मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ २७ सोमबार १८:२०:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिबाट सन्न्यास लिने कमल थापाको त्यो निर्णय

Read Time : > 2 मिनेट
२०७९ भदौ २७ सोमबार १८:२०:००

कुनै समय नेपाली राजनीतिको ‘मुसो’ भनेर चिनिने नाम थियो, कमल थापा। विशेषतः जनआन्दोलनपछि राजतन्त्रसहितको प्रजातन्त्र स्थापित हुनुपर्ने एजेन्डा लिएर राजनीतिमा सक्रिय थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्षमा पराजित भएपछि राजतन्त्रको सवाल उठान गर्न छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरे। त्यसयता थापा निरन्तर पूर्वराजा ज्ञानेन्द्रबारे झोक्किँदै पनि आएका छन्। 

थापाको पुरानै निर्वाचन क्षेत्र मकवानपुर १ बाट उनी प्रतिनिधिसभा सांसदको उम्मेदवार तयारीमा पनि छन्। नेकपा एमालेबीच तालमेल हुँदा उनी मकवानपुर १ बाट उम्मेदवार बन्ने सम्भावना पनि छ। चुनावी तयारीका लागि हेटौँडा आएका थापासँग हेटौँडा–६ हटियास्थित उनको निवासमा गरिएको कुराकानीको सम्पादित अंशः 

मैले १६ वर्षको उमेरदेखि राजनीति सुरु गरेँ। विगत ५ दशकदेखि म राजनीतिमा सक्रिय छु। यसबीच धेरैपटक मन्त्री बनेँ। राजाकालदेखि गणतन्त्रसम्म सरकार बन्दाको स्थिति हेर्दा म सरकारमा थिएँ। म मात्र होइन राप्रपा सरकारमा थियो भन्नुपर्‍यो। 

धेरै प्रकारका आक्रमणबाट मैले राजनीतिमा अझै पनि सक्रियता घटाउन सकेको छैन। उमेरले ६५ कटे पनि अझै जोस, जाँगर र शारीरिक रूपमा केही त्यस्तो कमजोरी छैन। राजनीतिक ज्ञानसँगै म अझै पनि खटेर जनतामाझ पुग्न र अडिग भएर बोल्न सक्छु भन्ने आँट छ। त्यसो भएर पनि होला, राजनीतिक परिवर्तनसँग मेरा केही एजेन्डाहरू पनि परिवर्तित छ।

राजा शासनकालमा राजासँग नजिक रहेर काम गरेँ। मेरो एउटा मात्र सोच के थियो भने, नेपाललाई पूर्ण रूपमा सनातन हिन्दुहरूको बाहुल्यता कायम राख्दै हिन्दुराज्य बनाइनुपर्छ, यो सोच राजाको साथमा हुँदा राजतन्त्रका वेला पनि र गणतन्त्र आइसकेपछि पनि कायम थियो। अझ भनौँ गणतन्त्रपछि मैले राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दुराज्य संवैधानिक रूपमै अघि बढाउन तत्कालीन राप्रपा नेपालको एजेन्डा बनाए। हामी यही एजेन्डा लिएर चुनावमा होमिँदा २४ सिट समानुपातिकबाट ल्याएर २०७० को निर्वाचनमा चौथो ठूलो दल बन्यौँ।

राजनीतिबाट सन्न्यास लिने त्यो सोच

समय कालखण्ड, राजनीतिक परिवर्तन र जनताका इच्छा, आकांक्षा, मुलुक परिवर्तनको परिस्थिति सबैलाई मूल्यांकन गरेपछि २०७४ को निर्वाचनपछि संवैधानिक राजतन्त्रको एजेन्डालाई बिस्तारै छाड्दै गएँ। म पहिले अध्यक्ष रहेको राप्रपामा अझै पनि त्यही एजेन्डा छ। संवैधानिक राजतन्त्रको एजेन्डा अघि बढाउन अब आवश्यक नदेखेपछि मैले नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल’ गठन गरेँ। 

अहिले यो दलले सनातन हिन्दुराज्यको एजेन्डा लिएर  हिँडेको छ। त्यही एजेन्डा स्थापनाका लागि मैले राजनीतिबाट सन्न्यास लिइनँ। मकवानपुर १ बाट तेस्रोपटकका रूपमा २०७४ को निर्वाचन हारेपछि म राजनीतिबाट सन्यास लिने सोचमा थिएँ। ५ दशकदेखि कति एउटै सोच विचारलाई स्थापित गर्न दौडधुप गर्नु, जुधामारी गर्नु भन्ने लागेको थियो। 

अब सन्न्यास लिन्छु र आरामको जिन्दगी बिताउँछु भन्ने मैले सोचेकै हो। तर, सनातन हिन्दुराज्यकै एजेन्डा रुचाएर जनताले दिएको मतको कदर गर्दै यसलाई टुंगोमा पुर्याउनैपर्छ भन्ने सोचले नयाँ दलनै गठन गर्न म बाध्य भएँ। अहिले राप्रपा नेपालबाटै मेरो सोच पूरा गर्ने आँट गरेको छु। त्यसकारण अब मंसिर ४ को चुनाव मेरा लागि अन्तिम हुनेछ। यसपछि म फेरि चुनावी मैदानमा होमिने छैन। र, राजनीतिक जीवन ढल्किँदै जानेछ। यसपटक राप्रपा नेपालको एजेन्डा स्थापित गराउन राष्ट्रिय दल बनाउन पाए म राजनीतिबाट टाढै रहने थिएँ भन्ने सोच छ।

तीनपटक एकै व्यक्तिसँग पराजित

राजनीतिका दुई ध्रुव कम्न्युजम् र डेमोक्रेटमध्ये, डेमोक्र्याटिक धार समाएर निरन्तर राजनीतिमा सक्रिय हुँदा ५ पटकमध्ये २ पटक मात्र मैले चुनाव जितेको छु। 
३ पटक मकवानपुर क्षेत्र नम्बर १ बाटै हारेको छु। त्यो पनि एउटै पार्टी नेकपा एमालेका एकै व्यक्ति कृष्ण दाहालसँग हारेँ। जनताले विश्वास गर्दा जितेँ, जनताले नरुचाउँदा हारेँ। तर, निर्वाचनमा हारे पनि मैले मकवानपुरको समग्र विकासमा कदापि समस्या आउन दिइनँ। म सरकारमा हुँदा पहिलो प्राथमिकता मकवानपुर बन्ने गर्थ्यो।

प्रदेश राजधानी घोषणाको सम्झना 

शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो, म उपप्रधानमन्त्री थिएँ। प्रदेश राजधानी तोक्न मन्त्रिपरिषद्को बैठक बस्यो। केही घण्टा बैठक बसेपछि ६ वटा प्रदेशको राजधानी करिब–करिब टुंगियो। तर, तत्कालीन प्रदेश ३ को राजधानी टुंगो लगाउन सकिएन। कांग्रेसका मन्त्रीहरूले भक्तपुर राजधानी बनाउने प्रस्ताव गर्नुभयो। प्रधानमन्त्रीज्यू पनि त्यसमा राजी हुने मुडमा हुनुहुन्थ्यो तर म अटसमटस भइनँ।

प्रदेश ३ को राजधानी कुनै पनि हालतमा हेटौँडा हुनुपर्ने भन्दै मैले दर्जनौँ कारण बताएँ। तर, पनि कांग्रेसका मन्त्रीहरूले विरोध जनाउनुभयो। उहाँहरूले हेटौँडा अपायक पर्छ, ९ घण्टा लाग्छ हेटौँडा पुग्न, बाटो खराब, संरचना नभएको भन्दै अडिग हुनुभयो। 

त्यसपछि मन्त्रिपरिषद् बैठक रोकियो। प्रधानमन्त्रीज्यूले गोप्य छलफलका लागि मलाई डाक्नुभयो। र, मलाई राजी गराउन उहाँले एक प्रदेश प्रमुख राप्रपालाई दिने प्रस्ताव ल्याउनुभयो। हेटौँडा राजधानी वा एक प्रदेश प्रमुख तपाईंलाई भन्दा मैले प्रदेश प्रमुख चाहिँदैन, हेटौँडा राजधानी भन्दा म पछि हट्नेवाला छैन। बरु सरकार छाड भने छाड्नसमेत तयार छु भनेपछि उहाँले ल हेटौँडा राजधानी तोकौँ भन्दै मन्त्रिपरिषद् बैठकमा आफैँले घोषणा गरिदिनुभयो।