Skip This
महासचिव र उपमहासचिवको  रोचक भिडन्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Friday, 26 July, 2024
२o७९ कार्तिक ४ शुक्रबार o७:२o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महासचिव र उपमहासचिवको  रोचक भिडन्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार o७:२o:oo

०७४ को निर्वाचनका सहकर्मी देव गुरुङ र पृथ्वीसुब्बा गुरुङ आमनेसामने

अघिल्लो निर्वाचनमा मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका माओवादी महासचिव देवप्रसाद गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रतिस्पर्धालाई लमजुङमा चासोपूर्वक हेरिएको छ । गुरुङद्वय आपसमा चुनाव लड्न चाहँदैनथे, तर परिस्थितिले दुवैलाई चुनावी प्रतिस्पर्धी बनाइदिएको छ ।

अघिल्लो निर्वाचनमा वामगठबन्धनबाट देव गुरुङ संघीय र पृथ्वीसुब्बा प्रदेशमा उम्मेदवार बनेका थिए । देव, पृथ्वीसुब्बा र धनञ्जय दवाडीसहित लमजुङका तीनवटै सिट वामगठबन्धनले जितेको थियो । पृथ्वीसुब्बा गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बने । अहिले उनी प्रदेशबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । उनी सातौँपटक संसदीय निर्वाचन लड्दै छन् । 

यसपटक एमाले एकातिर र अर्कोतिर कांग्रेस, माओवादीसहित चारदलीय गठबन्धन छ । आठवटा स्थानीय तह रहेको लमजुङमा वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एक नगरपालिका र तीन गाउँपालिका एमालेले जितेको छ । तीन नगरपालिका र एक गाउँपालिका सत्तागठबन्धनले जितेको छ । 

०४३ मा राष्ट्रिय पञ्चायतको चुनाव लडेका पृथ्वीसुब्बा त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन् । यसअघि ६ पटक चुनाव लड्दा उनले दुईपटक मात्र जितेका छन् । ०४८, ०५१, ०५६ को चुनाव हारेका पृथ्वीसुब्बा ०६४ मा पहिलो संविधानसभा सदस्य चुनावमा विजयी भएका थिए । ०७० को संविधानसभामा भने पराजित भए । ०७४ को प्रदेश सभा निर्वाचनमा लमजुङ (ख) बाट विजयी भई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री बनेका पृथ्वीसुब्बाले पूरा कार्यकाल काम गर्न पाएनन् । साढे तीन वर्ष नबित्दै उनले पद गुमाए । उनी फेरि प्रदेशमै लड्न चाहन्थे । तर, अध्यक्ष केपी ओलीले उनलाई प्रतिनिधिसभाको टिकट थमाएका हुन् । प्रदेश सभा (ख) उनको आफ्नै क्षेत्र हो । क्व्होंलासोंथार उनको गृह गाउँपालिका हो, जहाँ उनको पार्टीले गत स्थानीय निर्वाचनमा क्लिन स्विप गरेको छ । 

०४८ यता देव गुरुङ तेस्रो संसदीय चुनाव लड्न लागेका हुन् । ०४८ मा उनी संयुुक्त जनमोर्चाबाट लमजुङ १ मा उम्मेदवार थिए । ०६४ मा मनाङ र कास्की १ दुवै क्षेत्रबाट जिते । उनले त्यतिवेला मनाङ रोजे र कास्कीमा उपनिर्वाचन भयो । ०७४ मा उनी एमाले–माओवादी वामगठबन्धनबाट लमजुङबाट प्रतिनिधिसभा सदस्य विजयी भए । यसपटक पनि गुरुङले मनाङ र कास्की–१ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै रोजेका छन् । जन्मथलो मनाङ भए पनि उनले कर्मथलोका रूपमा लमजुङलाई रोजेका छन् । 

०७४ को निर्वाचनमा दलले प्राप्त गरेको मत
०७४ मा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । त्यसवेला एमाले र माओवादीबीच देशव्यापी तालमेल भएको थियो । वाम गठबन्धनका उम्मेदवार देव गुरुङले ३९ हजार चार सय ६८ मत प्राप्त गरेका थिए । कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीले ३१ हजार ६७ मत पाएका थिए । नयाँ शक्तिका उम्मेदवार देवेन्द्र पराजुलीले ६ सय दुई, विवेकशील साझाले ६ सय १८, संघीय समाजवादीले तीन सय ९९ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ एमालेले ३३ हजार तीन सय नौ, कांग्रेस २७ हजार दुई सय २९, माओवादी सात हजार आठ सय पाँच, राप्रपा एक हजार चार सय ७७, विवेकशील साझा आठ सय ७०, नयाँ शक्ति सात सय ७३, संघीय फोरम दुई सय २९, राप्रपाले एक सय ८८ मत प्राप्त गरेका थिए । लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् । स्थानीय निर्वाचनपछि दुई हजार ६५ मतदाता नयाँ थपिएका निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तो छ स्थानीय तहको अंकगणित
०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवारहरूले ४० हजार एक सय ९७ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवारले ४१ हजार चार सय ७२ मत पाएका छन् । स्थानीय तहमा वडाध्यक्षले प्राप्त गरेको मतपरिणामअनुसार गठबन्धन एक हजार दुई सय ७५ मतले अगाडि देखिन्छ । राप्रपाका उम्मेदवारले एक हजार एक सय ९६ मत र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले दुई हजार पाँच सय ६३ मत पाएका छन् । यसमा पराजित उम्मेदवारको मतलाई समावेश गरिएको छैन । यस आधारमा हेर्दा ०७४ को निर्वाचनमा कांग्रेसले ३२.९ प्रतिशत प्राप्त गरेको थियो । ०७९ को स्थानीय निर्वाचनमा ३३.३ प्रतिशत प्राप्त गरेको छ । एमालेले ०७४ मा ३३ प्रतिशत र ०७९ मा ३४ प्रतिशत मत प्राप्त गरेको छ । माओवादीले ०७४ मा १७ प्रतिशत मत प्राप्त गरेको थियो भने ०७९ मा ११.९ प्रतिशत मत प्राप्त गरेको छ ।