![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/jel2019-05-29.jpeg)
आफ्नो घरभित्र छिरेर दही खाएको आरोपमा दलित बालिकालाई बन्धक बनाई यातना दिने रामेछापका शेरबहादुर नगरकोटीलाई अदालतले एक वर्ष कैद सजाय र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत रामेछापले शुक्रबार नगरकोटीलाई जातीय छुवाछुतसम्बन्धी कसुरमा दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
गत ३० फागुनमा १२ वर्षीया दलित बालिकाले आफ्नो घरभित्र छिरेर दही खाएको आरोपमा मन्थली नगरपालिका– ६ का नगरकोटीले बन्धक बनाएर यातना दिएका थिए । प्रहरीले उनलाई पक्राउ गरी रिट दायर गरेको थियो । न्यायाधीश इन्दिरा शर्माको इजलासले गत २९ भदौमा त्यससम्बन्धी फैसला दिएकोमा शुक्रबार सजाय निर्धारण गरेको हो ।
नगरकोटीकी श्रीमती बालकुमारी र छोरा रोशनलाई भने अदालतले सफाइ दिएको छ । छुवाछुतसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय ऐतिहासिक भएको अधिवक्ता यमकुमारी ददेलले बताइन् । ‘नेपालमा जातीय विभेदको मुद्दामा अहिलेसम्म एक वर्ष कैद सजाय भएको थिएन,’ उनी भन्छन्, ‘त्यसकारण यो फैसला एकदमै महत्वपूर्ण छ ।’
सो घटनापछि अधिकारकर्मी तथा राष्ट्रिय दलित आयोगको टोलीले समेत स्थलगत अध्ययन गरी दोषीलाई कारबाहीका लागि दबाब दिएका थिए । त्यस्तै, बालिकालाई बन्धक बनाएकोमा शरीर बन्धक मुद्दासमेत चलेको थियो । जसमा शुक्रबार फैसला भई नगरकोटीलाई तीन वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ जरिवाना भएको छ ।
साथै, पीडित राहत कोषमा एक हजार चार सय जम्मा गराउने फैसलासमेत भएको छ । घरभित्रै बन्धक बनाइएकोमा बालिकालाई भोलिपल्ट परिवारका सदस्यले देखेका थिए । त्यसपछि पनि जनप्रतिनिधिको दबाबपछि मात्र उनले बालिकालाई मुक्त गरेका थिए ।