मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज ३ सोमबार १५:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आत्महत्या नियन्त्रण गर्न ‘आशा जगाऔँ, जीवन बचाऔँ’ अभियान 

Read Time : > 1 मिनेट
२०७९ असोज ३ सोमबार १५:३९:००

ओखलढुंगामा १० वर्षको अवधिमा चार सयजनाले आत्महत्या गरेका छन्। प्रहरीको तथ्यांकअनुसार ०६९ यता अकालमा ज्यान गुमाउनेको संख्या चार सय पुगेको हो।

बर्सेनि बढ्दो क्रममा रहेको आत्महत्या दरले विकराल रूप लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताए। 

गत १० वर्षको अवधिमा जिल्लामा १८ वर्षदेखि ५९ वर्षभित्रका दुई सय ९५ जनाले आत्महत्या गरेको प्रहरी प्रमुख खनालले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी आर्थिक वर्ष ०७७/७८ मा ६१ जनाले आत्महत्या गरेका छन्। 

‘आशा जगाऔँ, जीवन बचाऔँ’

ओखलढुंगा प्रहरीले आत्महत्या न्यूनीकरण विशेष अभियान सुरु गरेको छ। जिल्लामा बढ्दो रूपमा रहेको आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रहरीले सचेतनामूलक ‘आशा जगाऔँ, जीवन बचाऔँ’ अभियान थालेको हो। 

प्रहरी मेरो साथी अभियानअन्तर्गत जिल्लाभर जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकार, सरोकारवाला निकाय र विद्यालयमार्फत सचेतनामूलक कार्यक्रम गर्न थालेको हो। 

विश्व आत्महत्या दिवसको अवसरमा एक दिन गरिने सीमित कार्यक्रमले आत्महत्याको दर रोक्न नसक्ने भएकाले यसलाई अभियानकै रूपमा अघि बढाउने लक्ष्य राखिएको प्रहरी प्रमुख खनालको भनाइ छ। 

 

जिल्ला प्रहरी कार्यालय कार्यालय ओखलढुंगा र सिद्धिचरण नगरपालिका, ओखलढुंगा सामुदायिक अस्पतालको मानसिक स्वास्थ्य परियोजना कार्यक्रम र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको समन्वयमा आत्महत्या रोकथामबारे सचेतनामूलक गतिविधि जिल्लामा भइरहेका छन्। 

अभियानअन्तर्गत पर्चा र प्ले कार्डसहित र्‍याली, विद्यालयमा विद्यार्थीका लागि विशेष कक्षामार्फत समुदायमा सचेतनालगायतका कार्यक्रम भइरहेका छन्। 

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा आत्महत्यादर विकराल रूपले बढेकोले रोकथामका लागि प्रहरी र सम्बन्धित निकाय मात्र नभएर सबैको अथक प्रयास आवश्यक हुने बताए। 

प्रहरीले आत्महत्या न्यूनीकरणका लागि निरन्तर सचेतनाका कार्यक्रम गर्ने र जिल्लामा आत्महत्या रोकथाम गर्ने लक्ष्य लिएको उनको भनाइ छ। 

जिल्लाका स्थानीय तहले आत्महत्या न्यूनीकरणमा प्रभावकारी कार्यक्रम गर्नुपर्ने प्रजिअ तामाङको सुझाव छ। 

सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेतले आत्महत्या न्यूनीकरणका लागि नगरपालिकाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
 
जनप्रतिनिधिमार्फत नागरिकका घरघरमा सचेतनाका अभियान सहज रूपमा सञ्चालन हुने उपप्रमुख बस्नेतको भनाइ छ। 

ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेलले अस्पतालले जिल्लामा मानसिक रोग र आत्महत्या न्यूनीकरणको काम गरिरहेको बताए।
 
निःशुल्क उपचार सेवा र परामर्शका कार्यक्रम गरिरहेको निर्देशक खरेलले बताए।  आत्महत्या रोकथामकै लागि जिल्लाका स्वास्थ्यकर्मीहरूलाई मनोसामाजिक सहयोगसम्बन्धी तालिम सञ्चालन भइरहेको छ। 

वरिष्ठ मनोरोग विशेषज्ञ डा. विद्यादेव शर्माले आत्महत्या गर्नुपूर्व नै आत्महत्याको तयारीमा रहेको व्यक्तिले संकेतहरू दिने भएकाले ती संकेतलाई बेवास्ता गर्न नहुने बताए। 

‘मान्छे एकैछिनमा आत्महत्याको बाटो रोज्दैन। उसले पहिल्यैदेखि जीवनबाट हरेस खाइरहेका लक्षणहरू देखाउन थाल्छ, त्यसवेला उसलाई परामर्श मात्रै गर्न सकियो भने पनि बचाउन सकिन्छ,’ शर्माले भने, ‘चाहनाअनुसारको उपलब्धि नभएका र मानसिक रोगबाट ग्रस्त मानिसलाई परिवारका सदस्यले विशेष निगरानी गर्नुपछ ।’