मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मिलन पाण्डे काठमाडाैं
२०७९ असोज २३ आइतबार ०८:०९:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शिक्षकलाई सांसदको भन्दा बढी तलब–सुविधा दिऊँ

Read Time : > 5 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७९ असोज २३ आइतबार ०८:०९:००

विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीलाई शिक्षण पेसामा टिकाउन हाम्रो देशमा शिक्षकलाई सबैभन्दा बढी तलब–सुविधा दिइनु जरुरी छ 

शिक्षण पेसामा सक्षम मानिसको किन आकर्षण छैन भन्ने आजको चासोको विषय हो । सार्वजनिक विद्यालयमा शिक्षक किन अपुग छन् ? किन सार्वजनिक विद्यालयका करिब एकतिहाइ शिक्षक अक्षम छन् भनेर प्रतिवेदनहरूले भनिरहेका छन् ? निजी विद्यालयहरू किन खोजेको जागिर नपाउँदासम्म हल्लिने क्षेत्र बनिरहेका छन् ? यसको उत्तर कसले खोज्ने ? लगाव भएको शिक्षक स्कुलमा हुने हो भने हाम्रो शिक्षासम्बन्धी आधा समस्या समाधान हुन्छन् । शिक्षकले मुख्यगरी तीन कुरा खोज्छन्, पेसाको ग्यारेन्टी, परिवार चलाउन पुग्ने तलब–सुविधा र सम्मान । 

राजनीतिकर्मी पनि भएको हुनाले एउटा प्रस्ताव प्रस्तुत गर्न चाहन्छु । शिक्षकलाई सांसदको भन्दा बढी तलब दिऔँ । मर्यादाक्रममा शिक्षकलाई ‘मानार्थ’ रूपमा सांसदकै तहमा राखौँ । प्रधानाध्यापकलाई मन्त्रीसरह तलब–सुविधा दिऔँ । प्रधानाध्यापकलाई ‘मानार्थ’ रूपमा मर्यादाक्रममा मन्त्रीसरह राखौँ । 

किन यो प्रस्ताव ? : जब शिक्षकको तलब कम हुन्छ, तब थोरै मानिस मात्र शिक्षक बन्न चाहन्छन् । ‘टाइम म्यागजिन’ले गरेको एउटा अध्ययनले भन्छ, ७६ प्रतिशत मानिस शिक्षक बन्न चाहँदैनन्, किनकि शिक्षकले जीवन धान्न सक्ने पैसा कमाउन सक्दैनन् । यदि यस्तै अध्ययन नेपालमा पनि गर्ने हो भने मलाई लाग्छ, यहाँ पनि यस्तै उत्तर आउनेछ । हेर्दा हामीले शिक्षकको तलबको मात्र विषय उठाएको देखिएला, तर यो विषय विद्यार्थीको करियर र समग्र देशको अर्थतन्त्रसँग समेत जोडिएको छ । ‘नेसनल एजुकेसन एसोसिएसन’ले गरेको एउटा अध्ययनले यदि शिक्षकको तलब १० प्रतिशत बढ्यो भने विद्यार्थीको प्रदर्शनमा पाँचदेखि १० प्रतिशत सुधार हुने देखाउँछ । एक जर्नलको अध्ययनअनुसार राज्यले प्रत्येक वर्ष प्रत्येक विद्यार्थीमा १० प्रतिशत थप लगानी गर्दा विद्यार्थी विद्यालयमा बढी वर्ष टिक्छन् । तिनै विद्यार्थीले काम गर्दै गर्दा सात प्रतिशत बढी कमाउने र उनीहरू वयस्क हुँदा वार्षिक रूपमा मापन गरिएको गरिबीमा ३.२ प्रतिशत कमी आउने देखिन्छ । 

शिक्षामा गरिने लगानी सीधै हाम्रो अर्थतन्त्रसँग जोडिएको हुन्छ । स्टानफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार एउटा औसत शिक्षकभन्दा उत्कृष्ट शिक्षकले पढाउँदा वर्षमा एउटा विद्यार्थीले औसतमा २० हजार डलर बढी कमाउन सक्छन् । एउटा उत्कृष्ट शिक्षकले कक्षामा २५ जनालाई पढाउँदा तिनै विद्यार्थीले वर्षमा पाँच लाख डलर बढी कमाउन सक्छन् । म यहाँ शिक्षा–अर्थतन्त्रको महत्व दर्साउन खोज्दै छु । शिक्षकलाई बढी तलब दिँदा राम्रा मानिस यो पेसामा आउने, राम्रा शिक्षकले पढाउँदा विद्यार्थीहरू विद्यालयमा बढी टिक्ने र जीवनमा बढी कमाउने देखिन्छ । त्यसैले, सक्षम व्यक्तिलाई शिक्षण पेसामा ल्याउन राज्यले लगानी गर्न जरुरी छ । 

विभिन्न देशबाट सिकौँ : संसारका शिक्षामा राम्रो गर्दै गरेका देशलाई हेर्दा त्यहाँ शिक्षकको तलब औसत जागिरेभन्दा बढी देखिन्छ । सिंगापुर, दक्षिण कोरिया र फिनल्यान्डलाई दाँजेर हेर्दा तिनै देशमा शिक्षकलाई गरिने सम्मान र उनीहरूको तलब सबैभन्दा बढी हुने गर्छ । दक्षिण कोरिया र सिंगापुरमा त औसतमा शिक्षकले वकिल र एउटा इन्जिनियरले भन्दा बढी कमाउँछन् ।

शिक्षकलाई सांसदको भन्दा बढी तलब दिऔँ । मर्यादाक्रममा शिक्षकलाई ‘मानार्थ’ रूपमा सांसदकै तहमा राखौँ । प्रधानाध्यापकलाई मन्त्रीसरह तलब–सुविधा दिऔँ । प्रधानाध्यापकलाई ‘मानार्थ’ रूपमा मर्यादाक्रममा मन्त्रीसरह राखौँ ।

सही कुरा जहाँबाट सिक्दा पनि हुन्छ । हामीले भुटानबाटै पनि सिक्न सक्छौँ । त्यहाँ सन् २०१८ मा धेरै राम्रा र अनुभवी शिक्षकले जागिर छाड्न थाले । त्यही वेला भुटानले शिक्षकको तलब बढायो । शिक्षकको क्षमतावृद्धिमा पनि लगानी सुरु गर्‍यो । यस कदमले अहिले त्यहाँ सकारात्मक नतिजा ल्याउँदै छ । 

तलबसँगै... : अघिल्लो वर्ष ‘सेयरकास्ट इनिसिएटिभ नेपाल’को अध्ययनले नेपालीले सबैभन्दा बढी विश्वास शिक्षकलाई गर्ने गरेको पाइयो । समाजलाई सही दिशामा लैजान र सामाजिक–आर्थिक–राजनीतिक चेतना भर्न पनि उत्कृष्ट व्यक्तिलाई शिक्षक बनाउनुपर्ने देखिन्छ ।

के तलब बढाउनु र मर्यादाक्रममा शिक्षकलाई मानार्थ राख्नु मात्र समाधान हो त ? उत्तर एउटै शब्दमा आउँछ– होइन । तर, एउटा उद्देश्यसहित यो कदम चाल्न सके यसले ल्याउने प्रभाव निकै महत्वपूर्ण हुनेछ । हामी यत्ति मात्रै भन्दै छौँ– आफ्नो परिवारको शिक्षा स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई पूरा गरेर निजी गाडी चढ्ने हैसियत र वर्षमा एकचोटि घुम्न जान सक्ने अवस्था प्रत्येक शिक्षकको हुनुपर्छ ।

हाम्रो शिक्षाको प्रमुख चुनौती भनेकै यो पेसाप्रति आकर्षण जगाउनु र शिक्षकलाई टिकाउनु नै हो । यसलाई बुझ्न यो समस्यालाई सेनासँग दाजेर हेरौँ । जब सेनाले मैदानमा राम्रो नतिजा दिन सक्दैन, हामी के गर्छौं ? हामी उनीहरूलाई सहयोग गर्छौं । हामी राम्रो औजार दिन्छौँ, थप सुरक्षा दिन्छौँ, राम्रा हतियार दिन्छौँ, थप तालिम दिन्छौँ । सेनामा भर्ती कम भयो भने हामी थप आकर्षक तलब–भत्ता दिन्छौँ । हो, अहिलेको हाम्रो शिक्षण पेसा पनि त्यस्तै अवस्थामा छ । हामीले हाम्रा शिक्षकलाई साथ दिने वेला आएको छ । पुराना पुस्ताका अधिकांश शिक्षक रिटायर हुने वेला भएको छ । आजको प्रमुख चुनौती भनेको हाम्रा कलेज स्नातकहरूलाई शिक्षण पेसामा आकर्षित गर्नु हो । चर–पाँच कक्षामा पढ्दा नै एउटा विद्यार्थीमा शिक्षक बन्ने लगाब जन्माउने नीति जरुरी छ । हामीलाई थाहा छ, तलब वा सुविधाभन्दा पनि शिक्षणमा राम्रा व्यक्तिलाई टिकाउन सबैभन्दा बढी शिक्षककै यो कर्मप्रति लगाब महत्वपूर्ण हुन्छ । त्योसँगै, शिक्षकलाई गर्वसाथ यो पेसामा टिकाउन र नतिजा दिन मान र दामले महत्वपूर्ण भूमिका खेल्छ ।

यसको मतलब शिक्षकको मूल्यांकन जरुरी छैन भनेको होइन । शिक्षकको नियमित मूल्यांकन जरुरी छ । विद्यार्थी, सहकर्मीबाट र अभिभावकबाट शिक्षकको मूल्यांकन गरिनुपर्छ । शिक्षकले नियमित आफूलाई ‘अपडेट’ र ‘अपग्रेड’ गर्न जरुरी छ । अक्षम शिक्षकलाई प्रशिक्षण, तालिम दिएर सुधार्ने र त्यति गर्दा पनि सुधार नभए शिक्षकलाई बिदा गर्ने नीति जरुरी छ । 

धेरै वर्ष पढाउनु नै राम्रो शिक्षक हुनुको प्रमाण होइन । प्रहरीमा यो आधार काम लाग्ला, तर शिक्षणमा लाग्दैन । प्रहरीले जति धेरै वर्ष काम गर्‍यो त्यति धेरै वर्ष नागरिकको सुरक्षा गर्छन्, आफ्नो जीवन दाउमा लगाउँछन् । त्यसैले, जति वर्ष काम गर्‍यो त्यति धेरै तलब दिन सकिन्छ । तर, यही लजिकले शिक्षकमा काम गर्दैन । शिक्षकले प्रत्येक दिन नयाँ–नयाँ कुरा सिकेर सिकाउने हो । त्यसैले, अहिलेकै प्रणालीमा शिक्षकको तलब बढाएर पनि नतिजा आउँदैन । 

पढाइ र परीक्षामा मात्र केन्द्रित नरहेर रमाइलो तरिकाबाट पढाउने, विद्यार्थीलाई प्रेरित गर्ने शिक्षकलाई प्रेरित गर्न तलब धेरै हुन आवश्यक छ । यो प्रणालीमा उत्कृष्ट शिक्षकले प्रोत्साहन पाउँछन् भने औसत शिक्षक आफूलाई सुधार्न अग्रसर रहन्छन् । मौका दिँदा पनि आफूमा सुधार गर्न नसक्ने र परिणाम नदिने शिक्षकलाई भने सीधै बिदा गर्न सक्नुपर्छ । राम्रा शिक्षकलाई सीधै नियुक्त गर्ने नीति पनि आवश्यक छ । विद्यार्थीको भविष्यसँग राज्यले कुनै पनि सम्झौता गर्न मिल्दैन । 

प्रधानाध्यापकको प्रश्न : यस प्रस्तावमा हामीले प्रधानाध्यापकलाई मन्त्रीसरहको तलब र ‘मानार्थ’ मर्यादाक्रममा समेट्ने भनेका छौँ । हामीलाई लाग्छ, हजारौँ युवाको भविष्यलाई नेतृत्व गर्ने प्रधानाध्यापकको जिम्मेवारी एउटा मन्त्रीभन्दा कम छैन । विभिन्न रिपोर्ट र उदाहरणले पनि देखाउँछन्, एउटा प्रधानाध्यापक राम्रो हुने हो भने विद्यालय राम्रो बन्न सक्छ । राम्रो विद्यालयले हजारौँको जीवन परिवर्तन गर्न सक्छ । जसरी वर्तमानको सत्ता हाँक्न हामी चुनाव गर्छौं, वडादेखि राष्ट्रपतिसम्म नेता छान्छौँ, अर्बौं खर्च गर्छौँ, त्यतिकै प्राथमिकतासाथ प्रधानाध्यापक बनाउने विषयमा पनि गम्भीर हुन जरुरी छ । प्रधानाध्यापक भनेको एउटा व्यवस्थापक पनि हो । तसर्थ, अब नयाँ पुस्तालाई ‘म ठूलो भएर प्रधानाध्यापक बन्छु’ भन्ने उत्साह जगाउन जरुरी छ । 

निजी विद्यालयका शिक्षक : यही लेखमा सबै लेख्न सम्भव छैन । तर, छोटकरीमा भन्नुपर्दा नेपालमा अधिकांश निजी विद्यालयमा शिक्षकको शोषण भइरहेको छ । यो प्रस्ताव सरकारीसँगै निजी विद्यालयको शिक्षकका लागि पनि हो । शिक्षक–शिक्षकमै भेदभाव हुनुहुँदैन । शिक्षा भनेको नाफा कमाउने क्षेत्र होइन । निजी विद्यालयमा विद्यार्थीबाट उठाइएको रकम शिक्षक र विद्यार्थीमै खर्च गरिनुपर्छ । विद्यालयले आर्थिक भार थेग्न सक्दैन भने राज्यले सहयोग गर्नुपर्छ । विद्यार्थीबाट उठाउने शुल्क तथा विद्यालयले गर्ने खर्च र कमाउने नाफालाई राज्यले निकै कडाइसाथ अडिट गर्नुपर्छ । र, निजी विद्यालयका शिक्षकको जिम्मा पनि राज्यले नै लिनुपर्छ ।

तलब बढाउँदाका चुनौती : आकर्षक मान र दामले राम्रो शिक्षकलाई त आकर्षण गर्ने नै भयो, तर यसले कम सक्षमलाई पनि आकर्षण गर्छ । त्यसैले, वैज्ञानिक मूल्यांकनको विधि आवश्यक परेको हो । दोस्रो सबैभन्दा महत्वपूर्ण कुरा भनेको बजेट हो । यसलाई खर्चका रूपमा नहेरी लगानीका रूपमा हेर्ने हो भने शिक्षकको तलबमा केही अर्ब खर्च गर्न हात कमाउनु हुँदैन । 

शिक्षामा राम्रो गरिरहेका देशले यस विषयलाई निकै संवेदनशील तरिकाले हेर्छन् । एक नम्बरमा उनीहरूले आफ्ना विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीलाई शिक्षणमा ल्याउँछन् (हामी ल्याउदैनौँ) । उनीहरू शिक्षकलाई नियमित तालिम दिन्छन् (हामी दिँदैनौँ) । दिल्लीमै पनि शिक्षकलाई अभिमुखीकरणका निम्ति सरकारले छुट्टै रकम शिक्षकलाई नै दिने नीति ल्याएको छ (हाम्रोमा छैन) । गहिरिएर हेर्दा सायद यो धर्तीको सबैभन्दा गाह्रो र जिम्मेवारीपूर्ण काम हो, शिक्षण । प्रतिघन्टा ५०–६० जनाको भविष्यलाई आकार दिनु सजिलो काम कहाँ हो र ? अन्य पेसाजस्तो शिक्षकले काम गर्नुपर्दैन भन्ने भ्रम छ, तर मानसिक तनावसँगै भौतिक रूपमै दिनमा ६–७ घन्टा काम गर्नु, त्यसपछि पनि उत्तरपुस्तिका परीक्षण गर्नु, प्रश्न बनाउनु, विद्यार्थीलाई स्कुलबाहिर पनि सहयोग गर्नु, अभिभावकसँग संवाद गर्नुसमेत थप्ने हो भने शिक्षकले दिनमा १२ घन्टाभन्दा बढी काम गर्छन् । 

अन्त्यमा : केही दिनअघि मैले शिक्षकको काम छोड्न लागेको मेरो ब्याचको एक उत्कृष्ट साथीलाई प्रश्न गरेँ, ‘तिमीले के भयो भने चाहिँ जागिर छाड्दैनौ ?’ स्कुलमा हुने गरेको वाहियात राजनीतिबारे आफ्नो बिमति राख्दै उसले भन्यो, ‘मैले व्यापार गरेर वा बाहिर गएर जति कमाउन सक्छु, त्यति पढाएर कमाउन सकिनँ । मेरो परिवारको सपना साकार गर्न मैले अब व्यापार गर्नुपर्छ वा विदेश जानुपर्छ ।’ त्यसैले, उत्कृष्ट विद्यार्थीलाई यो पेसामा टिकाउन, नेपालमा सबैभन्दा बढी तलब शिक्षकको हुन जरुरी छ । त्यसको सुरुवात शिक्षकको तलब सांसदको भन्दा एक रुपैयाँ भए पनि बढी बनाएर गरिन जरुरी छ । एकचोटि सोच्नुहोस् त, एउटा उत्कृष्ट शिक्षकले आफ्नो जीवन समर्पण गरेर तपाईं–हाम्रा सन्तानलाई सक्षम बनाउनु भनेको शिक्षकले आफ्नो व्यापार गरेर, गाएर, खेलेर वा विदेश गएर अहिलेको भन्दा बढी कमाउन सक्ने जीवनसँग साटेको होइन र ? त्यसैले, राज्यले कन्जुस्याइँ गर्ने क्षेत्र यो होइन ।