मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २२ आइतबार
  • Sunday, 05 February, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३१ शुक्रबार ०९:३६:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३१ शुक्रबार ०९:३६:००

मानिसलाई कुनै खतरा महसुस भयो भने शरीरले एक किसिमको प्रतिक्रिया देखाउँछ । त्यतिवेला मन आत्तिन्छ र डर लाग्न सक्छ । खतरा महसुस भइसकेपछि आत्तिनु सामान्य नै हो । तर, कुनै प्राकृतिक कारणविना नै डर असामान्य रूपमा डर लाग्छ र त्यसले हाम्रो दैनिक क्रियाकलापलाई असन्तुलिन बनाउँछ भने त्यो समस्या हो । यसलाई ‘एन्जाइटी डिसअर्डर’ भनिन्छ । एन्जाइटी विभिन्न प्रकारका हुन्छन् । जसमा जेनरलाइज्ड, सोसल, सेपेरेसन, एगोराफोबिया, प्यानिक डिसअर्डर आदि हुन् । कुनै पनि उमेर समूहका मानिसमा यो समस्या देखिन सक्छ । 

लक्षण
- एन्जाइटी डिसअर्डर भएमा मुटुको धड्कन बढ्ने, श्वासप्रश्वास छिटो–छिटो हुने हुन्छ । यस्ता लक्षण देखेपछि धेरै मानिस मुटुमा ठूलो समस्या भएको ठानेर आत्तिन्छन् । अर्थात्, यो मानसिक रोगको लक्षण हो भनेर थाहा नहुन सक्छ ।

- एन्जाइटी डिसअर्डर भएपछि सुरुमा निद्रा नलाग्ने र लागिहाले पनि बीचमा ब्युँझिएपछि फेरि निद्रा लाग्न गाह्रो हुन्छ । 

- पुराना पीडादायी घटनाको अनुभवले फेरि त्यस्ता घटना दोहोरिएलान् कि भनेर डर लाग्न सक्छ । जसलाई ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ भनिन्छ । यसको कारणले पनि एन्जाइटी बढ्छ ।

- त्यस्तै, हातखुट्टा काम्नु, पसिना आउनु, टाउको दुख्नु, छटपटी हुनु, ग्यास्ट्रिक बढ्नु वा पेटमा असहज अनुभव हुनु । साथै, बेहोस होला जस्तो हुनु, आत्तिनुका साथै आत्मविश्वास घट्नु, अत्यन्त थाक्नु, कमजोर महसुस हुनु र पटक–पटक पिसाब गर्न मन लाग्नु आदि पनि यो समस्याका लक्षण हुन् ।

जसको सम्बन्ध एन्जाइटीसँग हुन्छ
- मुटुरोग ।
- मधुमेह रोग ।
- थाइराइडको समस्या ।
- ध्रूमपान, मद्यपान र लागुपदार्थ सेवन ।
- पुरानो दुखाइको समस्या ।
- श्वासप्रश्वाससम्बन्धी र दमको समस्या ।

कारण
- एन्जाइटी डिसअर्डर यही नै कारणले हुन्छ भन्न सकिन्न । तर, जीवनमा घटेका पीडादायी घटनाले भने एन्जाइटीलाई बढाउन ठूलो भूमिका खेल्छ । वंशानुगत कारणले पनि एन्जाइटी डिसअर्डर हुने गरेको पाइएको छ ।

- केही मानिसमा भने शारीरिक रोगका कारण पनि एन्जाइटी बढ्ने गर्छ । एन्जाइटीको लक्षणलाई कतिपय अवस्थामा चिकित्सकले मेडिकल रोगको पहिलो संकेतको रूपमा लिने गर्छन् । मेडिकल कारणले एन्जाइटी बढेको छ भने चिकित्सकले विभिन्न रोगका लक्षणलाई हेर्ने गर्छन् ।

रोकथाम
- सामान्य एन्जाइटी मनोविज्ञसँगको नियमित परामर्शले निको हुन्छ । मनोविज्ञले कग्नेटिभ बिहेभियर थेरापीलगायत साइकोथेरापीबाट उपचार गर्छन् । तर, बिरामीलाई असाध्यै कठिन महसुस भएको छ भने मनोचिकित्सकसँगको सल्लाहबाट औषधिसमेत लिनुपर्ने हुन सक्छ । यसलाई सामान्य ठानेर बस्नु भने हुँदैन । कालान्तरमा यसले गम्भीर समस्यासमेत निम्त्याउन सक्छ ।

- एन्जाइटीको मात्रा केही कम भइसकेपछि बिस्तारै योग, ध्यान र प्राणायाम गर्नु लाभप्रद हुन्छ । नियमित ध्यानले नकारात्मक सोचलाई कम गर्नुका साथै प्रतिकूल अवस्था आउँदा पनि नआत्तिने हुन थाल्छ ।

- विश्राम र योग निद्राको नियमित अभ्यासले शरीर, मन, भावनामा भएको तनावलाई कम गरेर ताजा बनाउँछ ।

- साथै, भोजनमा विशेष ख्याल राख्नुपर्छ । सन्तुलित भोजन लिनुपर्छ । रक्सी, चुरोट, सुर्ती तथा लागुपदार्थबाट टाढा रहनुपर्छ ।