१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सन्तोष रुचाल नयाँ पत्रिका
२०७९ भदौ २२ बुधबार ०८:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धनकुटाको औद्योगिक ग्रामबाट उत्पादन सुरु

Read Time : < 1 मिनेट
सन्तोष रुचाल, नयाँ पत्रिका
२०७९ भदौ २२ बुधबार ०८:५०:००

धनकुटामा स्थापना गरिएको नेपालकै पहिलो औद्योगिक ग्राममा एउटा उद्योग सञ्चालनमा आएको छ । सेनेटरी प्याडको परीक्षण उत्पादन गर्दै औद्योगिक ग्राम सञ्चालनमा आएको हो ।सरकारले ०७५ सालमा औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि ल्याएपछि पहिलो चरणमा सुर्खेत र धनकुटामा ग्राम स्थापना सुरु भएको थियो ।

१५ करोड खर्चेर ०७७ सालमा धनकुटा नगरपालिका–६ को अमलेटारमा ५२ मध्ये २७ वटा ब्लक भवन निर्माण गरेपछि उद्योगका लागि आवेदन माग  खुला गरिएको थियो । आवेदन परेको एक वर्षपछि ब्युटी सेनेटरी प्याड एन्ड माक्स उद्योगले १५ लाखको लागतमा परीक्षण उत्पादन सुरु गरेको छ । आगामी भदौबाट दैनिक दुई हजारदेखि २५ सय सेनेटरी प्याड उत्पादन गर्ने उद्योगका प्रबन्ध निर्देशक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।

गत वर्ष २७ उद्योगका लागि गरिएको आवेदनमा १३ उद्योगले निवेदन दिएका थिए । जसमध्ये अहिले एक खाद्यान्न उद्योग र सेनेटरी प्याडले मात्र आफ्नो उद्योग सञ्चालनका लागि सम्झौता गरेका छन् । निवेदन दिने बाँकी उद्योगीहरूलाई पनि उद्योग सञ्चालन गर्न परिपत्र भइरहेको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख ईश्वर थापाले बताए । कोरोना महामारीका कारण उद्योग सञ्चालनमा ढिलाइ भएको भन्दै अब छिट्टै सञ्चालन गर्न पहल गर्ने प्रमुख थापाले बताए । बाँकी आवेदक सबै उद्योगहरूलाई अन्तिम परिपत्र गर्ने तयारी भइरहेको औद्योगिक सञ्चालन समितिका संयोजक घनेन्द्र न्यौपानेले बताए ।

पत्राचार गर्दा पनि मानेनन् भने अब नयाँ आवेदन खुलाउने तयारीमा रहेको न्यौपानेले बताए । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला उद्योग प्रवद्र्धन समन्वय समितिका संयोजक निरन तामाङले नयाँ स्थानमा उद्योग सञ्चालनका लागि हिचकिचाहट भएकाले अभिमुखीकरण गर्ने तयारी भइरहेको बताए ।