१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ असोज २७ बिहीबार १७:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरो प्रभावित सिँजालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न  माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार १७:o७:oo

बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको जुम्लाको सिँजालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ।

सिँजा क्षेत्रमा हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका पर्दछन्। जिल्लाका आठ स्थानीय तहमध्ये तीनवटा सिँजा क्षेत्रमा पर्छन्। यी तीनै गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित बनेका छन्। 

जिल्ला प्रशासन कार्यालय जुम्लामा बिहीबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले सिँजाका कनकासुन्दरी, हिमा र सिँजा गाउँपालिकामा जनधनको अत्यधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरेको छ।

समितिको बैठकले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१)बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिँजा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ६, ७ र ८ वडा, तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४ ६ र ७, वडा, गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको ३ नम्बर वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केसरीले जानकारी दिए।

बाढीपहिरोले जुम्लामा एक हजार ६ सय ७५ परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार तीन सय १६ घर पूर्ण क्षति, चार सय ४० घर उच्च जोखिम, सात सय २६ घर आशिंक क्षति भएका छन्। साथै, बाढीपहिरोका कारण जुम्लामा मात्रै १० जनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन्।

कार्यालयको तथ्यांकअनुसार सबैैभन्दा बढी हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा यसपटक क्षति भएको र क्षतिको पूर्ण विवरण आउन बाँकी छ। २०७९ असोज १९–२५ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले कर्णाली राजमार्ग अहिलेसम्म अवरुद्ध छ। 

जिल्लाको सबै शक्ति प्रयोग गरेर सडक सुचारु गर्न काम भइरहेको कार्यालयले जनाएको छ। ठाउँ–ठाउँमा पहिरो गएकाले अवरुद्ध भएको र पहिरो पन्छाउने काम भइरहेको स्थानीय तहले जनाएका छन्। 

सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिँजा गाउँपालिकाको कार्यालय, प्रहरी चौकीसमेत डुबानमा परेको बताए।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमाको बुअ, बड्की, मोफ्ला र खलढुंगालगायतका गाउँमा बाढीपहिरोबाट स्थानीय विस्थापित भएकाे जानकारी दिए।