
नृत्यले हामीलाई शारीरिक र मानिसक रूपमा सुदृढ गराउँछ । खुलेर नाच्दा हाम्रो शरीरका हरेक नसा र कोषिकाको अभ्यास हुन्छ । शरीरमा रक्तसञ्चार बढ्छ । यससँगै शरीर र ब्रेन पनि स्वस्थ हुन्छ । मानिस खुसी रहन्छ । नृत्य गर्दा संगीतको गहिराइमा डुबेर गरिने भएकाले यो एक ध्यानजस्तै हो ।
म नियमित नृत्य गर्छु । पछिल्ला वर्षहरूमा अभिनय र नृत्य प्रशिक्षकसँगै मोटिभेसनल स्पिकरका रूपमा पनि सक्रिय छु । मलाई १२ वर्षदेखि कुनै स्वास्थ्य समस्या देखिएको छैन । मेरो बुझाइमा सबै नृत्यका आफ्नै विशेषता छन् । मैले ७७ वटै जिल्लाका लोकनृत्यबारे अध्ययन गरेको छु ।
कत्थक, भरतनाट्यम्, चर्यालगायत लोकनृत्यसँगै साल्साजस्ता पश्चिमा नृत्य, बलिउड फ्री–स्टायल, हिपहपलगायत सबै डान्सका आ–आफ्नै महत्व छन् । डान्सका यी सबै भेरिएसनबारे हामीले नलेज राख्न सक्यौँ भने मात्रै राम्रो डान्सर बन्न सकिन्छ ।
सबैलाई मिक्स गरेर नयाँ आउटपुट निकाल्न सकियो भने मानिसले मार्क गर्ने र मन पराउने हुन् । राम्रो डान्सर बन्नका लागि संगीतको पनि राम्रो ज्ञान हुन जरुरी छ । प्रशिक्षार्थीसँग राम्रो इच्छाशक्ति हुनुपर्छ र योग्य प्रशिक्षक पनि चयन गर्न सक्नुपर्छ ।