Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असोज ३ सोमबार ०८:५१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महारानीले प्रतिनिधित्व गर्ने राजतन्त्र अवसानको प्रश्न

Read Time : > 2 मिनेट
२०७९ असोज ३ सोमबार ०८:५१:००

बेलायतकी महारानीको निधन भएको साता दिनभन्दा बढी भएको छ । ९६ वर्षकी महारानीको निधनपछिका घटनाक्रम अपेक्षित एवं अनपेक्षित दुवै थिए । जसरी विश्वव्यापी मिडियामा यी परिघटना प्रसारण भए त्यसले बेलायती राजतन्त्र अझै पनि जीवन्त र धुमधामका साथ चलिरहेको छ भन्ने पुष्टि भएको छ । यहाँसम्म कि महारानीको निधन हुनुअगावै महारानीनिवास बेल्मोरल महलका प्रवेशद्वारबाट सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिरहेका थिए । राजगद्दीमा लामो समयसम्म आसीन महारानीको निधनपश्चात् सम्झिन वा शोक व्यक्त गर्नका लागि चाहिने जीवनका नाटकीय घटनाका लामै फेहरिस्त छन् । तसर्थ, हप्ता दिनयता मिडियामा यी फेहरिस्तले ठाउँ पाउनु कुनै अनौठो होइन ।

राजकुमार चाल्र्सलाई महारानीको निधनलगत्तै राजा चाल्र्स तृतीयका रूपमा राज्याभिषेक गरियो र यससँगै सम्भवतः ५० वर्षअगाडिदेखि राजा चाल्र्स तृतीयले अभ्यास गर्दै आएको राज्याभिषेक भाषण पढ्न पाएका छन् । बेलायती मिडिया र तिनका अमेरिकी नक्कलले दिवंगत महारानीको बेलायतमा पहिले पनि राजा रहेको र अहिले फर्केको भन्ने जनाउ गर्दै बेलायतीले फेरि एकपटक ‘गड सेभ द किङ’ –ईश्वरले राजाको रक्षा गरून्) भाकाको राष्ट्रगान गाउन पाउने भएका छन् भनी समाचार प्रसारण गरिरहेका थिए ।

बेलायती राजतन्त्रले बाँकी विश्वमा रेलमार्ग र सभ्यतालाई जोडेको भन्ने औपचारिक भाष्यको प्रसारण अपेक्षित नै थिए, तर यो भाष्यलाई स्वीकार गर्ने विश्व अब बाँकी छैन । सामाजिक सञ्जालको विस्तारका कारण एक सामान्य मानिसले राजाको राज्याभिषेकको दिनलाई खराब बनाइदिन सक्छ । विश्वका डिजिटल गल्लीमा रहेका रैतीलाई अब आफ्ना असन्तुष्टि व्यक्त गर्न कुनै थुनछेक छैन र मात्र एक निःशुल्क वाइफाईले यी असन्तुष्टिलाई सतहमा ल्याएको छ । यो अवस्थामा बेलायतीले आफ्नी महारानीलाई सम्झेर शोक गीत गाउनु र राजतन्त्रबाट एकीकृत भएका छौँ भनेर देखाउनु अस्वाभाविक थिएन । यद्यपि, विश्वले महारानीलाई सम्झेर शोकको राग अलापेन किनभने यी मानिसले बेलायतीजनभन्दा निकै भिन्न अनुभव बोकेका थिए ।

महारानीको मृत्युको औपचारिक घोषणा हुनुअगावै नाइजेरियाली मूलकी अमेरिकी प्राध्यापक उजु अन्याले ‘मैले बलात्कार र नरसंहारमा खडा भएको साम्राज्य प्रमुख अन्ततः मर्दै छिन् भन्ने सुन्न पाएँ । उनको मृत्यु अत्यधिक पीडादायी होस्’ भन्दै ट्विट् गरेकी थिइन् । ‘यदि कसैले मेरो आधा परिवारको संहार र विस्थापित गर्ने सरकारलाई पोसेको राजतन्त्रका लागि मैले घृणाबाहेक अरू केही व्यक्त गर्ने अपेक्षा गर्छ भने त्यो अपेक्षा फगत् कल्पना हुनेछ । मेरा परिवारका सदस्यमाथिका अत्याचारको घाउ अझै पनि निको हुन सकेको छैन’ भन्दै अन्याले दोस्रो ट्विट् गरेकी थिइन् । अन्या राजतन्त्रको इमान्दारपूर्वक आलोचना गर्ने पहिलो उपनिवेशपीडित साहसी हुन्, तर उनी अन्तिम हुनेछैनन् ।

लुटमा बनेको साम्राज्यको महारानीको मृत्युलाई महान् सन्तको मृत्युझैँ प्रसारण भइरहेको सन्दर्भमा कैयौँले इन्टरनेटमा आक्रोश व्यक्त गरेका थिए । हामीले देख्ने महारानीको मुकुटको हीरा पनि भारतबाट चोरी गरिएको थियो भन्ने तथ्यलाई नबिर्सौँ । महारानीको मृत्युलगत्तै बेलायती साम्राज्यले गरेको अपराधका फेहरिस्त ट्विटर र टिकटक छ्यापछ्याप्ती देखिन थाले । ट्विटर र टिकटकका अधिकांश ट्विट् र भिडियोमा भारतको जिकिर गरिएको थियो । यी ट्विट् र भिडियोमा बेलायतले छरेको घृणाको बिउ, भारत विभाजनबाट अझै पनि भारतीय उपमहाद्वीपका मानिसले पार पाउन नसकेको व्यहोरा व्यक्त गरिएका छन् । 

महारानीको अवसान भइसकेको छ, आशा गरौँ उनले प्रतिनिधित्व गर्ने भ्रष्टाचारी, शोषक, अतिक्रमणकारी र नरसंहारकारी राजतन्त्रको पनि अवसान हुनेछ

सामाजिक सञ्जालमा व्यक्त गरिएका प्रतिरोधी भाष्यले टेलिभिजनमा पनि चाँडै ठाउँ पायो । अमेरिकी टेलिभिजन च्यानल एमएसएनबिसीमा लेखक रिचर्ड स्टेंगेलले ‘तपाईं को च्यानल)ले सन् १९४७ मा दक्षिण अफ्रिकाको केप टाउनमा उनको भाषणको टेप प्रस्तुत गर्‍यो... र त्यही वर्ष त्यहाँ अपर्थाइड (नश्लभेद) लागू भएको थियो । स्मरण रहोस्, उनले नेतृत्व गरेको बेलायती उपनिवेशवादले सारा विश्वमा विनाशकारी प्रभाव पारेको थियो’ भन्दै टिप्पणी गरेका थिए । बेलायती टेलिभिजनमा चर्चित उपनिवेशविरोधी वौद्धिक शशी थरुरले साम्राज्यलाई धोइपखाली गरेर सभ्य देखाउने प्रयत्न गरेका बेलायती शासकले आफ्ना नागरिकलाई आफ्नो औपनिवेशिक इतिहास कहिल्यै नपढाएको भनी आलोचना गरेका थिए ।

पाकिस्तानका तर्फबाट आएको प्रतिक्रिया मूलतः शिथिल थिए । पाकिस्तान सम्भ्रान्त, अर्थात् ‘गहुँगोरा साहेब’ले महारानीको मृत्यु सम्झेर गरेको कृत्रिम शोकले निराश नै बनायो । त्यसमा अक्सफोर्ड र क्याम्ब्रिज दीक्षित पाकिस्तानी विद्यार्थीका लम्पसार प्रवृत्तिले झनै निराश बनायो । पाकिस्तानलाई थिलथिलो एवं कमजोर बनाउने आर्थिक, सामाजिक एवं कानुनी संयन्त्रको विकास नै बेलायतीले गरेका हुन् भन्ने तथ्य नबुझेको झल्काउने गरी देखिएको तमासाले घिनै लाग्यो ।

 राजतन्त्रबारेको बहसमा परिवर्तन आउन थालेको देख्दा खुसी हुने ठाउँ पक्कै पनि छ । बेलायत र द नेदरल्यान्ड्सजस्ता पूर्वऔपनिवेशिक मुलुकमा स्थायी राजतन्त्रले औपनिवेशिक विजयको क्रुरतालाई वैध मात्रै ठहर्‍याउँछ र यस्ता संरचनाको शताब्दियाैँसम्म उत्तर–औपनिवेशिक राष्ट्रमाझ निर्भरता र गरिबी लादिरहन्छ । यो परिस्थितिमा महारानीको मृत्युले सारा विश्वलाई उनले प्रतिनिधित्व गर्ने नश्लभेदी एवं अन्यायपूर्ण साम्राज्यका कर्तुतलाई बाहिर ल्याउन सहयोग गरेको छ । एक व्यक्ति वा प्रणालीको अवसानकै कारण राम्रो वा सम्मानयोग्य बन्न सक्दैन । यो तथ्य आफूलाई लुट्ने अत्याचारी साम्राज्यको प्रतीकप्रति शोक व्यक्त गर्ने पाकिस्तानीले बुझ्न जरुरी छ । महारानीको अवसान भइसकेको छ, आशा गरौँ उनले प्रतिनिधित्व गर्ने भ्रष्टाचारी, शोषक, अतिक्रमणकारी र नरसंहारकारी व्यवस्थाको पनि अवसान हुनेछ । 

(जकारिया नारीवादी लेखक एवं डनकी स्तम्भकार हुन्) द डनबाट