मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १९ बिहीबार
  • Thursday, 02 February, 2023
२०७९ असोज ४ मंगलबार ०९:१७:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

उत्परिवर्तन, बुढ्यौली र क्यान्सर

उत्परिवर्तनको दरलाई नियन्त्रण गर्ने उपाय पत्ता लगाउन सके त्यसले क्यान्सरको विकासलाई रोक्न, बुढ्यौलीलाई सुस्त बनाउन र आयु लम्ब्याउन मद्दत गर्न सक्ने अनुसन्धानबाट खुलेको छ

Read Time : > 2 मिनेट
२०७९ असोज ४ मंगलबार ०९:१७:००

स्तनधारीहरूको उत्परिवर्तन दर उनीहरूको आयुसँग घनिष्ट रूपले सम्बन्धित रहने गरेको पाइयो । कम आयु भएका स्तनधारीमा उत्परिवर्तनको दर एकदमै उच्च रहेको पाइयो भने लामो आयु भएका स्तनधारीमा उत्परिवर्तनको दर सुस्त रहेको पाइयो । तर, उत्परिवर्तनको दरमा स्तनधारीहरूको शरीरको तौलको भने भूमिका देखिएन । स्तनधारीमा बुढ्यौली (एजिङ), उत्परिवर्तन (म्युटेसन) र क्यान्सरबीच सकारात्मक सम्बन्ध पाइएको छ । 

सन् २०२२ मा गरिएको एउटा अध्ययनले जनावरहरूको आयु र तिनको आनुवंशिक कोडको उत्परिवर्तनबीच विचारोत्तेजक सम्बन्ध उजागर गरेको छ । अनुसन्धाताले आयु र उत्परिवर्तनको दरको सम्बन्ध क्यान्सरसँग रहेको पाएका छन् । यसको सम्बन्ध बुढ्यौलीसँग सकारात्मक पाइयो । निष्कर्षमा पुग्न, अनुसन्धाताहरूले १६ प्रकारका स्तनधारीमा उत्परिवर्तन अनि क्यान्सरको सुरुवात र त्यसको प्रभावको सूक्ष्म अध्ययन गरेका छन् । डिएनएको म्युटेसन (आनुवंशीय उत्परिवर्तन)सम्बन्धी यो नयाँ अन्तरज्ञानले बढ्यौली, क्यान्सरको विकास र यसको नियन्त्रण सम्बन्धको हाम्रो बुझाइलाई थप फराकिलो बनाएको छ ।

 के हो क्यान्सर ?
क्यान्सर भनेको कोषहरूको अनियन्त्रित वृद्धि हो । यो शरीरलाई संक्रमित गर्ने रोगाणु वा विषाणु होइन । तर, क्यान्सर हुँदा शरीरको सामान्य प्रक्रियामा खराबी पैदा भएको हुन्छ । हाम्रो शरीरमा कोष विभाजन र वृद्धि हुने क्रम निरन्तर चलिरहेको हुन्छ । कहिलेकाहीँ, डिएनएको प्रतिकृति (रिप्लिकेसन)को समयमा आनुवंशीय कोड (जिन कोड) भित्र स–साना गल्तीहरू (उत्परिवर्तन भनिने) अनियमित रूपमा देखा पर्छन् । हाम्रो शरीरमा यी गडबडीहरूलाई सच्याउन संयन्त्रहरू हुन्छन् । तिनै सुधारात्मक उपायहरूको परिणामस्वरूप हामी आफ्नो युवावस्थामा बलियो र स्वस्थ रहन्छौँ । तर, उमेर बढ्दै जाँदा शरीरका यी जैविक सुरक्षा प्रबन्धनहरू कमजोर हुँदै जान्छन् । उत्परिवर्तनले हाम्रो प्रतिरक्षा प्रणालीलाई छलेर निरन्तर वृद्धि हुन थाल्यो भने त्यो क्यान्सरको रूपमा विकास हुन्छ । हामी जति लामो समयसम्म बाँच्छौँ, शरीरमा उत्परिवर्तन पनि उति धेरैपटक हुन्छ, जति धेरैपटक उत्परिवर्तनबाट गुज्रिन्छौँ, त्यो क्यान्सर रोगका रूपमा प्रकट हुने सम्भावना पनि उत्तिकै बढ्दै जान्छ ।

 क्यान्सर एक जैविक रहस्य 
उत्परिवर्तन अनियमित रूपमा हुन सक्ने भएकाले जीव वैज्ञानिकहरू साना जीवहरूको तुलनामा ठूला जीवहरूमा (अधिक कोषहरू भएका)मा क्यान्सर हुने सम्भावना पनि बढी हुने आकलन गर्छन् । तर, यो अध्ययनले यस्तो देखाउँदैन । ह्वेल र हात्तीजस्ता विशाल शरीर भएका जीवहरूमा किन क्यान्सर कम हुन्छ भन्ने कुरा अहिलेसम्म जीवविज्ञानको सबैभन्दा ठूलो रहस्य बनेर बसेको छ । यही कारण, यसलाई पेटोज प्याराडक्स (शरीरको आधार र क्यान्सरको जोखिमबीचको सहसम्बन्धको विरोधाभास) भनिन्छ । अझ रहस्यमय त के भने नेकेड मोल र्‍याट (शरीरमा रौँ नभएको छुचुन्द्रो) जस्ता केही साना जीव पूर्ण रूपले क्यान्सरप्रतिरोधी छन्, तिनलाई क्यान्सर नै हुँदैन ।

यो घटनाले अनुसन्धानकर्ताहरूलाई नाङ्गे छुचुन्द्रो र ह्वेलका आनुवंशिकीमाथि अनुसन्धान गर्न उत्प्रेरित गरेको छ । हामीले के पत्ता लगायाैँ भने यी जीवमा विशेष खालका अतिरित्त जिनहरू (ट्युमरलाई निरुत्साहित गर्ने जिनहरू) हुने गरेको पाइयो । यद्यपि, अन्य सबै प्रजातिमा क्यान्सरको दर कस्तो छ भन्नेबारे अझै पनि एकदमै कम जानकारी छ ।

 क्यान्सरसँग आयुको सम्बन्ध 
वेलकम सान्गर इन्स्टिच्युटका अनुसन्धाताले उत्परिवर्तन दरलाई जनावरको आयुसँग कसरी तुलना गरेर हेर्ने भन्नेबारेको आफ्नो पहिलो अध्ययनलाई रिपोर्टमा उल्लेख गरेका छन् । उत्परिवर्तन दर भनेको प्रजातिहरूले उत्परिवर्तन गर्ने गति हो । छोटो आयु भएका स्तनधारीहरूको औसत उत्परिवर्तन दर धेरै तीव्र हुन्छ । एउटा मुसा आफ्नो चारवर्षे आयुमा करिव ८०० पटक उत्परिवर्तनबाट गुज्रिन्छ । त्यसको तुलनामा लामो आयु भएका स्तनधारीहरूको औसत उत्परिवर्तन दर धेरै सुस्त गतिको हुन्छ । मानिसमा लगभग प्रतिवर्ष ५० भन्दा कम उत्परिवर्तन हुन्छ ।

ह्वेल र हात्तीजस्ता विशाल शरीर भएका जीवहरूमा किन क्यान्सर कम हुन्छ भन्ने कुरा अहिलेसम्म जीवविज्ञानको सबैभन्दा ठूलो रहस्य बनेर बसेको छ

अध्ययनले मृत्युको समयमा उत्परिवर्तनको संख्यालाई शरीरको तौल र आयुजस्ता अन्य कुरासँग पनि तुलना गरेर हेरेको छ । उदाहरणका लागि, जिराफमा मुसाको तुलनामा ४० हजार गुणा धेरै कोष हुन्छन् । मानिसको आयु मुसाको भन्दा धेरै गुणा बढी हुन्छ । अनुसन्धातालाई आश्चर्य पारेको अर्काे कुरा के थियो भने मृत्युको समयमा मुसा र मानिसको उत्परिवर्तन तीन गुणाले मात्र फरक थियो । यो सानो भिन्नताले कुनै पनि प्रजातिले मर्नुअघि कतिपटकसम्म उत्परिवर्तन गर्न सक्छ भन्ने देखाउँछ । स्तनधारीहरू यो संख्यामा फरक–फरक गतिमा पुग्ने भएकाले उत्परिवर्तनको दरलाई नियन्त्रण गर्ने उपाय पत्ता लगाउन सके त्यसले क्यान्सरको विकासलाई रोक्न, बुढ्यौलीलाई सुस्त बनाउन र आयु लम्ब्याउन मद्दत गर्न सक्ने देखिएको छ ।

 क्यान्सर अनुसन्धानको भविष्य
यस अध्ययनका निष्कर्षहरूले क्यान्सरसम्बन्धी बुझाइमा नयाँ प्रश्न उठान गर्छन् । उत्परिवर्तनको दर र आयुबीच बलियो सम्बन्ध छ भनेर पुष्टि गर्न माछा, चरा र बोटविरुवाजस्ता स्तनधारी समूह बाहिरका जीवनहरूसँग पनि तुलना गर्न आवश्यक छ । उत्परिवर्तनका दरलाई के कारकहरूले नियन्त्रण गर्छन् भनेर बुझ्नु पनि उत्तिकै आवश्यक छ । यसको उत्तर सम्भवतः डिएनएको जटिलताभित्र निहित छ । त्यसैले, आनुवंशिकीविद् तथा अन्कोलोजिस्ट(क्यान्सरविद)हरूले ट्युमरलाई दबाउने जिनजस्ता आनुवंशिकीसम्बन्धी जिज्ञासा र तिनले उत्परिवर्तनका दरहरूलाई कसरी प्रभावित पार्छन् भन्ने अनुसन्धानलाई जारी राखेका छन् ।

बुढ्यौली एपिजेनेटिक परिवर्तन (डिएनएको सिक्वेन्सलाई शरीरले पढ्ने तरिकामा परिवर्तन) हो वा टेलिमोर सर्टेनिङ (कोषमा रहेको व्यक्तिको स्वास्थ्य र आयुजस्ता कुरालाई प्रभावित पार्ने कुरा) जस्ता विभिन्न समस्याको कुल योग हुन सक्छ । तर, यदि उत्परिवर्तनहरूको यसको भूमिका छ भनेचाहिँ आनुवंशिकीमा क्षतिलाई कम गर्ने वा त्यसलाई उल्ट्याउने आशा गर्न सकिन्छ । उत्परिवर्तनलाई आयुसँग जोड्नु क्यान्सरको विकाससम्बन्धी हाम्रो बुझाइलाई पुनर्निर्माण गर्नेतर्फको पहिलो कदम मात्रै हो । यसले नवीन रणनीति र थेरापी (उपचारपद्धति)हरूको लागि ढोका खोल्न सक्छ । बुढ्यौलीसँगै आउने स्वास्थ्यसम्बन्धी चिन्तालाई पनि यसले कम गर्न सक्छ ।