मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Wednesday, 09 July, 2025
२o७९ असोज २७ बिहीबार २१:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै कार्यकर्तालाई सूर्यमा भोट हाल्न मनाउँदै कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार २१:o७:oo

एमालेको सूर्य चुनावचिह्न लिएर चुनावी मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमाले कार्यकर्ता फकाउन मात्र होइन, आफ्नै कार्यकर्तालाई सूर्यचिह्नमा मतदान गराउनसमेत मनाउनुपरेको छ।

राप्रपा नेपालले आज हेटौँडामा गरेको मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलामा थापाले आफ्ना कार्यकर्तालाई मनाउन सूर्यचिह्न लिएर चुनावमा सहभागी हुन पाउनु गर्वको विषय भएको पटकपटक सुनाए। 

‘मैले यसपटक जित्नै पर्ने भएकोले एमालेको लोकप्रिय चुनावचिह्न सूर्य लिएर चुनावमा उठेको हुँ। मैले सूर्य चुनावचिह्न लिएर प्रतिस्पर्धा गर्न पाउनु आफ्नो सौभाग्य ठानेको छु,’ उनले भने, ‘एउटा राष्ट्रवादी पार्टीले अर्को राष्ट्रवादी पार्टीको सहयोग प्राप्त गर्नु र उक्त पार्टीको अत्यन्तै लोकप्रिय चुनावचिह्न सूर्यमा मतदान गर्न पाउनु राप्रपा नेपालका कार्यकर्ता पनि भाग्यमानी भएको मैले ठानेको छु।’

उनले एमालेको भोटले आफू जितेको देख्न चाहने हो भने राप्रपा नेपालका कार्यकर्ताले पनि सूर्यमा भोट हाल्न सक्नुपर्ने बताए। 

राप्रपा नेपालको कार्यकर्ता भेला भए पनि त्यहाँ एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभाका लागि मकवानपुर १ (ख) उम्मेदवार बनेका एकलाल श्रेष्ठ पनि उपस्थित थिए। उनले अब छुट्टाछुट्टै भेला र कार्यक्रम गर्नुभन्दा एकै ठाउँमा हिँड्ने वातावरण बनाउनुपर्ने बताए। 

पार्टी केन्द्रको निर्णयमा थापा सूर्य चुनावचिह्नमा उठे पनि जिल्लाका एमाले नेता–कार्यकर्ता अझै पनि थापाको पक्षमा खुल्न सकेका छैनन्। यस्तोमा आफ्नै कार्यकर्ताले पनि सूर्यमा भोट नहाल्ने हुन कि भन्ने चिन्ता थापामा देखिएको छ। 

पार्टी अध्यक्ष नै रहेका थापा सूर्यचिह्नबाट निर्वाचित भएपछि एमाले संसदीय दलका सदस्य हुने, एमालेको ह्विप स्विकार्नुपर्ने, थापा निर्वाचित भए पनि राप्रपा नेपालको सांसद नहुनेजस्ता कारणले राप्रपा नेपालका कार्यकर्तामा पनि निराशा देखिन्छ। केही कार्यकर्ताहरू थापाले अन्ततः आफूहरूलाई समेत एमालेमा समाहित गराउने हुन् कि भन्ने चिन्तामा पनि देखिन्छन्।