
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन्।
शनिबार वाम–लोकतान्त्रिक गठबन्धनले रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न उठिरहेको बताए।
उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण नेपालको व्यवस्थाप्रति आमजनमानसमा असन्तुष्टि पैदा भएको बताए। ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यकता रहेको जिकिर गरे।
‘व्यवस्थाप्रति नेगेटिभ चिज जाँदै छ। यो कारण वास्तवमा राजनीतिक रूपले हेर्दा हिजो जुन व्यवस्था गठबन्धनभन्दा पहिला नेतृत्व गरेको सरकार थियो, नेकपा एमालेका केपी ओलीले नेतृत्व गरेको सरकार, त्यो सरकारको असक्षमताका कारणले सुरु भएको हो। त्यसलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भएको छ। प्रतिगमन सच्याउने, संविधानसंगत बाटोमा हिँडाउन आवश्यक छ। अहिले पनि गठबन्धन अर्कोतर्फ पनि छ। त्यो गठबन्धन भनेको प्रतिगमनकारीहरूको गठबन्धन हो,’ उनले भने।
नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताउँदै आन्तरिक स्राेत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिए।
उनले भने, ‘स्राेत, साधनबाट हामी गरिब छैनौँ। नेपालमा विदेशी लगानी कमजोर भएको छ। किन कमजोर हुन्छ? विदेशी लगानी भित्र्याउनुपर्छ। हाम्रो स्राेत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन। देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ। हामीले देशको स्राेत, साधनलाई प्रयोग गर्न सके देशको समृद्धि निश्चित छ।’
महराले प्रतिगमनकारी शक्तिहरू अहिले पनि सल्बलाइरहेको भन्दै प्रतिगमनलाई परास्त गर्न गठबन्धन अहिले पनि उत्तिकै आवश्यक रहेको बताए।