मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
३ असोजमा गोठाटारमा हत्या गरिएका मोहम्मद दर्जीमाथि आक्रमण हुँदाको तस्बिर
टेकराज थामी काठमाडाैं
२०७९ असोज २६ बुधबार ०६:०६:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लाल मोहम्मद हत्या प्रकरण : पाँच वर्षअघि पनि भएको थियो हत्या प्रयास

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ असोज २६ बुधबार ०६:०६:००

हत्या गर्न ‘सुपारी’ लिएर दुई भारतीय ‘सार्पसुटर’ आएका थिए काठमाडौं

गत ३ असोजमा मारिएका सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई पाँच वर्षअघि नै हत्या गर्न खोजिएको खुलेको छ । छोरीको जबर्जस्त अवरोधपछि उनी त्यसवेला बाँच्न सफल भएका थिए ।

प्रहरीका अनुसार छोरीकै कारण पाँच वर्षअघि लालको हत्या गर्न ‘सुपारी’ लिएर आएका दुई भारतीय ‘सार्पसुटर’लाई प्रहरीले जोरपाटी नारायणटारबाट पक्राउ गरेको थियो । उनी ३ असोजमा पनि बाबुमाथि गोली प्रहार हुँदा बचाउने प्रयास गर्दै कौसीबाट हाम फालेकी थिइन् । 

प्रहरीको विशेष ब्युरो (एबी)ले २१ असोज ०७४ मा रक्सोलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई नारायणटारबाट पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले हतियारसमेत बरामद गरेको थियो भने प्रहरी वृत्त बौद्धमा मुद्दा चलेको थियो । 

लाल मोहम्मद हत्या अनुसन्धानमा संलग्न एक अधिकृतले पाँच वर्षअघि नै लालको हत्या प्रयास भएको र छोरीको प्रतिकारका कारण त्यसवेला उनी बच्न सफल भएको खुलेको बताए । 

‘लाललाई पाँच वर्षअघि पनि गोली प्रहार गरी हत्या गर्न खोजिएको रहेछ । उनको हत्या गर्न दुई भारतीय नागरिक ‘सुपारी’ लिएर आएका, तर छोरीको प्रतिकारपछि लाल त्यसवेला बाँच्न सफल भएका रहेछन्,’ ती अधिकृतले नयाँ पत्रिकासँग भने, ‘दुवैलाई विशेष ब्युरोले पक्राउ गरेको र बौद्ध वृत्तले मुद्दा चलाएको अनुसन्धानको क्रममा खुलेको छ ।’

ब्युरोका तत्कालीन प्रमुख हेमन्त पाल (हाल अवकाशप्राप्त एआइजी)ले पनि लाल मोहम्मदको हत्यामा संलग्न भएको आशंकामा दुई भारतीय नागरिक हतियारसहित पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘घटना पुरानो हो । नारायणटारबाट हतियारसहित दुईजनालाई पक्राउ गरेका हौँ । उनीहरूविरुद्ध बौद्ध वृत्तमा मुद्दा पनि चलेको हो । हामीले त्यसवेला नै उनलाई ‘तिमीलाई थ्रेट छ’ भन्ने जानकारी गराएका थियौँ । प्रहरीको सक्रियताले त्यसवेला सम्भावित घटना टरेकै हो ।’

प्रहरीका अनुसार लाललाई ०७४ को असोज दोस्रो साता नारायणटारस्थित उनको गार्मेन्ट कारखानामै हत्या गर्ने प्रयास भएको थियो । उनको गार्मेन्ट कारखाना त्यसवेला नारायणटारमा थियो । भारतबाट हत्या गर्न आएका दीपककुमार र रञ्जन जबर्जस्ती गार्मेन्टमा छिरेका थिए । त्यसक्रममा लालकी छोरीसँग उनीहरूको घम्साघम्सी परेको थियो । उनीहरूले हतियारसमेत निकालेका थिए । तर, मोहम्मद नभेट्टाएपछि उनीहरू फर्किएका थिए । 

लगत्तै उनको परिवार जाहेरी दिन प्रहरी वृत्त बौद्ध पुगेको थियो । प्रहरीले जाहेरी दर्ता गरेपछि घटनाको अनुसन्धान विशेष ब्युरोले गरेको थियो । लालकी छोरीले ब्युरोका अनुसन्धान अधिकृतलाई आक्रमणकारीको हुलिया र उनीहरू लुक्न सक्ने सम्भावित ठाउँको सुराक दिएकी थिइन् । सोही आधारमा ब्युरोको टोलीले २१ असोज ०७४ मा दीपककुमार र रञ्जनकुमारलाई हतियारसहित पक्राउ गरेको थियो । ब्युरोसँगको बयानमा उनीहरूले लाल मोहम्मदको हत्या गर्न ‘सुपारी’ लिएर आएको बताएका थिए । 

ब्युरोका तत्कालीन अधिकृत तथा अहिले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले अनुसन्धानका क्रममा केही व्यक्ति पक्राउ परेको हुन सक्ने, तर घटनाबारे यकिनका साथ भन्न नसक्ने बताए । ‘कसैले जीवन रक्षाका लागि निवेदन दिए व्यक्तिको जीवन रक्षाका लागि खटिनु, अनुसन्धान गर्नु प्रहरीको कर्तव्य हो,’ उनले भने, ‘त्यसक्रममा कोही पक्राउ परेको र मुद्दा चलेको पनि हुन सक्छ । तर, यकिनका साथ भन्न सकिएन ।’

त्यसअघि लाललाई भारतीय सुटरले नक्खुस्थित कारागारभित्रै गोली प्रहार गरी हत्या गर्ने योजना बनेको थियो । विशेष ब्युरोका एक पूर्वअधिकृतका अनुसार केन्द्रीय कारागार सुन्धरामा रहेका युनुश अन्सारीको हत्या प्रयासकै बखत उनको हत्या गर्ने योजना थियो । युनुशमाथि २६ फागुन ०६७ मा केन्द्रीय कारागारभित्रै छिरेर हत्या प्रयास भएको थियो । अनामनगरमा भएको एक हत्या अभियोगमा पक्राउ परेका लाललाई ललितपुरस्थित नक्खु कारागारमा राखिएको थियो । 

तर, प्रहरीले योजनाको सुराकी पाएपछि उनलाई कारागार व्यवस्थापन विभागले रसुवास्थित कारागारमा गोप्य तवरले सरुवा गरेको थियो । विशेष ब्युरोले सुराकको ‘भेरिफाई’ अन्सारीको हत्या प्रयासमा पक्राउ परेका भारतीय ‘सार्पसुटर’ जसजित सिंह भनिने मनमित सिंहबाट गराएको थियो । सोही ‘सुरक्षा थ्रेट’का कारण उनलाई रातारात रसुवास्थित कारागार सारिएको विशेष ब्युरोका पूर्वअधिकृतको भनाइ छ । 

लाल मोहम्मद २० असार ०६४ मा अनामनगरस्थित पुलमा नक्कली भारतीय नोटका कारोबारी बलराम पटुवारको हत्यामा संलग्न थिए । ‘सार्पसुटर’को भूमिकामा रहेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । सोही अभियोगमा उनी पुर्पक्षका लागि नक्खु कारागार पुगेका थिए । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध नौ वर्ष कैद सजाय सुनुवाइ गरेको थियो । सजाय भुक्तानपछि उनी २५ जेठ ०७३ मा जेलमुक्त भएका थिए । घटनामा संलग्नमध्ये पप्पु गुप्ता पनि उनीसँगै पक्राउ परेका थिए । घटनाका मुख्य योजनाकार मानिएका बारा इल्ताफ हुसेन अन्सारी भने फरार थिए । पछि उनले अदालतबाट सफाइ पाएका थिए । हाल इल्ताफ नक्कली सुन कारोबार अभियोगमा जेलमा छन् । 

पक्राउ परेकाविरुद्ध म्याद थप 

लाल मोहम्मद हत्या अभियोगमा पक्राउ परेका अभियुक्तविरुद्ध थप अनुसन्धान गर्न प्रहरीले थप म्याद पाएको छ । जिल्ला अदालत काठमाडौंले पक्राउ गरेकामध्ये दुईजनालाई १५ र एकजनालाई १६ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो । 

प्रहरीले मोहम्मद हत्यामा संलग्न भएको आरोपमा गत १४ असोजमा पर्साको वीरगन्ज महानगरपालिका– १६ का २१ वर्षीय महोरम मियाँ र १९ वर्षीय रेहान मियाँ तथा मकवानपुरको बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पक्राउ परेकामध्ये महोरम र रेहानविरुद्ध १५ र सुस्मिताविरुद्ध १६ दिनको म्याद थप भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० अनुसार म्याद थप भएको हो । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले लाल मोहम्मद हत्या अभियोगमा पक्राउ परेकाविरुद्ध थप अनुसन्धानका लागि म्याद थप भएको जानकारी दिए । ‘लाल मोहम्मद हत्या अभियोगमा तीनजना पक्राउ परेका छन् । उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐनअन्तर्गत थप अनुसन्धान गर्न म्याद थपिएको छ,’ उनले भने, ‘जसमध्ये दुईविरुद्ध १५ र एकविरुद्ध १६ दिनको म्याद थप भएको छ ।’

लालको गत ३ असोजमा कागेश्वरी–मनोहरा नगरपालिका– ८ स्थित एडभेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि गोली प्रहार गरी हत्या भएको थियो । सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय मोहम्मद दर्जीको नामले समेत चिनिने उनी चार वर्षदेखि उक्त क्षेत्रमा गार्मेन्ट चलाउँदै आएका थिए । मोटरसाइकलमा आएका अपरिचितले लखेटी–लखेटी उनलाई गोली हानेका थिए ।

त्यसवेलै ‘थ्रेट छ’ भनेका थियौँ : हेमन्त पाल, पूर्वएआइजी

नारायणटारबाट हामीले हतियारसहित दुईजनालाई पक्राउ गरेका थियौँ । उनीहरूविरुद्ध बौद्ध वृत्तमा मुद्दा पनि चलेको थियो । हामीले त्यसवेला नै लाललाई ‘तिमीलाई थ्रेट छ’ भन्ने जानकारी गराएका थियौँ । प्रहरीको सक्रियताले त्यसवेला सम्भावित घटना टरेको थियो ।

मोहम्मदकी अंगरक्षक थिइन् छोरी
छोरीकै बहादुरीका कारण नारायणटारमा आफूमाथिको हत्या प्रयास विफल भएपछि लालले छोरीलाई साथै लिएर हिँड्न थालेका थिए । छोरीलाई कराँते प्रशिक्षण दिलाई आफ्नो अंगरक्षकका रूपमा छोरीलाई ट्रेन गराएका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनी हाल कराँतेको ‘ब्ल्याक बेल्ट’ छिन् । लालले ती छोरीलाई आफ्नो परिवारका निकट सदस्यबाहेक छरछिमेकसँग पनि हेलमेल गर्न र नजिक हुन दिएका थिएनन् ।

हरदम उनी बाबुको साथ रहन्थिन् । लालकी अर्की छोरीलाई भने टोलछिमेकमा हेलमेल गर्ने छुट थियो । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘मुस्लिम समुदायमा छोरीलाई कराँते सिकाउने गरेको विरलै पाइन्छ । तर, लालले आफ्नी छोरीलाई कराँते सिकाएको पाइयो । यति मात्र होइन, उनी ‘ब्ल्याक बेल्ट’ नै रहिछिन् । आफ्नो अंगरक्षकका रूपमा छोरीले ‘ग्रुमिङ’ गरेजस्तो देखिन्छ ।’

तिनै छोरी गत ३ असोजमा गोठाटारमा बाबुमाथि गोली प्रहार भएपछि दुई तलामाथिबाट हाम फालेर बचाउन आइपुगेकी थिइन् । तर, यसपटक भने उनले बाबुलाई बचाउन सकिनन् ।