Skip This
बिमा नभएका र मेकानिकल परीक्षण नभएका सवारीसाधनले चाडपर्व रुट परमिट नपाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असोज ८ शनिबार १७:५९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बिमा नभएका र मेकानिकल परीक्षण नभएका सवारीसाधनले चाडपर्व रुट परमिट नपाउने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार १७:५९:oo

सरकारले चाडपर्वको वेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने गरी बनाएको समितिले विभिन्न १४ निर्णय गरेको छ। शनिबार गृह मन्त्रालयमा गृहप्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा यात्रुहरूको अत्यधिक भिड भएको कारण देखाई सवारीसाधनहरूको छतमा बसी यात्रा गर्न र झुन्डिएर यात्रा गर्न नदिने, आवश्यकतानुसार अनुगमन गर्नेसहित १४ निर्णय गरेको हो।

साथै, समितिले बिमा नभएका र मेकानिकल परीक्षण नभएका सवारीसाधनलाई रुट परमिट नदिने व्यवस्था यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयले मिलाउने निर्णयसमेत गरेको छ। निर्णयमा भनिएको छ,' बिमा नभएका सवारीसाधन दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा मेकानिकल परीक्षण नभएका सवारीसाधनहरूको बीच बाटोमा यान्त्रिक समस्या देखिई दुर्घटना हुने तथा यात्रुहरू अलपत्र पर्न सक्ने सम्भावना हुन्छ।'

यी हुन् निर्णयहरू :

१. गन्तव्य स्थलमा छिटो पुग्न तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरूको समन्वयमा राजमार्गहरूमा स्थान पहिचान गरी Time Card लागू गर्ने।

२.चाडपर्वको समयमा यात्रुहरूको अत्यधिक भिड भएको कारण देखाई सवारीसाधनहरूको छतमा बसी यात्रा गर्न र झुन्डिएर यात्रा गर्न नदिने, सोको आवश्यकतानुसार अनुगमन गर्ने।

३.हरेक सार्वजनिक सवारीसाधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बरलगायतका आवश्यक सूचनाहरू रहेको स्टिकर, दुर्घटना भएमा संकेत गर्ने वस्तु राख्‍ने र सवारीसाधन Sanitize गर्ने व्यवस्था मिलाउने। चालकले अस्वाभाविक किसिमले सवारी चलाएमा Complain गर्न सम्पर्क फोन नम्बर सार्वजनिक गर्ने र त्यस्तो Complain सुनी तत्काल परिचालित हुन सबै प्रहरी युनिटलाई निर्देशन गर्ने।

४.यातायात व्यवस्था विभागबाट २०७९/०६/०९ देखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरूको समन्वयमा उपत्यकाका मुख्यमुख्य स्थानहरूमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाउने।

५.सवारीसाधनहरूको सहज सञ्चालनको लागि यातायात व्यवसायी महासंघको तर्फबाट प्रत्येक प्रदेश र जिल्लामा सम्पर्क व्यक्ति (Focal Person) तोकी सोको टेलिफोन नम्बरसमेतको जानकारी नेपाल प्रहरीलाई उपलब्ध गराउने।

६.बिमा नभएका सवारीसाधन दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा मेकानिकल परीक्षण नभएका सवारीसाधनहरूको बीच बाटोमा यान्त्रिक समस्या देखिई दुर्घटना हुने तथा यात्रुहरू अलपत्र पर्न सक्ने सम्भावना भएकोले बिमा नभएका र मेकानिकल परीक्षण नभएका सवारीसाधनलाई रुट परमिट नदिने व्यवस्था यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयले मिलाउने।

७.मादक पदार्थ र लागुपदार्थ प्रयोग गरी सवारी चलाउँदा दुर्घटनाको सम्भावना हुने भएकोले नियमित र आकस्मिक रूपमा नेपाल प्रहरीबाट सोको चेकजाँच गर्ने व्यवस्था मिलाउने। लागुपदार्थ प्रयोग गरेको सम्बन्धमा लागुऔषध नियन्त्रण ब्युरोको मातहतका कार्यालयबाट Test Kit प्रयोग गरी जाँच गर्ने व्यवस्था मिलाउने।

८.दुर्घटना न्यूनीकरणमा पूर्व सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, डिभिजन सडक कार्यालय, प्रदेश पूर्वाधार कार्यालय, यातायात व्यवस्था कार्यालय तथा यातायात व्यवसायी महासंघको प्रतिनिधित्वमा समिति गठन गरी आवश्यक कार्य गर्ने। सडकमा भएका खाल्डाखुल्डी पुर्न र सडकको आवश्यकतानुसार अवस्था सुधार गर्न डिभिजन सडक कार्यालय, प्रदेश र स्थानीय तहसँगसमेत समन्वय गर्ने।

९.यातायात व्यवसायी महासंघको समन्वयमा विद्यमान रिफ्रेसमेन्ट सेन्टरहरूलाई चालू हालतमा राख्‍ने व्यवस्था बुँदा नं. ८ मा गठित समितिले मिलाउने।

१०.दुर्घटना भई हवाई उद्धार गर्नुपर्ने भएमा यातायात व्यवसायी महासंघको समन्वयमा लागत व्यहोर्ने गरी हवाई साधन परिचालन गर्ने।

११.जिल्लास्थित बजार अनुगमन समितिमार्फत राजमार्गहरूमा रहेका होटेल, रेस्टुरेन्टहरूको खानाको परीक्षण गर्ने। गुणस्तर परीक्षण कमजोर भएकाले समयमा सुधार नगरे कानुनअनुसार कारबाही गर्ने।

१२.बिग्रेका तथा तत्काल मर्मत गर्नुपर्ने सडकहरूलाई सुचारु रूपले सञ्चालन गर्नका लागि सडक विभागले अन्तर्गतका निकाय र प्रदेश पूर्वाधार कार्यालयलाई अनुरोध गर्ने।

१३.लामो दूरीमा चल्ने सवारीसाधनमा दुईवटा चालकको व्यवस्था कार्यान्वयन गर्न नेपाल प्रहरीबाट अनुगमन गर्ने र सो भएको नपाइएमा तत्काल कारबाही गर्ने।

१४. बस व्यवसायीहरूसमेतको समन्वयमा राजमार्गमा सवारीसाधनहरूको अनुगमन गर्न तथा सवारी दुर्घटना भएमा तत्काल उद्धार गर्न मातहतका युनिटहरूलाई निर्देशन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाललाई निर्देशन गर्ने।