मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडौँ
२०७९ असोज १३ बिहीबार ०७:०४:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

देशभर ६० हजार औद्योगिक प्रतिष्ठान, ४० प्रतिशत मात्रै पूर्ण क्षमतामा सञ्चालन

सवा ६ खर्ब लगानीमा उत्पादनशील औद्योगिक प्रतिष्ठानबाट आठ खर्ब ६१ अर्बको वस्तु उत्पादन

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौँ
२०७९ असोज १३ बिहीबार ०७:०४:००

देशभर रहेका औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, ०७६ अनुसार ६० प्रतिशत औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमता पूर्ण रूपमा उपयोग भएको छैन ।

तथ्यांक विभागले खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित सेवा र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकला गरी चार क्षेत्रका औद्योगिक प्रतिष्ठानको सर्वेक्षण गरेको हो । सर्वेक्षण अवधिमा देशभर ६० हजार एक ८५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् । तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा तीन सय ६५, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित सेवा क्षेत्रमा ९९४ र पानीको आपूर्ति, ढल, फोहोर व्यवस्थापन क्षेत्रमा दुई हजार दुई सय २४ उद्योग प्रतिष्ठान रहेका छन् ।

१० भन्दा बढी व्यक्ति संलग्न भएका उत्पादनशील औद्योगिक प्रतिष्ठानको संख्या ०६९ सालमा चार हजार ७६ रहेकोमा उक्त संख्या २३ प्रतिशतले बढेर यस सर्वेक्षणसम्म आइपुग्दा पाँच हजार १७ पुगेको देखिन्छ । यस सर्वेक्षणमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानमध्ये करिब ७६ प्रतिशत दुई सय ७० दिनभन्दा बढी सञ्चालनमा आएका छन् । त्यस्तै, १९ प्रतिशत उद्योग एक सय ८० दिनदेखि दुई सय ६९ दिन, चार प्रतिशत उद्योग ९० देखि एक सय ७९ दिन र बाँकी एक प्रतिशत उद्योग ९० दिनभन्दा कम सञ्चालन भएको अध्ययनले देखाएको छ ।

औद्योगिक क्षेत्रका चारवटै उद्योग प्रतिष्ठानको करिब ६ खर्ब १९ अर्ब मूल्यबराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ । सन्दर्भ अवधिमा चारवटै औद्योगिक क्षेत्रका प्रतिष्ठानहरूले करिब आठ खर्ब ४६ अर्ब ६६ करोड लगानी गरी १२ खर्ब एक अर्ब मूल्यबराबरको वस्तु तथा सेवा उत्पादन गरेका छन् । यसलाई आधार मान्दा चारवटै औद्योगिक प्रतिष्ठानले देशको अर्थतन्त्रमा करिब तीन खर्ब ५४ अर्ब ५१ करोडबराबरको मूल्य अभिवृद्धि गरेको देखिन्छ ।

देशको अर्थतन्त्रमा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको दुई खर्ब ३५ अर्ब ३३ करोडबराबरको मूल्य अभिवृद्धि गरेको देखाएको छ । जब कि, ०६९ सालमा ठूला उत्पादनशील उद्योगले अर्थतन्त्रमा ८० अर्ब ७८ करोडबराबरको मूल्य अभिवृद्धि गरेका थिए । चारवटै समूहका ठूला उत्पादनशील उद्योग प्रतिष्ठानले ६ खर्ब २५ अर्ब ७२ करोड रुपैयाँ लागतको रूपमा खर्च गरी करिब आठ खर्ब ६१ अर्ब मूल्यबराबरको औद्योगिक वस्तु उत्पादन गरेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणको नतिजाअनुसार चारै प्रकारका औद्योगिक प्रतिष्ठानमा रहेका तलबी कामदारको संख्या तीन लाख ८१ हजार ६ सय ८७ रहेको छ । यीमध्ये सबैभन्दा धरै आद्योगिक उत्पादनशील क्षेत्रमा तीन लाख ४६ हजार एक सय ४३ रहेको देखिन्छ । चारवटै औद्योगिक प्रतिष्ठानमा कार्यरत तलबी कामदारका लागि तलब तथा ज्याला र सुविधामा गरेको खर्च करिब एक खर्ब सात अर्ब ८९ करोड रहेको छ । यसमध्ये खानी तथा उत्खनन क्षेत्रमा एक खर्ब ८० अर्ब, औद्योगिक उत्पादन क्षेत्रमा ९५ अर्ब ७७ करोड, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित सेवा क्षेत्रमा ६ अर्ब ९२ करोड र पानी, ढल निकास तथा फोहोर व्यवस्थापनको क्षेत्रमा तीन अर्ब ४० करोड रकम कामदारको तलब, ज्याला तथा सुविधामा खर्च भएको अध्ययनले देखाएको छ ।

सर्वेक्षणले ६० प्रतिशत साना उद्योग प्रतिष्ठानले बैंकबाट ऋण नलिएको, नभएको र ऋण लिने प्रक्रियामा पनि नभएको देखाएको छ । साना उत्पादनशील औद्योगिक प्रतिष्ठानमध्ये करिब ३४ प्रतिशतले मात्र वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ भने एक प्रतिशतले प्रतिबद्धता प्राप्त गरेको देखिन्छ । यस्तै, पाँच प्रतिशत उद्योग प्रतिष्ठान ऋण लिने प्रक्रियामा रहेको देखिन्छ ।

कोभिड महामारीमा सरकारले गरेको चार महिनाको लकडाउन अवधिमा करिब ६३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्ण रूपमा बन्द भएको सर्वेक्षणले देखाएको छ । यस्तै, २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिक रूपमा र बाँकी १३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्ण रूपमा सञ्चालनमा रहेका थिए । लकडाउनकै कारण १७ प्रतिशत कामदारले विनासुविधा काम छाड्नुपरेको तथा ६० प्रतिशत कामदारले अस्थायी रूपमा कामबाट अलग हुनुपरेको देखिन्छ ।