मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७९ असोज ९ आइतबार ०७:१०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बन्दसूचीले कांग्रेसमा बबाल

४० प्रतिशत मागेको शेखर समूहले समानुपातिकतर्फ मुस्किलले १० प्रतिशत सिट पाएपछि विद्रोहको चेतावनी

Read Time : > 2 मिनेट
२०७९ असोज ९ आइतबार ०७:१०:००

कांग्रेसको असन्तुष्ट समूहले आफ्नो शक्ति नजरअन्दाज गरी सिट बाँडफाँड भए गठबन्धनकै उम्मेदवारलाई ‘भोट नदिने’ चेतावनी दिएको छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको शनिबार काठमाडौंमा भएको खबरदारी भेलाले यस्तो चेतावनी दिएको हो । भेलामा कोइराला र थापा भने ‘रणनीतिक’ रूपमै उपस्थित भएनन् ।

भेलामा नेताहरूले कांग्रेसबाहेक अरू दलका उम्मेदवारको जिम्मा लिन नसकिने बताएका छन् । यो समूहले कांग्रेसको आन्तरिक एकता नभए गठबन्धन सफल नहुने दाबी पनि गरेको छ । पार्टी संस्थापनले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो समुहलाई बेवास्ता गरेको नेताहरूको भनाई छ । बन्दसूची नसच्याइए र प्रत्यक्षमा ४० प्रतिशत सुनिश्चित नगरे निर्वाचन बहिष्कार गर्ने वा देशभर आफ्ना उम्मेदवार उठाउनेसम्मको चेतावनी कोइराला समुहको छ ।नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई मात्र होइन गठबन्धनकै अन्य नेताहरूलाई समेत असन्तुष्टिको सन्देश दिएका छन् । गठबन्धनका नाममा बालुवाटारमा हुने सहमति मात्रै आफूहरूलाई मान्य नहुने उनीहरूको भनाई छ । यो समूहको असन्तुष्टिबीच कांग्रेसले पाँच दलबीच गठबन्धन गर्ने निर्णय लिएको थियो ।

नेता गुरुराज घिमिरेले कांग्रेसको अन्तरिम आयाम नमिले गठबन्धनका उम्मेदवारले नजित्ने चुनौती दिए । ‘कांग्रेसबाट बढीभन्दा बढी सिट लिँदैमा निर्वाचन जित्ने ग्यारेन्टी तपाईंहरू (प्रचण्ड, माधव, उपेन्द्र, चित्रबहादुर)सँग छैन । सबैभन्दा पहिला यो हेक्का राख्नोस्– बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा र आफ्नो सन्देश पठाउँदैमा मागेजति सिट पनि पाइँदैन र पाएजति सिट जितिँदैन,’ उनले भने, ‘कांग्रेसको आन्तरिक आयाम नमिली तपाईंहरूले टाउको जोडेर परिणाम प्राप्त गर्छु भनेर सोच्नुभएको छ भने सबैभन्दा पहिला त्यहाँ होस पु¥याउनुहोस् ।’

यति मात्र होइन उनले आफूहरूले राजनीतिमा नयाँ प्रयोग गर्न थालेको भन्दै बागी उम्मेदवार पठाउन सक्ने संकेत गरे । ‘सभापति शेरबहादुरसँगै गठबन्धनकोे महŒवपूर्ण घटकका रूपमा रहेको माओवादीका अध्यक्ष प्रचण्ड, माधव नेपाल, उपेन्द्र र चित्रबहादुरलाई भन्नु छ । हामी नेपालको इतिहासमा एउटा प्रयोगको सँघारमा छौँ । दुनियाँमा यस्ता प्रयोग कमै भएका छन्,’ घिमिरेले भने, ‘नेपालमा गठबन्धनको संस्कृतिको इतिहास छँदै छैन । त्यसैले खबरदारी केवल हाम्रो पार्टी सभापतिलाई मात्रै छैन ।’

अर्का नेता जगदीश्वरनरसिंह केसीले आफूहरूको माग सम्बोधन नभए कांग्रेसबाहेका अरू उम्मेदवारलाई भोट नहाल्ने बताए । ‘सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने उहाँ (सभापति देउवा) मात्रै निर्वाचनमा लडे भयो । उहाँले आफ्नै समूहकालाई टिकट दिए हुन्छ । सम्मानजनक नभए हामी बाहिर बसेर पार्टीलाई सहयोग गछौैँ,’ केसीले भने, ‘सबैलाई सहयोग गर्नुपर्छ भन्ने दायित्व र जिम्मेवारी हाम्रो होइन । हामीले रूख चिह्नमा भोट हाल्छौँ । समानुपातिक सूची नसच्याए त्यसको विकल्पमा अगाडि बढ्नुपर्ने हुन सक्छ ।’

अर्का नेता भूपेन्द्रजंंग शाहीले पनि बहुमतका बलमा पेले परिणाम राम्रो नहुने बताए । ‘समानुपातिकको बन्दसूचीमा देउवा पक्षले एकलौटी गरेको छ । हाम्रो पक्षका नेताहरूले ‘नोट अफ डिसेन्ट’ राख्नुभएको छ । अस्ति मात्रै शेखर कोइराला, गगन थापा र धनराज गुरुङको बैठक बसेर समानुपातिक सूचीमा परिवर्तन गरेर हाम्रो समूहलाई ४० प्रतिशतभन्दा बढी हिस्सा नदिए निर्वाचनमा जाँदैनौँ भन्नुभएको छ,’ शाहीले भने, ‘नसच्याए उहाँहरू एकलौटी निर्वाचनमा गए हुन्छ । उहाँहरू केन्द्रीय समितिमा बहुमत छ भन्नुहुन्छ । ४० लाख भोट चाहिन्छ । भोट जनतासँग छ । कहाँ छ बहुमत ?’

गठबन्धनको बैठकमा जान छाडे गगन
सभापति शेरबहादुर देउवामाथि दबाब बनाउन कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनको बैठक बहिष्कारको नीति अंगीकार गरेका छन् । बन्दसूचीमा आफ्नो समूह नसमेटिएको भन्दै असन्तुष्ट उनले गठबन्धनकै बैठकमा जान छाडेका हुन् । ‘पछिल्लो चार दिनदेखि उहाँ गठबन्धनको बैठकमा सहभागी हुनुभएको छैन । आफ्नो समूहलाई पेलेरै जाने अवस्था देखेपछि बैठकमा सहभागी हुनुभएको छैन,’ एक कांग्रेस नेताले भने । केही समयअघि डेंगु संक्रमणका कारण महामन्त्री थापा गठबन्धन बैठकमा सहभागी भएका थिएनन् । पछिल्लो समय संक्रमणमुक्त भएपनि उनी आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् । तर, गठबन्धनको बैठकमा सहभागी हुने गरेका छैनन् । ‘गठबन्धनमा उहाँको खोजी भइरहेको छ, तर बैठकमा सहभागी हुनुभएको छैन,’ ती नेताले भने ।

याे पनि : हामी चुनावबाट अलग्गिनुपर्ने स्थिति पनि आउन सक्छ (अन्तर्वार्ता)