नेवार समुदायले तिहारको चौथो दिन आज साँझ घरघरमा म्हः पूजा पर्व मनाउँदै छन् ।
भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हः पूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताए ।
म्हः पूजाको अर्थ हो, शरीर पूजा । तिहारको चौथो अर्थात् कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पूजा गर्दै म्हः पूजा पर्व मनाउने गर्दछन् । यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रह्माण्ड चिन्नका निम्ति म्हः पूजा गरिन्छ ।
म्हः पूजाको दिन नेवारहरू बिहानै उठेर घरमा सफासुग्घर गरी नुहाइधुवाई गरी चोखो लुगा लगाई विभिन्न पकवानहरू पकाएर बेलुका आफ्नो आत्माको प्रतीक मण्डला बनाई पूजा गर्छन् ।
म्हः पूजा गर्न सुरुमा रातो माटोले लिप्छ । लिपिसकेपछि चोखो पानी छर्केर पानीको मण्डला बनाइन्छ । त्यसपछि तेलको मण्डला बनाइन्छ । त्यसको माथि चामलको पीठोबाट व्यक्तिको प्रतीक मण्डला तयार गरी त्यसमा पञ्चरंगीन बनाइन्छ ।
त्यसपछि मण्डलाको बीचभाग र चार कुनामा कालो काँचो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल) राखिन्छ । त्यसको माथि खेलुइता (टुप्पीदेखि चिउँडाेसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ ।
घरका सदस्यहरू क्रमशः घरको मूलीदेखि लस्करै मण्डलाअगाडि पारेर बस्छन् । घरको मूलीमाथि गणेश भगवानको मण्डला तयार गरिन्छ । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, अम्बा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयरलगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरंगीन कपडाको टुक्रा राखेर बनाएको माला), सयपत्री फूलको माला र सयपत्री तथा गोदावरी फूल राखिन्छ ।
म्हः पूजा गर्दा पहिले सुकुन्डा बालेर चामलको पीठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ । यो पूजा घरको नकीं (मूली महिला)ले गर्ने परम्परा छ । यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत् रूपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अंग घुँडा, कुम र टाउकामा तीनवटा मुटुमारी (चामलको रोटी), पञ्चरंगी फूलका टुक्रा, अमला, ओखर, ताय, जुंगेधान, आख्य आदि राखेर तीनपटकसम्म टाउकामा ढोगाएर मण्डलामा जाने गरी कुले (काठको पाठी)ले खन्याई म्हः पूजा गरिन्छ । म्हः पूजा गर्दा खेलइता निभाउनुहुँदैन भन्ने धार्मिक मान्यता छ ।
पूजा सकिएपछि क्रमशः बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउको फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकींले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा विसर्जन गर्ने परम्परा छ ।
म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अन्डा सगुन) दिन्छ । खेःसगं दिँदा अन्डा, माछा, बारा र मदिरा दिन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवानहरू राखेर भोज खाने प्रचलन छ । भोज खाइसकेपछि सलादका रूपमा गणेशलाई चढाएको बिमिरो काटेर भोज समापन गरिन्छ ।
म्हः पूजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योति फैलाउने कामनासहित गरिन्छ । यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ पनि गरिन्छ । म्हः पूजा बलिराजालाई साक्षी राखेर गर्छ भन्ने लोकमान्यता छ ।
इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रह्माण्ड, मैले सारा जगतको कल्याण गर्न सक्छु, संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हः पूजा रहेको बताउँछन् ।
‘म्हः पूजा पूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ । त्यसको अघिल्लो दिन अर्थात् औँसीको दिन लक्ष्मी पूजा । जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्नताको प्रतीकस्वरूप गरिने पूजा नै म्हः पूजा हो,’ उनी भन्छन् ।
उनले म्हः पूजा नेवार समुदायको प्राचीन पर्व भएको बताए । ‘नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रूपमा मनाउँदै आएको छन् । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने कुचो, नांलो, गाग्री, करुवा, सिलौटा र चुलोलगायत पूजा गरी म्हः पूजा पर्व मनाइन्छ,’ उनी भन्छन् ।
रासस