मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १ शनिबार
  • Monday, 10 August, 2026
मोहन विष्ट कञ्चनपुर
२o७९ असोज १ शनिबार १३:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा दोदा नदीको ताण्डव, सिंगो झोलुंगेपुल बगायो, सयौँ घर डुबानमा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ असोज १ शनिबार १३:३१:oo

बिहीबारदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा दोदा नदीले वितण्डा मच्चाएको छ। जिल्लाको पूर्वी भेग चुरे भएर बग्ने दोदाले चुरेदेखि दक्षिण नेपाली भूभागसम्म वितण्डा मच्चाएको छ।

कृष्णपुर नगरपालिका– २ वाणीदेखि दक्षिण लालझाडी हुँदै पुनर्वास नगरपालिका–५ सिमरीसीमा गाउँसम्मका बस्ती डुबानमा परेका छन्। दोदामा आएको बाढीले चुरेदेखि दक्षिणी क्षेत्रसम्म दर्जनौँ नेपाली बस्ती डुबानमा परेका छन्।

शुक्लाफाँटा नगरपालिका– १२ र लालझाडी गाउँपालिका–४ जाई जोड्ने तिलकी नदीमा निर्माण भएको झोलुंगे पुलसमेत बाढीले भत्काइदिएको छ। चार वर्षअघि मात्रै निर्माण भएको झोलुंगेपुल बगाएर लगेको स्थानीय पदम रानाले बताए। पुल बगाएपछि स्थानीयको आवतजावतसमेत ठप्प भएको छ। नदीको सतह अत्यधिक बृद्धि भएपछि पुल बगाएको उनले बताए।

चुरेनजिकको कृष्णपुर नगरपालिका– २ वाणी क्षेत्रमा बनहरा नामबाट परिचित दोदा नदीले दर्जनौँ घर डुबानमा परेका छन्। कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउदले बनहरा नदीको सतह गएरातिदेखि एक्कासि बढेसँगै बंक, खल्ला र वाणी क्षेत्रका दर्जनौँ घर डुबानमा परेको बताए। अध्यक्ष साउदका अनुसार स्थानीय जनप्रतिनिधिसहितको टोली उद्धार कार्यमा खटिएका छन्।

पूरै दोदा नदी नै गाउँ पसेर पाँच सय घर डुबानमा परेको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए। ‘अप्रत्यासित रूपमा नदीको सतह बढ्यो,’ अध्यक्ष रानाले भने, ‘गाउँपालिका कार्यालयसहित दर्जनौँ बस्ती डुबानमा परेका छन्।’ डुबानमा परेका घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।

अति प्रभावित परिवारको उद्धार गरी विद्यालयमा राखिएको छ। वर्षातले नेपाल विद्युत् प्राधिकरणको पोललगायतका संरचनामा समेत क्षति पुगेको छ।