डाक्टरको सुझाव
शरीरमा विभिन्न रक्तकोषिकाहरू हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका विभिन्न भागमा पुर्याउने काम गर्छ र अंगहरूलाई सक्रिय बनाउँछ । त्यस्तै, सेतो रक्तकोषले रोगप्रतिरोधी क्षमता बढाउँछ । प्लेटलेट्सले रगत बग्न नदिने काम गर्छ । यसको ढिक्का गएर रक्तनलीको प्वाल बन्द गरिदिन्छ । जसकारण शरीरबाट धेरै रक्तश्राव हुन पाउँदैन ।
यी तीनवटै रक्तकोष हड्डीको भित्री भाग अर्थात् बोनम्यारोमा बन्छ । जब सेतो रक्त कोषिकाहरूको डिएनएमा क्षति पुग्छ, तब रक्त क्यान्सर विकसित हुन थाल्छ । यहाँ, क्यान्सरका सेल बन्न थालेपछि रगतसँगै शरीरका प्रत्येक अंगमा पुग्छन् । ती सेलले हेमोग्लोबिन, सेतो रक्तकोष र प्लेटलेट्सको मात्रा अत्यधिक बढाइदिन्छन् । शरीरमा रगत बाक्लो भएर जान्छ । जसले गर्दा साना–साना रक्तनली बन्द हुन्छन् । हेमोग्लोबिनले अंगहरूमा अक्सिजन पुर्याउन सक्दैन । रक्तकोषहरू फुट्छन् । यस्तो हुँदा प्लेटलेट्सले काम गर्न सक्दैन । र, अंगहरूमा क्षति पुग्छ । समयमै उपचार मिलेन भने रक्त क्यान्सरले मानिसको ज्यानसमेत जाने गर्छ ।
कारण
- ब्लड क्यान्सरको निश्चित कारण पत्ता लागेको छैन । तर, केही त्यस्ता कारक छन्, जसले ब्लड क्यान्सर हुने जोखिम बढाउँछ ।
- वंशानुगत कारण
- धूम्रपान, जसले तीव्र माइलोयड ल्युकेमिया (एएमएल) विकास हुने जोखिम बढाउँछ ।
- किमोथेरापी गरेका व्यक्तिमा पनि पछि गएर ब्लड क्यान्सर हुने जोखिम रहन्छ, तर सबैमा हुन्छ भन्ने होइन ।
- विकिरणको प्रभावले पनि रक्त क्यान्सर हुन सक्छ ।
- डाउन सिन्ड्रोम, फ्यानकोनी एनिमियालगायत आनुवांशिक विकार, रक्तविकार (जस्तो, मायलोइड्सप्लास्टिक सिन्ड्रोम) ।
लक्षण
धेरै समयसम्म ज्वरो आइरहने, औषधि खाएपछि केही दिनमा निको हुने र फेरि ज्वरो आउने, महिनौँसम्म पनि ज्वरो निको नभएमा ब्लड क्यान्सर भएको हुन सक्छ । अन्य लक्षण यस प्रकार छन् :
- शरीर सेतो भएर जाने । रक्तअल्पता हुने ।
- नाकबाट रगत बग्ने ।
- दिसा, पिसाबमा रगत देखिने ।
- शरीरमा गिर्खा आउने ।
- सास लिन अप्ठ्यारो हुने ।
- शरीरमा नीलो डाम, रातो छिर्का हुने, कहिलेकाहीँ शरीर सुन्निने ।
- हड्डी करकर खाने, जोर्नी दुख्ने ।
- आँखा सुन्निने ।
- टाउको दुखिरहने ।
- वाकवाकी लाग्ने, वान्ता हुने ।
- कहिलेकाहीँ हातखुट्टा एक्कासि नचल्ने, काम्ने ।
- सुस्त मनस्थिति हुने ।
- थकान ।
कसरी बच्ने ?
- रासायनिक पदार्थ धेरै मात्रामा प्रयोग नगर्ने ।
- जथाभावी औषधि प्रयोग नगर्ने ।
- अर्गानिक खानेकुरा खाने ।
- सन्तुलित खानेकुरा खाने ।
- विकिरणबाट बच्ने ।
- धेरै सिटिस्क्यान नगर्ने ।
- धूम्रपान तथा मद्यपान नगर्ने ।
- थप समस्या भएमा क्यान्सर रोग विशेषज्ञको सल्लाहमा आवश्यक औषधि उपचार गर्ने ।
उपचार
बिरामीको उमेर, उसको स्वास्थ्य अवस्था र कुन प्रकारको रक्त क्यान्सरबाट बिरामी प्रताडित छ भन्ने हेरेर यसको उपचार गरिन्छ । सबैभन्दा धेरै प्रयोगमा आउने उपचार विधि किमोथेरापी हो । यदि प्रारम्भिक चरणमा यस उपचार विधि अपनाइयो भने मानिसले स्वास्थ्यलाभ गर्ने सम्भावना धेरै रहन्छ । अर्को उपचार विधि बोनम्यारो प्रत्यारोपण हो । किमोबाट ब्लड क्यान्सर निको नभएमा वा उपचारपछि फेरि समस्या देखिएमा यो विधि प्रयोगमा ल्याउने गरिन्छ । अर्को उपचार विधि लक्षित चिकित्सा हो । यसमा डाक्टरहरूले अन्य कोषिकालाई प्रभावित नगर्ने गरी केवल क्यान्सर कोषिकालाई लक्षित गरेर औषधि प्रयोग गर्छन् । जसकारण, सम्भावित दुष्प्रभाव कम भएर जान्छ । त्यस्तै, बिरामीको अवस्था हेरेर इन्टरफेरान, विकिरण उपचारलगायत उपचार विधि प्रयोगमा आउन सक्छ ।