
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचदलीय गठबन्धन निर्वाचन क्षेत्र बाँडफाँड गर्ने सम्बन्धमा निर्णायक वार्तामा जुटेकाे छ ।
बैठकले पाँचदलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन बिहीबार बिहानदेखि निर्णायक वार्ता जारी राखेको छ । निर्वाचन क्षेत्र बाँडफाँडका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँड गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब दुई दिन मात्र बाँकी रहेकाले पनि आजै बाँडफाँड टुंग्याउन लागिएको उनले बताए । गठबन्धनको बैठक जारी रहेकाले आज बस्ने भनिएको सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक अझै सुरु हुन सकेको छैन ।
सत्तागठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ ।