१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२१ भदौको खेलमा भुटानविरुद्ध गोल गरेपछि खुसी मनाउँदै नेपालकी सावित्रा भण्डारी र २५ भदौमा माल्दिभ्सविरुद्ध गोल गरेपछि भारतकी अन्जु तामाङ ।
रमेश सुवेदी
२o८१ बैशाख ३० आइतबार o६:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

छैटौँ महिला साफ च्याम्पियनसिप : नेपाललाई ऐतिहासिक जितको अवसर

Read Time : > 2 मिनेट
रमेश सुवेदी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:३२:oo

महिला साफ च्याम्पियनसिपको सदावहार च्याम्पियन हो, भारत । यस अर्थमा बलियो टिम भारत नै हो । भारतपछि नेपाललाई बलियो मानिन्छ । यद्यपि, हालसम्म नेपालले भारतलाई साफ च्याम्पियनसिपमा पराजित गर्न सकेको छैन ।भारतले नेपाललाई चारपटक साफ च्याम्पियनसिपको फाइनलमा र एकपटक सेमिफाइनलमा पराजित गरेको छ । सन् २०१६ मा नेपालले सेमिफाइनलमा हार व्यहोरेको थियो । यसपटक नेपाल र भारत साफ च्याम्पियनसिपको सेमिफाइनलमा फेरि भिड्दै छन् ।

सन् २०१६ मा भारतसँग पराजित हुँदा पनि अहिलेकै प्रशिक्षक कुमार थापा नै थिए । काठमाडौंमा जारी साफ च्याम्पियनसिपमा पनि प्रशिक्षकको जिम्मा थापाले नै पाएका छन् । अधिकांश खेलाडी पनि सन् २०१६ कै छन् । यसकारण नेपालको दाउ इतिहास दोहोर्‍याउनेभन्दा पनि तोड्ने छ । प्रशिक्षक कुमार थापा इतिहास तोड्न चाहन्छन् । नेपाली घरेलु दर्शकमाझ साफ च्याम्पियनसिपमा पहिलोपटक भारतलाई हराउने उनको दाउ छ । मंगलबार सम्पन्न खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो । भारतको खराब लयको फाइदा नेपाल उठाउन चाहन्छ । ‘भारत अनुभवी टोली हो, तर हामी घरेलु दर्शकमाझ उत्कृष्ट प्रदर्शन गर्न सक्छौँ,’ थापाले नयाँ पत्रिकासँग भने । 

नेपालको हालसम्म शतप्रतिशत जित समूह ‘बी’मा रहेको नेपालले भुटान र श्रीलंकाविरुद्ध शतप्रतिशत जित निकालेको छ । समूह विजेता भन्ने क्रममा पहिलो खेलमा भुटानविरुद्ध ४–० र दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हरायो । कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले दुई खेलमा ‘क्लिन सिट’ राखेकी छिन् । भारतले भने साफ च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ । सुरुवाती दुई खेलमा जित निकालेको भारत अन्तिम खेलमा स्तब्ध भयो । पहिलो खेलमा पाकिस्तानलाई ३–० र दोस्रो खेलमा माल्दिभ्सलाई ९–० ले हरायो । तेस्रो खेलमा बंगलादेशसँग ३–० ले निराश भयो । 

साफ च्याम्पियनसिपमा पहिलो हार बेहोरेको भारत नेपालविरुद्ध उही गल्ती दोहोर्‍याउन चाहँदैन । प्रशिक्षक सुरेनकुमार क्षेत्री सचेत छन् । पहिलोपटक भारतीय टोली हेरेका क्षेत्री निराश भएर घर फर्कन चाहँदैनन् । ‘नेपाल बलियो टोली हो । हामी नेपालसँग खेल्दै आएका छौँ । घरेलु दर्शकले हामीलाई केही असर गर्न सक्छ । तर, हामी सचेत छौँ,’ बंगलादेशविरुद्ध पराजित भएपछि सुरेनले भनेका थिए । 

 सावित्रा र मञ्जली फर्कनेमा आशावादी 
सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपालले दुई खेलाडी गुमायो । भुटानविरुद्ध पहिलो खेलमा मञ्जलीकुमारी योञ्जन र श्रीलंकाविरुद्ध सावित्रालाई गुमाउन पुग्यो । दुवै खेलाडी डेंगुका कारण बाहिर रहे । मञ्जली अस्पताल नै भर्ना भइन् । सावित्राले होटेलमै विश्राम गरिन् । दुवै खेलाडी भारतविरुद्ध फर्कने आशा गरिएको छ । प्रशिक्षक थापा खेलाडी फर्कनेमा आशावादी भएको बताउँछन् । यद्यपि, उनि पक्का भने छैनन् ।

‘दुवै खेलाडी फर्कनेमा आशावादी छौँ । त्यसैले बिहीबार दुवै खेलाडीलाई केही क्षण अभ्यास पनि गरायौँ,’ थापाले नयाँ पत्रिकासँग भने । सावित्रा र मञ्जली दुवै नेपालका मुख्य खेलाडी हुन् । स्ट्राइकर सावित्रा विपक्षी टोलीका लागि टाउकोदुखाइको विषय बन्ने गर्छिन् । सावित्राले नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा ४० गोल गरिसकेकी छिन् । सन् २०१९ मा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई २–१ ले हराउँदा सावित्राले दुवै गोल गरेकी थिइन् । 

सन् २०१६ मा भारतसँग पराजित हुँदा पनि अहिलेकै प्रशिक्षक कुमार थापा नै थिए । काठमाडौंमा जारी साफ च्याम्पियनसिपमा पनि प्रशिक्षकको जिम्मा थापाले नै पाएका छन् । अधिकांश खेलाडी पनि सन् २०१६ कै छन् । यसकारण नेपालको दाउ इतिहास दोहोर्‍याउनेभन्दा पनि तोड्ने छ । 

 उत्साही भुटानविरुद्ध नयाँ शक्ति बंगलादेश
प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान भिड्दै छन् । भुटान साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक सेमिफाइनलमा पुगेको हो । साफ च्याम्पियनसिपमा पहिलो जित निकाल्ने क्रममा भुटानले श्रीलंकालाई ५–० ले पराजित गर्‍यो । सँगै, सेमिफाइनलमा स्थान बनायो । भुटानी टोलीमा उत्साह छाएको छ । उसले बंगलादेशलाई रोक्ने योजना बनाएको छ ।

बंगलादेशले भने साफमा राम्रो प्रदर्शन गर्दै आएको छ । एकपटक फाइनल खेलिसकेको बंगलादेशले समूह चरणमा भारतलाई पराजित गर्दै नयाँ इतिहास कोरेको छ । बंगलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३–०, दोस्रो खेलमा पाकिस्तानलाई ६–० ले पराजित गरेको थियो । भारतविरुद्ध प्रदर्शन हेर्ने हो भने बंगलादेश महिला साफको नयाँ शक्ति हो । बंगलादेश साफ च्याम्पियनसिपको नयाँ च्याम्पियन बन्ने दाउमा छ । 

शुक्रबार सेमिफाइनलका दुई खेल हुँदै छन् । समूह ‘ए’बाट बंगलादेश विजेता र पाँचपटकको च्याम्पियन भारत उपविजेता बन्यो । यस्तै, समूह ‘बी’बाट नेपाल विजेता र भुटान उपविजेता भयो । पहिलो सेमिफाइनलमा भुटान र बंगलादेश १ बजे भिड्नेछन् । दोस्रो सेमिफाइनलमा आयोजक नेपाल र भारत साँझ साढे ५ बजे प्रतिस्पर्धा गर्नेछन् ।

यस्तो छ इतिहास
सन् २०१० देखि आयोजना भएको साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच पाँचपटक भेट भएको छ, जसमा भारत हावी छ । फाइनलमा मात्रै नेपाल र भारत चारपटक भिडेका छन् । सबै खेल भारतको पक्षमा छ । सन् २०१६ को चौथो संस्करणमा दुई टोली सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपाल ३–१ ले पराजित भएको थियो ।

सन् २०१० को फाइनलमा नेपाल भारतसँग १–० ले पराजित भयो । सन् २०१२ मा ३–१ ले पराजित हुँदा सन् २०१४ मा ६–० ले भारतलाई नतिजा सुम्पियो । सन् १०१६ मा सेमिफाइनलबाटै बाहिर भयो । सन् २०१९ मा विराटनगरमा भएको फाइनलमा नेपाल फेरि ३–१ ले पराजित भयो । यता, दक्षिण एसियाली खेलकुदमा समेत भारतले नेपालविरुद्ध सात खेल खेल्दा ६ खेलमा जित र एक खेलमा बराबरी नतिजा निकालेको छ । 

ad
ad