मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १० सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ असोज १० सोमबार १o:o९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अलैँचीको भाउ २९ प्रतिशतले घट्यो

गएको वर्षको तुलनामा प्रतिकिलो दुई सय ७५ रुपैयाँसम्म कम भाउ पाएपछि अलैँची किसान चिन्तित, बजारको व्यवस्थापन गरिदिन सरकारसँग माग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १० सोमबार १o:o९:oo

अलैँचीको भाउ झन्डै २९ प्रतिशतले कमी पाएपछि किसान चिन्तित भएका छन् । गएको वर्षमा प्रतिकिलो नौ सय ५० रुपैयाँमा बिक्री भएको अलैँचीले यसपालि प्रतिकिलो ६ सय ७५ रुपैयाँ मात्रै भाउ पाइरहेको छ । पोहोरभन्दा २८.९४ प्रतिशत अर्थात् प्रतिकिलो दुई सय ७५ रुपैयाँले कमी भाउ पाएपछि किसान चिन्तित भएका हुन् । 

आठ वर्षअघि प्रतिमन (४० किलो) अलैँचीको एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएपछि खोल्सीको कालो सुनको परिचय पाएको थियो । तर, त्यसयता निरन्तर ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष पनि ह्रास आएको छ । गत वर्ष ताप्लेजुङमा अलैँची प्रतिमन ३८ हजार रुपैयाँले बिक्री भएको थियो । यस वर्ष भने अलैँचीको भाउ ११ हजारले कमी भई प्रतिमन २७ हजारमा झरेको छ । 

यो वर्ष उत्पादन बढी हुने देखिएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा कम माग हुँदा मूल्यमा ह्रास आएको अलैँची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष बलमणि बरालले जानकारी दिए । ‘हरेक वर्ष अलैँचीको बजार मूल्यमा उतारचढाव आइरहने गर्छ । गत वर्ष दसैँ–तिहारको सेरोफेरोमा मन (४० केजी)को ५२ हजार रुपैयाँसम्म पनि पुगेको थियो,’ उनले भने, ‘मूल्य बढेपछि किसान धेरै उत्साहित भएका पनि थिए, तर यस वर्ष अलैँचीको मूल्य घटेपछि किसानमा निराशा छाएको छ ।’ उनले अलैँचीको बजार व्यवस्थापनमा सघाउन सरकारसँग मागसमेत गरे ।

रुस–युक्रेन द्वन्द्वका कारण युरोपलगायत विश्वभर नै आर्थिक मन्दी छाइरहँदा अलैँचीको माग घटेको व्यवसायी बताउँछन् । मुस्लिम बहुल क्षेत्र खाडी मुलुकलगायतका देशले विभिन्न परिकारमा अलैँचीको प्रयोग बढी गर्छन्, नेपालको अलैँची भारत हुँदै ती देशमा धेरै जाने गरेको थियो । तर, अहिले भारतमा नै अलैँचीको माग नआएपछि किसान तथा व्यापारीहरू समस्यामा परेका छन् । 

अलैँची बढी खपत हुने देश पाकिस्तानमा बाढीको प्रकोप, अफगानिस्तानको आन्तरिक द्वन्द्वका कारणले पनि यसको माग घटेको उनीहरू बताउँछन् । तत्काल अन्तर्राष्ट्रिय बजारमा जति माग भइरहेको छ, त्यसको पूर्ति भारत र भुटानबाट भइरहेको अलैँची व्यवसायी दिनेश अधिकारीले बताए । तर, नेपाली अलैँचीले भने बजार नपाइरहेको उनले सुनाए । पछिल्लो समय भारत र भुटानले आफ्ना किसानलाई अनुदान दिएर अलैँची खेतीमा प्रोत्साहन गर्दै उत्पादन बढाउन थालेपछि त्यसको नकारात्मक असर पनि नेपाली अलैँचीमा पर्न थालेको उनले बताए ।

अहिलेसम्म अलैँची व्यापारीको अन्तर्राष्ट्रिय बजारमा पहुँच नै छैन । नेपाली व्यापारीले सीधै विश्व बजारमा लगेर बेच्न नपाउने अवस्थाले नेपाली अलैँचीले अपेक्षित मूल्य नपाउने उनीहरूको गुनासो छ । नेपाली अलैँची भारतीय व्यापारीले भारतकै फलका रूपमा आफ्नै ट्रेडमार्कमा अन्य मुलुकमा बेच्ने गर्छन् । गुणस्तरका हिसाबले नेपाली अलैँची धेरै राम्रो मानिए पनि बिक्रीका लागि भारतीय व्यापारीको मुख ताक्नुपर्ने बाध्यता चाँडै हटाउन सरकारले पहल गर्नुपर्ने आवश्यकता अलैँची व्यवसायी भद्रवीर रेग्मीले बताए । ‘नेपाली अलैँचीलाई आफ्नै ट्रेडमार्क र मान्यता दिलाउन र पूर्वी नेपालको भारतीय नाका काँकडभिट्टामा अन्तर्राष्ट्रियस्तरको गुणस्तर मापन उपकरण राख्ने व्यवस्था गर्ने हो भने अवश्य पनि नेपाली अलैँचीको किसानले मूल्य पाउनेछन्,’ उनले भने । 

नेपालबाट उच्च निर्यात सम्भावना रहेको कृषिजन्य वस्तुमा अलैँची प्राथमिकतामा रहेको छ । नेपालबाट पाँच हजार पाँच सय मेट्रिकटनसम्म अलैँची बिक्री भइरहेको र यसबाट सात अर्ब रुपैयाँ आम्दानी भइरहेको अलैँची व्यवसायी महासंघले जनाएको छ । अलैँचीको पकेट क्षेत्रका रूपमा पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र संखुवासभालाई मानिएको छ ।  

यसको खेती हिजोआज पूर्वबाट विस्तार हुँदै गएर पश्चिमको आछाम, डोटी, बैतडीसम्म भइरहेको तथ्यांकले देखाउँछ । अहिले नेपालका मध्यपहाडी ४० जिल्लामा २० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको र यसमा एक लाख २५ हजारभन्दा बढी परिवार आबद्ध रहेको बताइन्छ । धेरै आम्दानी दिने देखेर यसको खेतीतर्फ आकर्षित हजारौँ किसान मूल्य स्थिर नहुने र मूल्यमा आएको गिरावटले निराश देखिएका छन् ।