गरेका छन्। उनले यिनै आफूले गरेका जनमुखी काम घरदैलो कार्यक्रममा बताउने गरेका छन्। 

कपिलवस्तु–क्षेत्र नम्बर १ मा वाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार अधिकारी पुनः दोस्रोपटक निर्वाचित हुनेमा विश्वस्त देखिन्छन्। 

२०७० मा निर्वाचनको नतिजा आफ्नो पोल्टामा पारेका अधिकारीको तत्कालीन योजनाहरूको कार्यान्वयनको प्रभावकारिता त्यति आशालाग्दो भने नदेखिएको जनगुनासो छ। लामो समय जिल्ला नेतृत्वमा रहेका अधिकारी ०७४ सालको निर्वाचनपश्चात् लामो समय गुमनामजस्तै रहे। अघिल्लो चुनावमा कपिलवस्तुमा २ वटा निर्वाचन क्षेत्र थिए।
 
जिल्लाको उत्तरी क्षेत्र महेन्द्रकोट, दुबिया, बुड्डीलगायतका क्षेत्रहरू तत्कालीन निर्वाचन क्षेत्र १ मा परेका थिए। हाल क्षेत्र नम्बर १ मा जिल्लाको मायादेवी, शुद्धोधन र कपिलवस्तु नगरपालिकाका आंशिक क्षेत्र समेटिएका कारण दक्षिणी सीमावर्ती क्षेत्रमा बलरामको उपस्थिति कम देखिन्छ। 

यद्यपि, एमालेको प्रभाव भने हाल आएर फैलिएको छ। भौतिक निर्माण तथा पूर्वाधार विकासमा उक्त क्षेत्रमा एमालेकै तत्कालीन सांसद विश्रामप्रसाद थारू र विष्णु पन्थीले अग्रणी भूमिका खेलेका थिए। स्थानीय तहको निर्वाचनमा पनि बलरामको निर्वाचन क्षेत्रमा एमालेको जनमत राम्रो आएको थियो। 

उता कांग्रेसले क्षेत्र नम्बर १ को (क) मा प्रदेश सदस्यमा डोलकराम घिमिरे, १ को २ मा सहसराम यादवलाई उम्मेदवार बनाएको छ। २०७४ सालमा यादव यही क्षेत्रबाट चुनाव जितेका थिए भने घिमिरे समाजसेवामा तल्लीन नेताका रूपमा परिचित छन्। 

उता एमालेले क्षेत्र नम्बर १ को (क) मा नेता विष्णु पन्थी र १ को (ख) मा मधुसुदनशरण चौधरीलाई उम्मेदवार बनाएको छ। पन्थी २०७४ को निर्वाचनमा जित हासिल गरेका प्रभावशाली नेता हुन्। 
 

ad
ad