मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o७९ असोज २८ शुक्रबार ११:o३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’बाट परीक्षण उत्पादन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार ११:o३:oo

दोर्दी खोलामा लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’बाट बिहीबारदेखि परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाले भूकम्प, नाकाबन्दी तथा विभिन्न प्राकृतिक प्रकोपकाे समस्या झेल्दै परीक्षण उत्पादन सुरु गरेको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए । उनका अनुसार आयोजनाबाट  कात्तिकदेखि नै व्यावसायिक विद्युत् उत्पान सुरु हुनेछ । 

आयोजनाबाट ०७६  चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । प्रसारणलाइनको समस्या, कोरोना महामारी र बाढीपहिरोको कारण उत्पादन तालिका धकेलिँदै आएको हो । यसअघि आयोजना सम्पन्न गर्न चार अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान गरे पनि बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्दा लागत बढेको आयोजनाले जनाएको छ । 

आयोजनामा बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइप छ । रन अफ द रिभरमा आधारित उक्त आयोजनाले ०७१ वैशाख १५ मा विद्युत् उत्पादन अनुमति पाएको थियो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख  ८४ हजार आठ सय ६९ युनिट बिजुली उत्पादन हुनेछ ।

नदीको बहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको आयोजनाको प्रतिफल १५.४५ प्रतिशत छ । दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीमा निर्माण गरिएको आयोजनाले तल्लो सिमीस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट मालेबगरमा निर्माण गरिएको विद्युतगृहमा लगेर पानी खसाल्नेछ । 

आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी प्रवर्द्धक कम्पनी लिबर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको हो ।

आयोजनाबाट उत्पादित विद्युत् दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारणलाइनबाट मर्स्याङ्दी करिडोरको २२० केभी प्रसारणलाइनमा जोडिनेछ । दोर्दी करिडोरमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन् । २७ मेगावाटको दोर्दी खोलाबाट भने यसअघि नै व्यावसायिक विद्युत् उत्पादन सुरु भइसकेको छ ।