१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक २ बुधबार ०८:४६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुद : भलिबल खेलाडी दैनिकजसो घाइते

राष्ट्रिय खेलकुदका लागि आएको नयाँ म्याट सेपाक्ताक्रो खेलका लागि नवलपुरमा पठाएर पुरानोमा प्रतियोगिता गराउँदा खेलाडी घाइते भइरहेका छन्

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २ बुधबार ०८:४६:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीहरूले एकपछि अर्को रेकर्ड आफ्नो नाममा राखेका छन् । अर्कोतिर, खेलाडीहरू दैनिक घाइते भइरहेका छन् । पोखरा रंगशालामा दैनिकजसो खेलाडी घाइते हुँदा भविष्यको पनि प्रश्न जोडिएको छ । भलिबल कोर्टमा २८ असोजदेखि भएको पुरुष भलिबलको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेशका प्रेम कुमाल लड्दा खुट्टा भाँचियो । 

भलिबलका लागि आएको म्याट सेपाक्ताक्रो खेलका लागि नवलपुर लगेपछि पुरानो म्याटमै खेलाडीले प्रतिस्पर्धा गर्दा घाइते भएका हुन् । पुरानो म्याटमा चिप्लिएर खेलाडी घाइते भएको आयोजक समितिका एक सदस्यले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । उनले खेल सुरु हुनअघि राष्ट्रिय खेलकुद परिषद्लाई पुरानो म्याटको बारेमा जानकारी गराएका थिए । तर, परिषद्ले भलिबलको पुरानो म्याटसम्बन्धमा वास्ता नै गरेन । 

आयोजकले आउटडोरमा समेत म्याट राखी खेलाउँदा भलिबलका केही खेलाडीले सुरुमै विरोध गरेका थिए । तर, खेलाडीको विरोधको केही सीप लागेन । लुम्बिनी र एपिएफबीचको मंगलबार भएको क्वार्टरफाइनलमा समेत तीनजना घाइते भएका छन् । एपिएफका रुपेन्द्र गैरे र देवराज अवस्थीसँगै लुम्बिनीका विजय परियार घाइते भए । खेलाडी घाइते भएपछि जारी खेलसमेत केही समय रोकिएको थियो । 

दैनिक खेलाडीहरू घाइते भएपछि सहभागी टोलीले म्याट हटाए मात्र खेल सुचारु गर्ने भनेपछि राखिएको म्याट हटाएर रोकिएको मंगलबारको खेल पुनः सुरु गरिएको थियो । खेलमा सुरुमा घाइते भएका गैरेको खुट्टाको एंकलमा समस्या देखिएको छ । त्यसपछि घाइते भएका परियारको समेत एंकलमा नै समस्या देखिएको छ । अर्का खेलाडी अवस्थीको समेत खुट्टामा समस्या देखिएको छ । 

यसअघि लुम्बिनीका चिरञ्जीवी खड्का र एपिएफका हेमन्त मल्लसमेत घाइते भएका थिए । घाइतेमध्ये मल्ल ठीक भइसकेका छन् । अन्य खेलाडी खेल्न सक्ने अवस्थामा छैनन् । २८ असोजदेखि सुरु भलिबलका मात्रै ६ जना खेलाडी घाइते भएका छन् ।

चन्दा उठाएर उपचार खर्च जुटाइँदै 
घाइते भएका कुमालको उपचार चन्दा उठाएर गरिएको छ । कुमालको दुर्घटना बिमा नभएका कारण उपचारका लागि चन्दा संकलन गरेको हो । खेल्ने क्रममा घाइते भएका कुमालको बिमा नगरिएका कारण आयोजकले उपचारमा हुने खर्चको जिम्मा लिएन । चन्दा संकलन गर्न आफूहरू बाध्य भएको एक खेलाडीले बताए । कुमालको उपचारका लागि भन्दै पोखरा रंगशाला परिसरमा एक लाख ३२ हजार रुपैयाँ सहयोग संकलन गरिएको छ । सशुल्क रहेको खेल हेर्नका लागि आयोजकले दर्शकका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरेको छ ।